काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई 'नबिल जेन अल्फा' को ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो।
अभिभावकहरूले एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, व्यवस्थापन गर्न र तोक्न सक्छन्। बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ।
यो प्रोडक्टमार्फत् बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंककाे छ। बैंकले रेग्मीलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ ।
रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा 'ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२' जितेकी छन् । 'नबिल जेन अल्फा' बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए ।
प्रेन्सा समाजसेवी तथा लक्षित समूहलाई प्रतिनिधित्व गर्ने प्रेरणादायी पात्र भएकाले यो प्रोडक्टको लागि सही पाएका उनको भनाइ छ । यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको ढुंगानाले बताए ।
‘हमीले एप विकास गरेका छौं,’ उनले भने ‘जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन् । यसरी बच्चाहरूले घरको काम र जीवन सीपहरू सिक्दै आफ्नो लिंक गरिएको खातामा पैसा कमाउन सक्छन् ।’
उनले यस एपले सानै उमेरबाट बालबालिकाहरुमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने उनले बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।