पोखरेली व्यवसायी ध्रुव थापा अटो व्यवसाय क्षेत्रमा परिचित नाम हो । उनले पोखरालाई जन्मक्षेत्र मात्र होइन, कर्म क्षेत्र पनि बनाए । पोखरालाई जग बनाएर आफ्नो व्यावसायिक यात्रामा उडान भरेका थापा मोफसल बसेर देशभर आफ्नो व्यावसायिक नेटवर्क बनाउने थोरै व्यवसायीमध्ये पर्छन् ।
पारिवारिक व्यवसायमार्फत नै व्यवसायमा पाइला टेकेका थापाका बुवाले सुरूदेखि नै पोखरामा किराना पसल सञ्चालन गर्दै आएका थिए । यस्तै उनका दाइ बिन्दुकुमार थापा पोखरा क्षेत्रकै प्रतिष्ठित उद्यमी व्यवसायी हुन् ।
ध्रुवलाई पनि सानैदेखि सानो होस् या ठूलो, व्यवसाय नै गर्नुपर्छ भन्ने लाग्थ्यो । बुवा र दाइले गर्दै आएको कामलाई निरन्तरता दिँदै उनले करिब २०४६ सालतिर मोटरसाइकलको रिकन्डिसन व्यवसाय थपे, जुन अहिले अटो व्यवसायीहरुकै सबैभन्दा ठूलो संस्था नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) अध्यक्ष बन्ने आधार बन्यो ।
यस्तो छ व्यावसायिक टाइमलाइन
२०४६ सालमा मोटरसाइकलको रिकन्डिसन व्यवसाय सुरू गरेका थापाले त्यसलाई ८ देखि १० वर्षसम्म निरन्तरता दिए । त्यही बीचमा सुजुकी मोटरसाइकलको डिलरसिपको काम सुरू गरेका थिए । त्यतिखेर सुजुकी जियानो भनेर धेरै परिचित थियो ।
पहिले जापानबाट आउँथ्यो भने पछि सोही मोडलको चीनबाट आउन थाल्यो । सुजुकीको त्यही डिलरसिप बिजनेसले उनको व्यावसायिक यात्रालाई थप गतिशील बनाइदियो । पछि कोरियन बाइक डेलीमको पनि डिलरससिप लिए । त्यो बाइक भने केही लक्जरियस थियो । तर, त्यहाँका लाहुरेका परिवारको रोजाइमा त्यो बाइक पर्न थाल्यो ।सन् १९९५ मा आएका ती बाइक सबैले लिने गरेका थिए । इन्डियन बाइकहरु १ लाखसम्ममा आउँदा डेलिम बाइकको मूल्य दुई लाखसम्म पथ्र्यो । त्यसमा सबै सुविधा थियो । सेल्फ स्टार्ट, ट्युबलेस टायरदेखि लक्जरियस भएकाले पनि लाहुरेहरुको रोजाइमा परेको थियो ।
डेलिमपछि बिस्तारै व्यावसायिक फड्को मार्दै गाडीको सोरूम राखे । सन् २००३ तिर पहिलोपटक डाइहात्सु गाडीको डिलरसिप लिए । त्यसको एक वर्षपछि फेरि हुलास मोर्टसको गाडीको डिलरसिप लिए, जुन गाडी नेपालमै बन्थ्यो । त्योसँगै उनले आफ्ना दाजु बिन्दुकुमारले सुरू गरिरहेको रियलस्टेट व्यवसायमा पनि हात हाले ।
गाडी र रियलस्टेटको कामसँगै अगाडि बढाइरहेका बेला उनले सन् २०१३÷१४ तिर फोर्ड गाडीको डिलरसिप लिए । अटोेमोबाइल, रियलस्टेट हुँदै बिजनेसलाई फराकिलो बनाउँदै जाँदा हस्पिटालिटी तथा बैंकिङ क्षेत्रमा समेत उनले लगानी विस्तार गरे । उनले पोखरा फाइनान्स र सिटी डेभलपमेन्टमा लगानी गरेका छन् । ती वित्तीय संस्था अहिले मर्ज भएर मेगा र एनएमबी बैंक बने ।
हस्पिटालिटी क्षेत्रका रुपमा कोभिडअघि साझेदारी पोखरामा माउन्ट ग्लोरी होटल सञ्चालनमा ल्याएका छन् । साथै अबको केही वर्षपछि नै सञ्चालनमा ल्याउने गरी पाँचतारे होटलको तयारीसमेत भएको छ । थापाले विदेशी व्यवस्थापकसँगको टुंगो लगाएपछि निर्माण सुरू गर्नेछन् ।
नाडामा उनको आबद्धता दुई दशक बढी भइसक्यो । पश्चिमाञ्चल अटो व्यवसायी संघको अध्यक्ष हुँदै नाडाको संस्थागतबाट दुईपटक केन्द्रीय उपाध्यक्षसमेत बने । त्यसपछि भने उनी केन्द्रीय अध्यक्ष भए । नाडामा उनको यात्रा अध्यक्षसहित चौथोपटक हो ।
लोकेसन : द पार्क भिलेज
गाडी : फोर्स गोर्खा
सीसी : २५९६
क्यामेरा : दृष्टान्त बिडारी /सुजन गुरूङ