काठमाडौं । नेपाल धितोपत्र बोर्डले सीआस्वा शुल्क घटाएको छ । बोर्डको सञ्चालक समितिले आइतबार अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउने गरी सीआस्वा शुल्क घटाएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।
आईपीओ भनेको संख्या दिन प्रतिदिन बढिरहने, आईपीओ नपर्ने तर, लगानीकर्ताको सीआस्वा बापतको रकम मात्रै बैंकले लिने गरेपछि बोर्डले चर्को शुल्क घटाएर अधिकतम ५ रुपैयाँमा सीमित गरेको हो ।
अहिले कुनै कुनै बैंकले १०० रुपैयाँसम्म सीआस्वा शुल्क लिने गरेका थिए । नबिल, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंकले सीआस्वा शुल्क लिँदैनन् । तर, अन्य बैंक सबैले शुल्क लिन्छन् । कुनै बैंकले १० रुपैयाँ लिन्छन्, त कुनै बैंकले २०, २५ र १०० रुपैयाँसम्म लिँदै आएका थिए । बोर्डले आइतबार अब ५ रुपैयाँ मात्रै लिन पाउने बनाएको हो ।
२८ लाखसम्म आईपीओका लागि आवदेन पर्न थालेको अवस्था थियो । सीआस्वा बापत ठूलो रकम असुली हुन थालेको थियो । आईपीओको रकम भन्दा पनि सीआस्वाको रकम बढी हुन थाले पछि बोर्डले लगानीकर्ताको हितलाई ध्यानमा राखेर शुल्क घटाएको हो ।
‘सेयर पर्ने नपर्ने, सीआस्वा बापतको शुल्क पनि बैंकले काट्ने अवस्था छ,’ बोर्डका अध्यक्ष हमालले भने, ‘लगानीकर्ता दोहोराे मारमा नपरुन भनेर शुल्क घटाएका हो । उक्त निर्णय केही दिनपछि कार्यान्वयनमा आउँछ ।’ ५ रुपैयाँ मध्ये १ रुपैयाँ सिडिएससी र इस्यू म्यानेजरले लिने बोर्डले जनाएको छ ।
बैंकहरुले सीआस्वा बापतको शुल्क लिइरहेका छन् भने अर्काेतिर सेयर ‘नट एलोटेड’ हुने सम्भावना पनि उत्तिनै बढी छ । त्यसैले साना लगानीकर्ताहरु दोहोरो मारमा परिरहेका थिए । आईपीओ परे पनि नपरे पनि शुल्क लाग्ने र यदि सीआस्वा बापत तिर्ने शुल्क खातामा नभएको अवस्थामा आवेदन नै रद्द हुने अवस्थासमेत छ ।
विगत १५ वर्षदेखि साधारण सेयरमा लगानी गर्दै आएका गोपाल ओली भन्छन् 'खुलेको आईपीओ नपर्ने तर आईपीओ भरे पिच्छे बैंकले शुल्क लिँदा हैरानी खेप्नु परेको थियो । त्यो शुल्कलाई बोर्डले ५ रुपैयाँमा झारेर लगानीकर्ताको हितमा निर्णय गरेको छ ।' बोर्डको निर्णयले सीआस्वा मनपरी शुल्क लिने कार्यसमेत बन्द भएको ओलीकाे भनाइ छ । लगानीकर्ताले एउटा निश्चित शुल्क तोक्न पटक-पटक बोर्डसँग आग्रह गरेका थिए । तर हमालले उक्त निर्णय गरिदिए ।