काठमाडौं । नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई दिँदै आएको पुनर्कर्जाको पछिल्लो झमेलामा व्यवसायी परेका छन्। तिनमा पनि कोभिड प्रभावित होटल व्यवसायी अधिक मारमा परेका छन्।
मुलुकको केन्द्रीय बैंकले कोभिड प्रभावित होटल व्यवसायीलाई दिँदै आएको पुनर्कर्जासम्बन्धी कार्यविधि राष्ट्र बैंकले समयमै नल्याएपछि समस्या उत्पन्न भएको हो ।
यसअघि दुई वर्षसम्म निरन्तर पाउँदै आएको पुनर्कर्जा व्यवस्थाबाट व्यवसायीहरूले राहतको सास फेरेका थिए।
तर, चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा पुनर्कर्जा कार्यविधि अलमलका कारण बैंकहरूले साउनदेखि नै किस्ता र ब्याज लिन ताकेता थालेपछि व्यवसायी समस्यामा परेका हुन् ।
नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ संशोधन गरी बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जामा कोभिड–१९ महामारी प्रभावित लघु, घरेलु, साना तथा मझौला उद्यम/व्यवसाय र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख छ ।
यसैमा कोभिड संक्रमण प्रभावित पर्यटन एवं घरेलु, साना तथा मझौला उद्यम व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको व्यवसाय निरन्तरता कर्जा २०७९ जेठसम्म १ अर्ब १५ करोड स्वीकृत भएको उल्लेख छ।
विशेषगरी काठमाडौं बाहिर तराई क्षेत्रका होटल व्यवसायी बढी मर्कामा परेको होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् ।
चर्चामा आए जसरी होटल सञ्चालनमा आइनसकेका कारण एकैपटक किस्ता र ब्याज तिर्न सक्ने अवस्था नभएको उनको भनाइ छ। बैंकको दबाबकै कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउन थालेको उनी बताउँछन् ।
‘बैंकले धेरै नै च्याप्न थालेपछि हानमा दैनिक ८ देखि १० वटा गुनासाका फोन आउने गरेको छ,’ उपाध्यक्ष शाहले क्यापिटल नेपालसँग भने, ‘पर्यटन व्यवसायीलाई हेर्ने सरकारको दृष्टिकोणमा संकुचन आउँदा समस्या बल्झिँदै गएको छ।’
उता, सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले तीन वर्षदेखि बन्द होटलहरूलाई गएको असारदेखि नै ब्याज र किस्ता एकैपटक मागेपछि व्यवसायी मर्कामा परेको बताए ।
‘केही होटल चलेका आधारमा राष्ट्र बैंकले पुनर्कर्जाको विषयमा स्पष्ट नीति नल्याउँदा यस्तो समस्या सुरु भएको हो,’ श्रेष्ठले भने, ‘त्यसकारण तत्काल त्यसलाई सच्याउन आग्रह गर्छु।’
मौद्रिक नीतिमा कोभिड प्रभावित क्षेत्रलाई पुनर्कर्जा निरन्तरता दिने उल्लेख गरिए पनि कुन क्षेत्रलाई दिने, पर्यटन क्षेत्रलाई दिने वा नदिने भन्ने स्पष्ट उल्लेख छैन। राष्ट्र बैंकले कम्तीमा एक वर्षका लागि पुनर्कर्जालाई निरन्तरता नदिए अधिकांश होटल व्यवसायीले सरकारलाई चाबी बुझाउनुको विकल्प नभएको श्रेष्ठ गुनासो गर्छन् ।
एकातिर, राष्ट्र बैंकले दिने पुनर्कर्जामा पर्यटन व्यवसायलाई समेटेको छैन भने अर्कातिर बैंकले एक्कासि ब्याजदर बढाएको छ । जसले गर्दा यसअघि ६/७ प्रतिशत ब्याज बुझाउँदै आएका व्यवसायी एकैपटक १२/१३ प्रतिशतको भारले थिचिन पुगेका छन् । यस्तै अवस्था रहे तराईका अधिकांश होटल बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
व्यवसायीहरुले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ असार मसान्तसम्मको ब्याज कम्तीमा एक वर्षपछि तिर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकलाई मौद्रिक नीति आउनु अघिबाटै अनुरोध गरेका थिए ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पुनर्कर्जालाई तोकिएको ५१ अर्बको सीमाभित्र नल्याएसम्म कसलाई दिने वा नदिने भन्ने निर्णय नहुने बताए।
‘अहिले १ खर्ब १० अर्बको पुनर्कर्जा गइसकेको छ,’ उनले भने, ‘त्यसलाई ५९ अर्ब घटाएपछि मात्रै कार्यविधि तयार हुन्छ र त्यसले क्षेत्र तोकेर काम गर्छ। त्यही भएर हाल कसैलाई पनि पुनर्कर्जा दिइएको छैन।’
आन्दोलनको तयारीमा व्यवसायी
केन्द्रीय बैंकले पुनर्कर्जा दिने कार्यविधिमा होटल व्यवसायीलाई नसमेटे आन्दोलन गर्ने तयारीमा व्यवसायी छन्। अहिलेका होटलमध्ये ३० प्रतिशतमात्र राम्रोसँग चलेको छ। तिनै होटललाई आधार मानेर केन्द्रीय बैंकले दिँदै आएको पुनर्कर्जा सुविधा कटौती गरे सरकारलाई चाबी बुझाउने चेतावनी व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत दिइसकेका छन्।
सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष श्रेष्ठले केही दिनअघि लुम्बिनी भ्रमण क्रममा भैरहवा आएका गृहमन्त्री खाँणलाई भेटेर आफूहरूले होटलको साँचो प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई बुझाउन लागेको जानकारी गराएको बताए। ‘सरकारले पर्यटन व्यवसायीलाई हेर्ने नजर परिवर्तन नभएकाले आन्दोलनको तयारीमा लागेका छौं,’ श्रेष्ठले भने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चले पनि बढेन चहलपहल
निकै महत्वसाथ हेरिएको गौतमबुद्ध विमानस्थल सञ्चालनमा आए पनि सोचेजस्तो चहलपहल भने हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटक ओइरिने अपेक्षा गरेका त्यहाँका व्यवसायी तीन महिनामै निराश हुन थालेका छन्। विमानस्थल सञ्चालनमा आएको तीन महिनामा एउटामात्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जजिरा एयरवेजले उडान गरिरहेको छ। यसबाट पर्यटकीय चहलपहल लगभाग शून्य भएको व्यवसायीको भनाइ छ ।
नुहाउन आउने पर्यटक धेरै, बास बस्ने छैनन्
भैरहवा क्षेत्रमा नुहाउनका लागि मात्रै आउने भारतीय पर्यटक संख्या भने बढेको छ । साताको ३–४ हजार भारतीय पर्यटक लुम्बिनीमा बिहान आउने र नुहाएर फर्किने क्रम तीव्र रहेको होटल व्यवसायी बताउँछन् ।
सिद्धार्थ होटल संघका अध्यक्ष श्रेष्ठका अनुसार भारतको गर्मी छल्न दिनभरि लुम्बिनी क्षेत्रमा रहेका होटलमा स्वीमिङ गर्न आउने र बेलुका उतै फर्कने क्रम बढेको छ । जसले गर्दा संख्यात्मक हिसाबमा पर्यटक धेरै आएको देखिए पनि बास बस्ने र खर्च गर्नेको संख्या भने न्यून छ ।