काठमाडौं । प्रस्तावित ३ सय २७ मेगावाटको माथिल्लो मर्स्याङदी -२ जलविद्युत आयोजना बनाउन चीनबाट ८० अर्ब रुपैयाँबराबरको लगानी भित्रिने निश्चित भएको छ।
आयोजना निर्माण अगाडि बढाउन लगानी बोर्ड र बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) को साझेदारीमा चिनियाँ कम्पनीसँग समझदारी (एमओयू) हुन लागेको छ ।
गएको साता १ हजार २ सय मेगावाटको पश्चिमसेती र सेती–६ जलासय आयोजना अघि बढाउन लगानी बोर्डले भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग समझदारी गरेको केही साताभित्र बोर्डले माथिल्लो मर्स्याङदी आयोजना अघि बढाउन हिमताल हाइड्रोपावरसँग समझदारी गर्न लागेको हो।
आयोजनामा लगानी गर्न बिपिसी र तीन चिनियाँ कम्पनीले एससिआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन गरिसकेको छ।
एससिआइजीमा बिपिसीको १९.५ र बाँकी ७९.५ प्रतिशत चिनियाँको स्वामित्व छ । आयोजना हिमताल हाइड्रोपावर कम्पनीले निर्माण गर्ने छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा हालै बसेको लगानी बोर्डको ५२औं बैठकले चिनियाँ कम्पनीको साझेदारीमा बिपिसीले बनाउन लागेको आयोजना अध्ययनका लागि हिमताललाई सर्वेक्षण लाइसेन्स दिने निर्णय गरेपछि समझदारी हुन लागेको हो।
लगानी बोर्डले आयोजना बनाउन चीनबाट ७८ अर्ब ६५ करोड रुपैयाँ (६२ करोड ७० लाख डलर) वैदेशिक लगानी स्वीकृत गरिसकेको छ ।
समझदारी गर्न आउन बिपिसी र चिनियाँ लगानीकर्तालाई बोलाइसकिएको लगानी बोर्डका प्रवक्ता तथा सहसचिव अमृत लम्सालले क्यापिटल नेपाललाई बताए ।
लगानीकर्ताहरू तयार हुनासाथ सम्झदारीपत्रमा हस्ताक्षर हुने उनको भनाइ छ । चिनियाँ कम्पनीको नेपाली साझेदार बिपिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तरकुमार श्रेष्ठले पनि समझदारी गर्न बोर्डले बोलाएको बताए । उनले चिनियाँ आउनासाथ समझदारी हुने जानकारी दिए ।
माथिल्लो मर्स्याङदीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) र हेजिङ फन्ड स्थापना भएपछि चीनबाट लगानी आउने र आयोजना निर्माण अघि बढ्ने छ ।
आयोजना विकास सम्झौता (पिडिए) भने हुन बाँकी छ । पिपिएका लागि विद्युत प्राधिकरणमा आवेदन परेको छ भने पिडिए गर्न आयोजनाले लगानी बोर्डमा आवेदन दिइसकेको छ । आयोजनाको क्षमता ६ सय मेगावाटबाट घटेर ३ सय २७ कायम भएको छ ।
जिएमआर इनर्जी लिमिटेडले भारत निकासी प्रयोजनका लागि आयोजना ‘क्यु २८’ मा डिजाइन गरेको थियो । यसमा डिजाइन गर्दा आयोजनाको जडित क्षमता ६ सय मेगावाट थियो ।
विद्युत प्राधिकरणले क्यु ४० भन्दा कम डिजाइनका आयोजनासँग पिपिए नगर्ने नीति ल्याएपछि आयोजनाको क्षमता घटेको हो । बिपिसीले जिएमआरसँग साढे ३ अर्ब रुपैयाँमा उक्त आयोजना खरिद गरेको हो ।
एससिआइजीमा बिपिसीबाहेक एससिआइजी इन्टरनेसनल लिमिटेड, जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी छ ।
आयोजनाको संरचना मनाङ नासोङ गाउँपालिकामा रहने छ । आयोजनाबाट उत्पादन हुने बिजुली नासोङ गाउँपालिकाको घेलाञ्चोक र ओडार गाउँमा प्रस्तावित २ सय २० केभी मनाङ हबमा ल्याएर जोडिने छ ।
बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन सम्झौता गरेको छ ।
होल्डिङ कम्पनीमार्फत आगामी पाँच वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
बिपिसीले ३० मेगावाटको ङ्यादी आयोजनाबाट बिजुली उत्पादन गरिसकेको छ ।
मर्स्याङदी करिडोरमा चिनियाँसँग मिलेर बनाउन लागेको ६ सय १ मेगावाटका ३ आयोजनाको अनुमानित लागत १ अर्ब २० करोड डलर छ । आयोजनाहरूमा २० प्रतिशत स्वपुँजी (इक्विटी) र ८० प्रतिशत ऋण लगानी हुनेछ ।
१ अर्ब २० करोड डलरमा २० प्रतिशत भनेको २४ करोड डलर हो । यसको ६ अर्ब रुपैयाँ बिपिसीको स्वपुँजी लगानी हुनेछ ।