काठमाडौं । मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेजीको विषयमा खानेपानी मन्त्रालयमा प्रतिवेदन तयार भएको छ ।
सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा उक्त २ वटा विकास समिति खारेजी गरी खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतका कार्यालयहरुबाट सञ्चालन गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार खानेपानी मन्त्रालयले समिति खारेजीको विषयमा प्रतिवेदन तयार गरेको हो ।
मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको सम्पति तथा दायित्व हस्तान्तरणलगायत विषयमा अध्ययन भइरहेको बताइएको छ । तर, मेलम्चीलाई खारेज गर्ने वा थप अधिकार दिएर अगाडि बढाउने भन्ने विषयमा पनि मन्त्रालयमा कुरा उठेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राजेन्द्र प्रसाद पन्तले बताए ।
यद्यपी छलफलले आधिकारीक निर्णय भने गरिसकेको छैन । मेलम्ची खानेपानी विकास समिति खारेज भएपनि खानेपानी आयोजना भने यथावत रहनेछ । गत जेठबाट मेलम्चीको पानी काठमाडौंमा ल्याउन बन्द गरिएको छ ।
२०७८ असार र साउनमा गएको बाढीको कारण आयोजनामा क्षति पुगेपछि अस्थायी पुननिर्माण गरेर वैशाखमा मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको थियो । तर, वर्षाको समयमा खोलाको बहाव बढेर थप क्षति गर्न सक्ने तथा धमिलो पानी सुरुङमा हाल्दा प्राविधिक रुपमा उपयुक्त नहुने भन्दै जेठबाट पानीको आपूर्ति बन्द गरिएको छ ।
पानी बन्द गरेपछि आयोजनाले कुनै काम गर्न पाएको छैन । सीडीई पन्तका अनुसार हाल मेलम्ची खोलामा पानीको बहाव बढेर सडक कटान भइरहेको छ ।
‘अहिले हामीले कुनै काम गरेका छैनौं, खोलाले सडक कटान गरिरहेको छ । अब पानीको बहाव घटेपछि मात्रै काम गर्न सकिने अवस्था छ ।’ सिडिई पन्तले भने, ‘काठमाडौंमा पानी आउने मिति खोलामा बाढी आउन छाडेपछि मात्रै भन्न सकिन्छ । किनकि गत वर्ष खोलाको तिरैतिर ट्रयाक खोलेर काम गरेका थियौं अहिले त्यो सडकमा फेरि क्षति पुगेको छ ।’
जेठमा पानी बन्द गर्दा आयोजनाले कत्तिकतिर काठमाडौंमा पुनः पानी आउने जनाएको थियो। आयोजनका अर्का सिडिई पदम कुँवर कात्तिक अन्तिम सातासम्म पुनः काठमाडौंमा मेलम्चीको आउने बताउँछन् ।
हाल खानेपानीमन्त्री उमाकान्त चौधरी नेपाल बाहिर रहेकाले एकिन मिति घोषणा नभए पनि कात्तिकमा पानी ल्याउने सम्भावना रहेको सिडिई कुँवरको भनाइ छ । यद्यपी मन्त्री चौधरी नेपाल आए पनि पानी आपूर्तिको मिति घोषणा हुने बताइएको छैन ।
मेलम्ची खानेपानीको मुहान क्षेत्रमा २०७८ असार र साउनमा बाढी गएपछि एसियाली विकास बैंक (एडिबि) को टोलीले बाढी प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिरहेको छ । तर, यसअघि नै प्रारम्भिक चरणको अध्ययनको ड्राफ्ट रिपोर्ट बुझाएको एडिबिले पहिलो चरणको फाइनल रिपोर्ट अझैसम्म बुझाएको छैन ।
एडिबिले बुझाएको ड्राफ्ट रिपोर्टले मेलम्ची खानेपानीको हेडवक्रस सार्नुपर्ने देखाएको छ। एडिबिले गत वैशाखमा बुझाएको पहिलो चरणको अध्ययन रिपोर्टले हेडवक्रस नै सार्नुपर्ने देखाएको खानेपानी मन्त्रालयले जनाएको छ ।
एडिबीले मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएपछि सन् २०२१ नोभेम्बरबाट भौगार्भिक अध्ययन सुरु गरेको थियो । उक्त टोलीमा २ जना विदेशी र ६ जना स्वदेशी गरी ८ जना रहेका छन् । एडिबिले फाइनल रिपोर्ट डिसेम्बरसम्म बुझाउने तयारी गरिरहेको छ ।
भदौ अन्तिमसम्म एडिबीले पहिलो चरणको फाइनल रिपोर्ट बुझाउने सम्भावना रहेको आयोजनाका सिडिई कुँवरले बताउँछन् । एडिबीले अध्ययन भौगार्भिक अध्ययनको रिपोर्ट नबुझाउँदा आयेजनामा बाढीले क्षति पुर्याएको १ वर्ष बित्दासम्म क्षतिको एकिन विवरण आउन सकेको छैन ।