काठमाडौं । सेयर बजारमा नियमनवापत धितोपत्र बोर्ड र कारोबारस्थल उपलब्ध गराइदिएको आधारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लिँदै आएको कमिसन घट्ने भएको छ ।
सि–आस्वा शुल्क पाँच रुपैयाँमा सीमित गरेको बोर्डले नियमनवापत र नेप्सेले लिने कमिसन घटाउने गृहकार्य गरेको हो । बोर्डका अध्यक्ष रमेश हमालले बोर्ड र नेप्सेले लिँदै आएको कमिसन घटाउन लागेको बताए ।
बोर्ड, नेप्से, सिडिएससी तथा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई लगानीकर्ताहरुले शुल्क बुझाएर पालिरहेका छन् । बोर्डका अध्यक्ष हमालले लगानीकर्ताबाट लिने शुल्क धेरै भएकाले पहिलो चरणमा बोर्ड र नेप्सेले लिने शुल्क घटाउने र त्यसपछि ब्रोकर कमिसन घटाउने जानकारी दिए ।
लगानीकर्ताले बारम्बार सि–आस्वा शुल्क घटाउन माग गरेका थिए । त्यो पूरा भइसकेको छ । त्यसैगरी, लगानीकर्ताले सरकारी एजेन्सीहररूले लिने शुल्क पनि घटाउन बारम्बार बोर्डसँग माग गरेपछि त्यसको गृहकार्यमा आफू लागेको हमालले स्पष्ट पारे ।
सेयर बजारमा कारोबार बढ्दै गइरहेको छ । लगानीकर्ताहरुको सहभागिता पनि उल्लेख्य रूपमा बढेको छ। लगानीकर्ताको आत्मविश्वास पनि बढिरहेको छ । सेयर बजार भनेको आत्मविश्वासले नै चल्ने भएकाले कमिसन पुनरावलोनमा बोर्ड लागेको हमालको तर्क छ ।
अहिले बोर्डले ब्रोकरबाट ०.६ प्रतिशत र लगानीकर्ताबाट ०.०१५ कमिसन लिँदै आएको छ । ब्रोकरले दुवैतिरबाट कमिसन लिँदै आएको छ । दुईमध्ये एकतिरबाट मात्रै कमिसन लिएर लगानीकर्तालाई राहत दिनुपर्ने देखिन्छ ।
त्यसैगरी, नेप्सेले ब्रोकरले उठाउनेबाट २० प्रतिशत कमिसन लिँदै आएको छ । नेप्सेले लिएको कुल कमिसनबाट सिडिएससीले १७ प्रतिशत लिन्छ । यदि नेप्से १ करोड रुपैयाँ कमिसनबाट पायो भने त्यसमध्येको १७ लाख रुपैयाँ सिडिएसीले लैजान्छ ।
लगानीकर्ताले बारम्बार नियामकीय शुल्क महँगो भएको भन्दै घटाउनुपर्ने माग गर्दै आएका छन् । यसअघि धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउँदा पनि नियामकीय निकायले लैजाने शुल्कमा कुनै हेरफेर गरेका थिएनन् ।
आफूले लिने शुल्क नघटाई ब्रोकरको मात्रै शुल्क घटाए पछि बोर्डको निर्णय विवादमा परेको थियो ।