काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइभेट भेन्चर क्यापिटलको लागि आवेदन दिने सबै कम्पनीलाई भदौभित्रै सञ्चालन अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ ।
भेन्चर क्यापिटल व्यवसाय सञ्चालनका लागि ८ कम्पनीले बोर्डमा लाइसेन्सका लागि दरखास्त दिएका छन्। बोर्डले दरखास्त दिने सबै कम्पनीलाई सञ्चालन लाइसेन्स दिन लागेको अध्यक्ष रमेश हमालले बताए ।
बोर्डले दुई कम्पनीलाई भेन्चर क्यापिटल व्यवसाय सञ्चालनको लाइसेन्स दिइसकेको छ। बोर्डले ग्लोबल इक्वीटी फन्ड र अवसर फन्ड लिमिटेडलाई प्राइभेट भेन्चर क्यापिटलको लाइसेन्स दिएको हो ।
थप ८ कम्पनीलाई भदौभित्र लाइसेन्स दिने बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् ।
बोर्डले यसअघि नै एनएमबी क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड र आध्यान्त फन्ड लिमिटेडलाई भेन्चर क्यापिटलको लागि आवश्यक पूर्वाधार तयार पार्न भनेको थियो ।
कम्पनीहरुले भेन्चर क्यापिटल सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार गरिसकेपछि मात्र नयाँ लाइसेन्स दिने भनेको थियो । सोही अनुसार पूर्वाधार तयार पारेका कम्पनीलाई बोर्डले लाइसेन्स दिइरहेको छ ।
‘सबैलाई हामीले लाइसेन्स दिने हो, भदौभित्र थप ८ वटालाई दिने हो। लाइसेन्सको लागि हामीबाट ढिलाई भएको छैन, कम्पनी पूर्वाधार तयार गर्न ढिलाइ गरिरहनु भएको छ, अध्यक्ष हमालले भने ।
‘तरलता समस्या भएका बेला प्राइभेट भेन्चर्स क्यापिटललाई लाइसेन्स दिँदा उद्यमीहरूले पैसा पाउने अवस्था आउँछ,’ हमालले भने, ‘ प्राइभेट भेन्चर क्यापिटललाई लाइसेन्स दियौं भने उद्यमीहरूका लागि लगानी वातावरण बन्ने छ । उद्यमीहरूले लगानी पाउँछन् भने किन हामीले भेन्चर्स लाइसेन्स वितरण नगर्ने ?’
बोर्डको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष हमालले भेन्चर क्यापिटलको लाइसेन्स वितरण कार्य अन्तिम चरणमा पुगेको बताएका थिए । बोर्डले भेन्चर क्यापिटलको लाइसेन्स दिने तयारी गरेका कम्पनीहरुमा अधिकांश मर्चेन्ट बैंकरहरु रहेका छन् । त्यस्तै २ सामूहिक लगानी कोष (म्युचुअल फन्ड) छन ।
मर्चेन्ट बैंकहरुले नयाँ लाइसेन्स पाएसँगै कम्पनीहरुले एसेट्स म्यानेजमेन्टको समेत काम गर्न पाउनेछन ।
भेन्चर क्यापिटलले बैंक तथा वित्तीय संस्थाको पहुँच नभएको क्षेत्रमा रहेर नवप्रवर्तक (स्टार्टअप) कम्पनीहरुमा लगानी गर्नेछन्। भेन्चर क्यापिटलको जोखिम (रिस्क) वहन गर्न सक्ने क्षमता राख्दछन्। स्टार्टअपमा लगानी र प्रोजेक्टमाथि रिसर्च पनि गर्नेछन्। छिमेकी मुलुक भारतमा भेन्चर क्यापिटलले थुप्रै स्टार्टअप जन्माइसकेको छ। उनीहरुले ती कम्पनीहरुमा लगानीसमेत गरेका छन्।
यसबाट अन्य मुलुक जस्तै नेपालमा पनि वैधानिक रुपमा भेन्चर क्यापिटलले स्टार्टअपमा लगानी गर्न पाउने बाटो खुल्नेछ। धितोपत्र निष्कासन तथा बिक्री वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम गर्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था नै मर्चेन्ट बैंक हो।
वित्तीय बजार र पुँजीबजार गरी दुई किसिमबाट कार्यरत क्षेत्र हो। जसअनुसार वाणिज्य बैंक, विकास बैंक तथा लघुवित्त बैंकहरु वित्तीय बजारअन्तर्गत पर्छन भने मर्चेन्ट बैंक पुँजी बजारअन्तर्गतको शाखा हो। मर्चेन्ट बैंक आफैंमा अलग प्राइभेट बैंक होइनन् । यिनीहरु बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनी हुन।
बोर्डले दिएको कार्यअधिकार तथा क्षेत्रअनुसार मर्चेन्ट बैंकहरुले काम गर्छन। जसअनुसार मर्चेन्ट बैंकहरुले आफ्नो लिडिङ कम्पनीको पुँजी व्यवस्थापन गर्ने, दोस्रो बजारमा सेयर किनबेच, सेयर नामसारी तथा संगठित संस्थाको तर्फबाट सेयरधनीको अभिलेख राख्ने र म्युचुअल फन्डको मामिलामा जम्मा फण्ड व्यवस्थापन गर्ने जस्ता कामहरु गर्छन ।
यसबाहेक बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्युजिसन प्रक्रियामा परामर्शदाताको रुपमा काम गर्ने तथा सेयर लगानीकर्ताहरुका लागि लगानी परामर्श सेवा सञ्चालन गर्ने जस्ता कामहरु गर्छन ।