काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले भारतको बम्बे स्टक एक्सचेञ्जको सहयोगमा वित्तीय डेरिभेटिभ बजारको अध्ययन भइरहेको बताएका छन् ।
नेप्सेले सोमबार राजधानीमा आयोजना गरेको डेरिभेटिभ बजारको सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै कार्कीले नेपालमा डेरिभेटिभ बजारको संभावना रहेकाले यसलाई अघि बढाउन बम्बे स्टकको सहयोगमा अध्ययन भइरहेको बताएका हुन ।
'नेपाली बजारमा नयाँ प्रोडक्ट सञ्चालन गर्न डेरिभेटिभ आवश्यक छ, बम्बे स्टकको प्राविधिक सहयोगमा डेरिभेटिभ सञ्चालन गर्छौं,’ उनले भने ।
साथै, उनले वित्तीय डेरिभेटिभ मार्केटको संभाव्यता रहेको समेत बताए । पछिल्लो २ वर्षको अवधिमा बजारमा धेरै प्रगति भएको उनको भनाई छ । दैनिक १४ लाख लगानीकर्ताको संलग्नता पुगेकोले नेपालको सेयर बजारले ठूलो फड्को मारेको उनको भनाई छ ।
उनले नेपाल धितोपत्र बोर्डको सहयोगमा सहयोगमा बुक बिल्डिङ, मार्जिन लेन्डिङ, लगायतका काम गर्न सफल भएको बताए । प्रविधि प्रयोग गरे पनि समस्या आउने बताउँदै उनले क्लोज आउट हुने समस्यालाई मध्यनजर गरेर अक्सनको सुरु गरेको जानकारी गराए ।
साथै, बजारको विकास तथा विस्तारका लागि पछिल्लो समय नेप्सेले सेयर सम्बन्धी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।