काठमाडौं । विदेशी साझेदार भित्र्याएपछि नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको व्यवसायको आकार बढ्दै गएको छ ।
सन् २०१९ मा बेलायती लगानीकर्ता ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (सिडिसी ग्रुप) प्रवेशपछि कम्पनीको व्यवसाय विस्तार भएको हो । सिडिसीले वर्ल्डलिंकको १० प्रतिशत स्वामित्व खरिद गरेको छ ।
सिडिसीले वर्ल्डलिंकमा त्यसबेला १ अर्ब ३५ करोड रुपैयाँ (१ करोड २० लाख डलर) लगानी गरेको थियो । उक्त लगानीपछि कम्पनीको इन्टरनेट सेवाका ग्राहक संख्या बढ्नुका साथै आम्दानी पनि बढ्दै गएको हो ।
२०१९ मा ५ अर्ब ४ करोड रुपैयाँबराबरको कारोबार गरेको वर्ल्डलिंकको आम्दानी २०२१ मा बढेर ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँ पुगेको छ । ९ महिनामा कम्पनीले ६ अर्ब ७२ करोड ४० लाख सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको दाँजोमा गत वर्ष कम्पनीको आम्दानी २१.५३ प्रतिशत बढेको छ । थप १ सय ४० स्थानमा सेवा विस्तार गरेका कारण कारोबार बढेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
तीन वर्षमा कम्पनीको कारोबार झन्डै ३ अर्ब रुपैयाँ बढेको छ । कम्पनीको आम्दानीको मुख्य स्रोत आइएसपी सेवा नै हो । त्यस्तै डलर कारोबारबाट पनि कम्पनीले ९० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कूल आम्दानीमा ४१ प्रतिशत हिस्सा खुद्रा ग्राहकको छ । त्यस्तै कर्पोरेट क्षेत्रको योगदान सात प्रतिशतमात्र छ ।
कम्पनीको बजार हिस्सा ३१ प्रतिशत छ । वर्ल्डलिंकका सक्रिय ग्राहक ६ लाख २५ हजार छन् । ग्राहक बढे पनि मूल्यमा भएको तीव्र प्रतिस्पर्धाले कम्पनीको मार्जिन घटेको छ । ७० जिल्लामा कम्पनीका १ सय ५० शाखा कार्यालय छन् । यो वर्ष १ सय २० नयाँ ठाउँमा शाखा विस्तार गर्ने योजना छ ।
सेवा विस्तार गर्न कम्पनीले २०२३ मा २ अर्ब रुपैयाँ लगानी थप्ने योजना सार्वजनिक गरेको छ । २०७८ साउनसम्ममा २ करोड ७७ लाख ६ हजार ७ सय ११ नेपालीले इन्टरनेट प्रयोग गर्ने गरेको तथ्यांक नेपाल दूरसञ्चार प्राधिकरणसँग छ ।
सन् २०२० मा वर्ल्डलिंकको कारोबार ६ अर्ब ५४ करोड ५० लाख थियो । उसले ५ अर्ब १९ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । कम्पनीको पुँजी संरचना र ऋण कभरेज सूचकहरू निकट अवधिमा केही हदसम्म मध्यम हुने सम्भावना छ । कम्पनीले विभिन्न नयाँ स्थानमा निर्माण भइरहेको सञ्जाल पूर्वाधार निर्माणका लागि थप ऋण आवश्यकता अनुमान गरेको छ ।
पर्याप्त गियरिङ हेडरुम कायम राख्न आगामी वर्ष २०२३ मा थप लगानी गर्ने कम्पनीले सार्वजनिक गरेको छ । वर्ल्डलिंक नेपालमा फाइबर कनेक्टिभिटीको अग्रगामी हो र स्याटेलाइटमार्फत जडान गर्ने देशको पहिलो निजी कम्पनी हो ।
यो आफ्नै वायरलेस ट्रंक नेटवर्क भएको पहिलो कम्पनी पनि हो । सन् २०१२ मा वर्ल्डलिंकले एफटिटिएच (फाइबर टु द होम) प्रविधि ल्याएको
थियो । त्यसपछि २०१८ मा कम्पनीले फिनिस बहुराष्ट्रिय आइटी पूर्वाधारसँग साझेदारी घोषणा गर्यो । कम्पनीले आफ्नो एफटिटिएच नेटवर्कलाई १० लाख नेपाली घरधुरीसम्म पुर्याउने भएको छ ।
हालसम्म यसको अप्टिकल फाइबर नेटवर्कको लम्बाइ १३ हजार ६ सय ४६ किलोमिटर पुगेको छ । वर्ल्डलिंकको अपडेटेड टेक्नोलोजीले यसलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम बनाएको छ ।
सन् १९९६ मा स्थापना भएको वर्ल्डलिंक २०१९ अप्रिलमा पब्लिक लिमिटेडमा परिणत भएको हो । कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासन तयारी गरेको छ ।
२५ वर्षमा अवधिमा वर्ल्डलिंक सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक र तेस्रो ठूलो टेलिकम कम्पनी भएको छ । प्रविधि विकासले गर्दा कम्पनीले यस विषयमा अध्ययन र अनुसन्धान जारी राखेको छ । कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवाल र कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल हुन् ।