काठमाडौं । कोभिडपछि तंग्रिन लागेको मुलुकको पर्यटन क्षेत्रले आगामी अक्टोबर र नोभेम्बरमा पर्यटक धेरै आउने अपेक्षा गरेको थियो ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार गएको सात महिनामा २ लाख ८५ हजार ३ सय ६३ पर्यटक नेपाल आएपछि हौसिएका व्यवसायी अक्टोबर र नोभेम्बरमा अझै धेरै पर्यटकको अपेक्षामा छन् । तर, होटल र वायुसेवा कम्पनीको बुकिङ आधार मान्ने हो भने उत्साहजनक नभएको निष्कर्षमा पर्यटन व्यवसायी पुगेका छन् ।
रुस–युक्रेन युद्धसँगै नोभेम्बर महिनामा कतारमा हुने विश्वकप फुटबलका कारण अपेक्षा गरिएअनुसार पर्यटक नआउने अवस्था देखिएको हिमालय शेर्पा एडभेन्चरका सञ्चालक एवं हेली एभरेस्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फुर्वाग्याल्जेन शेर्पाको भनाइ छ ।
अन्य मुलुकका पर्यटकभन्दा युरोप र अमेरिकाबाट ट्रेकिङ गर्न आउने बढी भए पनि पछिल्लो समय दुई मुलुकबीच जारी द्वन्द्वको प्रभावले आर्थिक संकट गहिरिँदै गएपछि उनीहरूले यो वर्ष घुम्ने योजना खासै नबनाएको हुन सक्ने शेर्पाको अनुमानछ छ ।
कोभिडअघि अक्टोबर र नोेभेम्बरका लागि अग्रिम बुकिङ गर्नेको लहर नै लाग्ने गरेकोमा अहिले त्यस्तो नभएको उनले बताए । अहिले सोधखोज गर्ने क्रम भने जारी रहे पनि आइहाल्छौं भनेर ‘ग्यारेन्टी’ भने गरिनसकेको उनले जानकारी दिए ।
विदेशीहरू कम मात्रामा आउने भएपछि हेलिकोप्टर बुकिङ पनि उत्साहजनक नभएको उनले बताए । ‘पहिला–पहिला अबको सिजनका लागि हेलिकोप्टर पाउनै मुस्किल हुन्थ्यो,’ शेर्पाले भने, ‘तर, अहिले खाली नै छ ।’
हुन त हेलिकोप्टर चार्टर गर्ने पर्यटक युरोपेली र अमेरिकीभन्दा भारत, चीनलगायत अन्य मुलुकका धेरै हुने गरेका थिए । तर, अहिलेसम्म चीनले बाहिरी मुलुकमा आफ्ना नागरिकलाई घुम्न जान खुला गरिनसकेको र भारतसहित अन्य मुलुकको भरपर्नुपर्ने बाध्यता छ ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा अल्टिच्युड एयरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निमानुरु शेर्पाले पनि अपेक्षा गरिएजस्तो पर्यटक बुकिङ नभएको बताए । ‘अक्टोबर र नोभेम्बर पर्यटक धेरै आउने सिजन हो,’ उनले भने, ‘तर, धेरैले आसा गरेको जस्तो बुकिङ छैन ।’
त्यस्तै होटल एसोसिएन नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले सरकारी स्तरमा राम्रो समन्वय नभएकै कारण आउादो सिजनका लागि सोचेअनुसार बुकिङ हुन नसकेको बताए ।
अहिले भएका बुकिङ पछिसम्म रहन्छ भन्ने नहुने उनको भनाइ छ । एजेन्सीहरूले अहिले होटल बुकिङ गरे पनि १५ दिन अगाडि रद्द गर्न सक्ने व्यवस्था भएकाले होटलहरू उत्साही हुन आवश्यक नरहेको उनको भानइ छ ।
पर्यटन व्यवसायी तथा होटल अलफ्टका सञ्चालक सुमन पाण्डेले होटल बुकिङ हुने क्रम बढे पनि उत्साहजनक भने नभएको जानकारी दिए । ‘बाहिरी मुलुकबाट इन्क्वायरी बढेको छ, तर आउने नआउने पक्का छैन,’ पाण्डेले भने ।
फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कार्कीले बढ्दो हवाई भाडाका कारण पर्यटक आगमन उत्साहजनक हुने अवस्था नदेखिएको बताए ।
नोभेम्बरमै कतारमा विश्वकप फुटबल आयोजना हुन लागेको र कतार एयरवेजले हवाई उडान कटौती गर्न लागेको हल्लाको प्रभावलगायत कारण आगामी सिजनमा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।