लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२.६० मेगावाटको जलविद्युत् आयोजनाको विद्युतगृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।
सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाले केही दिनअघि ‘ब्रेक थ्रु’ गर्न सफल भएको हो । आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङका अनुसार विद्युतगृह निर्माणका लागि आयोजनाले ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्नाका साथै आयोजनाको निर्माणकार्य हालसम्म ३० प्रतिशत सम्पन्न भएको छ ।
विद्युतगृह नाइँचे गाउँनजिकै निर्माण हुन लागेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत धमाधम अघि बढिरहेको छ । ड्याम साइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढकिलोमिटर सडक बनाउन बाँकी रहेको र आागमी दुई महिनासम्म निर्माण सम्पन्न हुने उनले बताए ।
प्रबन्ध निर्देशक गुरुङले भने, यतिबेला हेलिकोप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पुर्याएर बाँध र ड्याम साइडबाट सडक खन्ने र ७ किलोमिटरको सुरुङमार्गको काम भइरहेको छ । सुरुङका लागि २ वटा अडिट टनेलसहित ५०० मिटर खन्ने काम सकिएको छ ।
यतिबेला दैनिक निर्माण कार्यमा २४० जना खटिएको आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) अनुसार आगामी दुई वर्ष (२०८१ असार) भित्र विद्युत् उत्पादन सुरु गरिसक्नुपर्छ । हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माणको ठेक्का लिएको छ ।
आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वटा वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्नेछ । प्रवर्धकको स्वपुँजी १ अर्ब ७५ करोड रहनेछ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्धकको २५ प्रतिशत लगानी रहने आयोजनाले जनाएको छ ।
७ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सवस्टेसनमा जोडिने भएको छ । सवस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ ।
यस आयोजनाका अनुसार वर्खाको छ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र छ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गरिने भएको छ । रासस