काठमाडौं । सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले कम्पनीमार्फत जलविद्युत आयोजना बनाउन थालेको छ । प्राधिकरण आफैंले सिधै जलविद्युत आयोजना बनाउन छाडेको छ ।
१ सय ४४ मेगावाटको कालिगण्डकी ए, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको मस्र्याङ्दीलगायत झन्डै एक दर्जन साना र ठूला आयोजना निर्माण गरेको प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर आयोजना बनाउन छाडेको हो ।
प्राधिकरणले प्रत्येक आयोजना बनाउन कम्पनी स्थापना गरेको छ । आयोजना अध्ययन गर्ने इन्जिनियरिङलगायत हालसम्म १३ कम्पनी स्थापना गरिसकेको छ ।
पछिल्ला वर्ष प्राधिकरण ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी आयोजनामा खुम्चिन पुग्यो । चमेलिया र कुलेखानी आयोजनाको समय र लागतले प्राधिकरणको बदनामीसमेत गरायो । त्यसपछि प्राधिकरणले कम्पनी बनाएर आयोजना निर्माण गर्न थालेको हो ।
कम्पनीमार्फत आयोजना बनाउँदा सफल भएपछि प्राधिकरणले धमाधम स्थापना गर्न लागेको हो ।
अहिले प्राधिकरणले विद्युत उत्पादन र प्रसारण रणनीतिमा परिवर्तन गरेको छ । सोहीअनुसार विद्युत प्राधिकरण आफैंले आयोजना बनाउन छाडेर सहायक कम्पनीबाट अघि बढाएको हो । अहिले जलविद्युत आयोजना बनाउन, विस्तृत इन्जिनियरिङलगायत परामर्श सेवा दिन र बिजुलीको व्यापारसमेत गरी प्राधिकरणले हालसम्म १३ सहायक कम्पनी स्थापना गरिसकेको छ ।
सहायक कम्पनी चिलिमेको सफल कार्यान्वयन, शीघ्र निर्णय लिन, जनसहभागिता सुनिश्चित र स्वदेशी पुँजी परिचालनका साथै आयोजना निर्माण गर्न कम्पनी मोडल अपनाएको प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले बताए ।
यी सबै कम्पनीमा प्राधिकरणको बहुमत स्वामित्व छ । यसैगरी सबै आयोजनामा जनताको सेयर लगानी सुनिश्चित गरिएको छ । चिलिमेबाट सुरु भएको सहायक कम्पनीको स्थापनाले गति लिँदै अहिले १३ पुगेको छ । सहायक कम्पनीबाट झन्डै ५ हजार मेगावाट क्षमताका आयोजना निर्माण भइरहेका छन् ।
तीमध्ये केही आयोजना सम्पन्न भइसकेका छन् । प्राधिकरणले विद्युत उत्पादन साथै आयोजना अध्ययन गर्न इन्जिनियरिङ, विद्युत व्यापार र प्रसारणलाइन कम्पनीसमेत स्थापना गरेको छ । यसमध्ये माथिल्लो तामाकोसीबाट ४ सय ५६ र चिलिमेबाट २२ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २ सय ७० मेगावाटका चार आयोजना निर्माण गरिरहेको छ । १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाट मध्यभोटेकोसी, ५७ मेगावाटको माथिल्लो र तल्लो सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । चिलिमेलेसमेत चार आयोजना बनाउन तीन सहायक कम्पनी स्थापना गरेको छ ।
रसुवागढी र सान्जेन चालु आर्थिक वर्षमा सकिने र मध्यभोटेकोसी आगामी वर्ष सकिनेछ । चिलिमेले ५०० मेगावाटको आयोजनाको अध्ययन गरिरहेको छ । यी आयोजना पनि चिलिमेले सहायक कम्पनीबाट बनाउने भएको छ ।
माथिल्लो तामाकोसी जलविद्युत लिमिटेडले ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट बिजुली उत्पादन थालेको छ । कम्पनीले रोल्वालिङ खोलाको पानीसमेत उपयोग गरेर इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा २२ मेगावाटको रोल्वालिङ आयोजना बनाउन तयारी थालेको छ ।
यो आयोजनाबाट ३१ करोड युनिट थप बिजुली उत्पादन गर्ने प्राधिकरणको लक्ष्य छ । यसपछि तामाकोसीबाट वार्षिक २ अर्ब ५९ करोड युनिट बिजुली उत्पादन हुने अनुमान छ ।
यस्तै, १४० मेगावाटको तनहुँ अर्धजलाशययुक्त आयोजना बनाउन तनहुँ हाइड्रो लिमिटेड स्थापना गरेको छ । हाल आयोजनाको निर्माण जारी रहेको छ । कम्पनीले १२६ मेगावाटको तल्लो सेती आयोजना पनि निर्माणका विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।
आयोजनामा एसियाली विकास बैंक (एडिबि), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र युरोपियन इन्भेष्टमेन्ट बैंक (ईआईबी) को ऋण लगानी रहेको छ । विद्युत् प्राधिकरण र नेपाल टेलिकमले संयुक्तरूपमा प्रवद्र्धन गरेको त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले ३७ मेगावाटको त्रिशूली ३ ‘बी’ आयोजना बनाइरहेको छ ।
यसैगरी, ४० मेगावाटको राहुघाट आयोजना रघुगंगा जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । भारतको निर्यात–आयात (एक्जिम) बैंकको सहुलियत ऋण सहयोगमा आयोजना निर्माण भइरहेको छ ।
१०६० मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवाखोला आयोजना बनाउन माथिल्लो अरुण जलविद्युत कम्पनी स्थापना भएको छ । आयोजना विश्व बैंकको ऋण लगानीमा निर्माण हुने भएको छ । हाल आयोजनाको विस्तृत इन्जिनियरिङको काम सुरु हुन लागेको छ ।
९९.८ मेगावाटको तामाकोसी पाँचौं आयोजना बनाउन विद्युत् प्राधिकरणले तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड स्थापना गरेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । आयोजनाको डिपिआर तयार भएकाले निर्माणमा जाने तयारीमा छ । बोलपत्र आह्वानको तयारी भइरहेको छ ।
६३५ मेगावाटको दुधकोसी जलाशययुक्त आयोजना बनाउन दूधकोसी जलविद्युत कम्पनी लिमिटेड स्थापना भएको छ । एडिबिको अनुदानमा आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन तयार भइसकेको छ । आयोजना बनाउन एडिबिबाट ५५ करोड डलर ऋण तथा २ करोड डलर बराबरको अनुदान सहयोगको प्रतिबद्धता प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
एडिबिको अगुवाइमा ईआईबी, एसियन इन्फ्रास्ट्रक्चर बैंक (एआईआईबी) कोरियन एक्जिम बैंकसँग छलफल जारी छ । आयोजनाका लागि जग्गा अधिकरणको काम सुरु भएको छ । प्राधिकरणले ५१ प्रतिशत स्वामित्व रहने गरी एनईए इन्जिनियरिङ कम्पनी स्थापना गरेको छ । आयोजनाले २० भन्दा बढी आयोजनाको डिजाइनको काम गरेको छ ।
नेपालभित्र बाहिर बिजुलीको व्यापार गर्न नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड स्थापना भएको छ । कम्पनी सञ्चालनका लागि सञ्चालक समितिबाट व्यापारिक योजना स्वीकृत भएको छ । नेपाल–भारत विद्युत आदनप्रदान तथा द्वीपक्षीय लाभका लागि ४०० केभी क्षमताको ढल्केबर मुज्जफ्फपुर प्रसारण लाइन निर्माणका लागि कम्पनी स्थापना भएको हो ।
यस्तै, ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ र १९.८ मेगावाटको माथिल्लो मोदी ‘बी’ आयोजना बनाउन मोदी जलविद्युत कम्पनी स्थापना गरेको हो । अन्तर्राष्ट्रिय परामर्शदाताले आयोजनाको डिजाइनको काम सकेको छ । यस्तै, पहुँचमार्ग निर्माण भइहेको छ ।
८२१ मेगावाटको उत्तरगंगा जलविद्युत् आयोजना निर्माण गर्न विद्युत् प्राधिकरणले उत्तरगंगा पावर कम्पनी लिमिटेड स्थापना गरेको छ । कम्पनीले ४१७ मेगावाटको पहिलो र ४०४ मेगावाटको दोस्रो जलविद्युत् आयोजना अघि बढाउँदै छ । आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन र बोलपत्र दस्तावेज तयार पार्न इरानको महाघोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीलाई छनोट गरिएको छ ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेड
माथिल्लो तामाकोसी जलविद्युत लिमिटेड
तनहुँ जलविद्युत कम्पनी लिमिटेड
त्रिशूली जलविद्युत कम्पनी लिमिटेड
रघुगंगा जलविद्युत लिमिटेड
माथिल्लो अरुण जलविद्युत लिमिटेड
तामाकोसी जलविद्युत कमपनी लिमिटेड
दूधकोसी जलविद्युत कम्पनी लिमिटेड
एनईए इन्जिनियङि कम्पनी लिमिटेड
नेपाल पावर टे«डिङ कम्पनी लिमिटेड
पावर ट्रान्सिमिसन कम्पनी नेपाल लिमिटेड
मोदी जलविद्युत कम्पनी लिमिटेड
उत्तरगंगा पावर कम्पनी लिमिटेड
यस्तै, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रीड कम्पनीलगायतमा प्राधिकरणको सेयर लगानी रहेको छ ।