जर्मनी। मार्टिन कोफलाई आफ्नो पारिवारिक कम्पनी जिंकपावर जिएमबिएच सञ्चालन गर्न प्राकृतिक ग्यास नभइ हुँदैन । उनको स्टिल कारखानाका निम्ति प्राकृतिक ग्यास अपरिहार्य वस्तु हो जसले उनका स्टिलका उत्पादनलाई खिया लाग्न दिँदैन ।
बोन बाहिर अवस्थित जिंकपावर कारखानालाई हरेक दिन २५ लाख युरो बराबरको छ हजार टन जस्तालाई तरल अवस्थामा राख्न प्राकृतिक ग्यास चाहिन्छ ।
मोटरकारका पार्टपुर्जा, सौर्य प्यानल, भवनमा चाहिने धातुका सामान, वायुबाट ऊर्जा उत्पादन गर्न प्रयोग हुने टर्बाइनको धातुलाई आवश्यकताअनुसार तोडमोड गरी लचिलो तुल्याउन प्राकृतिक ग्यास नभइ हुँदैन ।
रूसले युक्रेनमा आक्रमण गरेको एक वर्ष भइसकेको छ तर त्यसको घातक परिणाम विश्वअर्थतन्त्रमा परेको छ । युक्रेन आक्रमणको छ महिनापछि नै दुई हजार आठ सयभन्दा बढीलाई रोजगारी दिने जिंकपावरजस्ता कम्पनीलाई कच्चा पदार्थको प्राप्ति अति चुनौतीपूर्ण बनेको छ ।
प्राकृतिक ग्यास अधिक महँगोमात्र भएको छैन युद्धको विभिषिकाले विश्वअर्थ व्यवस्थालाई नै तहसनहस तुल्याउने जोखिम बढेको छ ।
रूसले आफूमाथि लादिएको पश्चिमा राष्ट्रहरूको प्रतिबन्धको बदला लिन युरोपेली देशमा आपूर्ति बन्द गरेमा मार्टिन कोफजस्ता सयौँ लगानीकर्ताको पुँजी डुब्नेछ ।
युरोपको कठ्याङ्ग्रिने शिशिर याममा पर्याप्त इन्धन आपूर्ति भएन वा भण्डारणको व्यवस्था भएन भने परिस्थिति अझ भयावह हुने निश्चित छ ।
वर्तमान परिस्थितिलाई विश्लेषण गरेर जर्मनी सरकारले प्राकृतिक ग्यास वितरणमा कडाइ गरेमा वा कोटा निर्धारण गरेमा स्टिल उत्पादन कारखाना, औषधि उत्पादक कम्पनीदेखि व्यावसायिक रूपमा कपडा धुने उद्योगहरू अपाङ्ग हुनसक्छन् ।
जस्तापाता निर्माता कम्पनीहरूको सङ्गठनका अध्यक्षसमेत रहेका मार्टिन ग्यासको आपूर्ति रोकिएमा उनका सबै उपकरण नष्ट हुनेछन् ।
कोरोना भाइरसको महामारीले विश्वव्यापी व्यापारलाई ध्वस्तप्रायः पारेको दुई वर्षपछि विश्वभरका सरकार, व्यवसाय र परिवारले युद्धले निम्त्याएको आर्थिक प्रभावको लेखाजोखा गर्ननसकिने स्थिति छ । बजार भाउले आकाश छोएको छ ।
आर्थिक मन्दीको निकटमा रहेका युरोपेली देशलाई बढ्दो ऊर्जा लागतले आगामी शिशिरमा चिसो र अँध्यारोमा जीवन बिताउनुपर्ने चिन्ताले सताएको छ ।
खाद्यान्नको उच्च मूल्य र अभाव, युक्रेन र रूसबाट भएको मल र खाद्यान्न ढुवानीको कटौतीले विकासोन्मुख देशहरूमा व्यापक भोकमरी र अशान्ति सृजना गर्ने चिन्ता पनि उत्तिकै बढाएको छ ।
युगाण्डाको राजधानी कम्पाला बाहिर किराना पसल सञ्चालन गर्दै आएकी राहेल गामिशालाई आफ्नो देशभन्दा धेरै टाढा युक्रेनमा रूसले गरेको आक्रमणले साना व्यापार व्यवसायमा चोट पुगेको लाग्छ । पेट्रोलजस्ता अत्यावश्यक वस्तुको मूल्य रूस–युक्रेन युद्धले बढाएको उनको ठम्म्याइ छ ।
केही दिनअघि सात डलरमा बेचबिखन भएको एक ग्यालन पेट्रोलको मोल १७ डलर पुगेको र आगामी साता सोही परिमाणको इन्धनलाई २५ डलर पुग्ने सम्भावना छ । उनल नयाँ कुरा पनि पत्ता लगाएकी छन् ।
कुनै वस्तुको मूल्य वृद्धि नभए पनि त्यसको तौलमा हुने सङ्कुचन । एक हजार ग्रामको रोटी आठ सय पचास ग्राममा घट्दा पनि उही मूल्य तिर्नु परेको छ ।
रूस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले एक वर्षभन्दा कम अवधिकमा चौथो पटक विश्वव्यापी अर्थतन्त्रप्रतिको आफ्नो दृष्टिकोण र प्रक्षेपण घटाउनु पर्या भने ऋण उपलव्ध गराउने यो विश्व वित्तीय संस्थाले यो वर्ष तीन दशमलब दुई प्रतिशत वृद्धिको अपेक्षा गरेको छ ।
यो सन् २०२१ को जुलाईमा अनुमान गरिएको चार दशमलब नौ प्रतिशत र गत वर्षको छ दशमलब एक प्रतिशतभन्दा कम हो ।
कोरोना महामारीले मन्दीमा धकेलेको विश्व अर्थतन्त्रलाई दुई वर्ष फेरि चाँडै अर्को विश्वव्यापी मन्दीमा धकेल्न सक्ने चेतावनी कोषका प्रमुख अर्थशास्त्री पियरे ओलिभिएर गौरिञ्चसले दिएका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले पनि खाद्यान्न र ऊर्जाको बढ्दो मूल्यवृद्धिले युक्रेन युद्धको पहिलो तीन महिनामा विश्वभरका सात करोड १० लाख सर्वसाधारण गरिबीमा फसेका बताएको छ । यसबाट बाल्कन र सब सहारा अफ्रिकी देश सबैभन्दा बढी प्रभावित भएका छन् ।
यो वर्ष ४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्नसक्ने प्रक्षेपण राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले गरेको छ ।
रासस/एपी