काठमाडौ । सूचना प्रविधिमा कमजोर भएपछि पछिल्लो समय नेपालको बैङ्किङ क्षेत्र थप असुरक्षित बन्दै गएको छ । विश्वमा भएको सूचना प्रविधीको विकाससँगै बैङ्किङ क्षेत्र थप असुरक्षित बन्दै गएको हो ।
गत भदौ १४ गते चिनियाँ ह्याकरहरुले विभिन्न बैङ्कहरुको एटीएम बुथबाट साढे ३ करोड रुपैयाँ चोरी गरेको घटना एक महिना नबित्दै कृषि विकास बैङ्कबाट पनि ह्याकरहरुले २ करोड रुपैयाँ चोरी गरेका छन ।
ह्याकरहरुले सरकारी स्वामित्वको कृषि विकास बैङ्कबाट मंगलबार २ करोड रुपैयाँ लुटेका छन । बैङ्कको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले झिक्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरिसकेको छ ।
ह्याक गरिएको रकम काठमाडौंबाट निकाल्न लाग्दा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेकाहरुको नाम गोप्य राखेको छ । कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे खुलेको छैन । प्रहरीले यसबारे बैङ्कका कर्मचारीको सहयोगमा अनुसन्धान सुरु गरेको छ ।
एक महिनामा भएका दुईओटा ह्याक गरी भएका चोरीका घट्नाले नेपालको बैङकिङ प्रणाली कमजोर रहेको स्पष्ट भएको छ । प्रविधिमा भएको विकासका कमजोरीहरु पत्ता लगाई ह्याकरहरुले विश्वलाई नै असुरक्षित बनाइरहेका बेला नेपालको बैङ्किङ पनि थप सुरक्षित देखिएको हो ।
गत भदौ १४ गते चिनियाँ ह्याकरहरुले नेपालका एटिएम बुथ ह्याक गरी पैसा चोरेको घटना सेलाउन नपाउँदै फेरी ह्याकरहरु सलबलाएका हुन । ह्याकरले नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरन्जीबि नेपालले बैङ्कहरुले सूचना प्रविधीमा लगानी बढाउनु पर्ने बताउदै आएका छन ।
भदौ १४ को घटनापछि गभर्नर नेपाललले आइटीमा लगानी बढाउन बैङ्कहरुलाई निर्देशन पनि दिएका छन । उनले बैङ्कहरुलाई सूचना प्रविधिमा लगानी बढाएर प्रणालीलाई मजवुत बनाउन निर्देशन दिदै आएको बताउछन ।
क्यापिटल नेपालसँग कुरा गर्दै गभर्नर नेपालले भने, ‘बैङ्कहरु आइटीमा अपडेट हुनै पर्छ ।’ आइटीमा अपडेट नहुँदा दिनहुँ जस्तो बैंकिङ क्षेत्र असुरक्षित बन्दै गएको छ । अहिले भइरहेको घटना पनि त्यसैको उपज हो ।’
नेपालका विभिन्न बैङ्कका एटीएम बुथहरुबाट चिनियाँ ह्याकरहरुले ७ ओटा बैङ्कका विभिन्न कार्ड प्रयोग गरी १७ ओटा बैङ्कका विभिन्न स्थानका ६८ ओटा एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५०० रुपैयाँ चोरी गरेका थिए ।
यस्तै भारतबाट ६ वटा नेपालका वाणिज्य बैङ्कहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका विभिन्न स्थानका २४ बैङ्कका १३२ एटीएमबाट १ करोड ५ लाख ८७ हजार २०० गरी ३ करोड ५८ लाख ८४ हजार रुपैयाँ रकम झिकिएको थियो ।
कृषि विकासबाट रकम चोरी भएको खबरले बैङ्करहरु पनि त्रसित बनेका छन् । राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अब बैङ्कहरु थप चनाखो हुनुपर्ने अवस्था आएको बताएका छन् ।
आइटीलाई तत्काल अपडेट गर्न नसक्दा समस्या आएको उनको भनाई छ । त्यसो भन्दैमा बैङ्कहरु चुप लागेर नबस्ने उनले स्पष्टपारे । सीईओ श्रेष्ठले भने, ‘बैङ्कहरु चुप लागेर बसेका छैनन्,आइटी अपडेट गरिरहेका छन् ।’
नेपाल मात्रै होइन अहिले विश्वभरी नै ह्याकरहरुको विगविगी भएकाले विश्वका लागि यो चुनौतीको विषय भएको छ ।’ यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो ।
जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन् । यस्तै एनआईसी एसिया बैङ्कको स्विफट ह्याक गरी करोडौ रुपैयाँ चोरी भएको थियो ।