काठमाडौं । जिल्ला अदालतको आदेश विपरित खरिदबिक्री प्रक्रिया अघि बढेको रुपन्देहीमा सञ्चालित टाइगर प्यालेस होटलमा भएको बैङ्कहरुको लगानी जोखिममा परेको भन्दै यसलाई उद्धार गर्न स्थानियबासिन्दाहरुले नेपाल राष्ट्र बैङ्कमा निवेदन दिएका छन ।
सरकारी जग्गा अतिक्रमण गरी रुपन्देहीको तिलोत्तमा नगरपालिका १३, कोटिहवामा निर्माण गरिएको रिसोर्टको किनबेचमा जिल्ला अदालत रुपन्देहीले रोक्न आदेश दिएको थियो । अदालतको आदेशको अवज्ञा गर्दै टाइगर प्यालेस रिसोर्ट कम्पनी सिलभर हेरिटेज बिक्रीका लागि प्रक्रिया अगाडी बढाएको थियो ।
कम्पनीले निरन्तर बिक्रीको प्रक्रिया अगाडी बढाएपछि स्थानियबासिन्दाहरुले राष्ट्र बैङ्कको ध्यानकर्षण गराएका छन । उनीहरुले राष्ट्र बैङ्कका गभर्नर डा. चिरन्जीबि नेपाललाई निवेदन लेखेर विभिन्न ४ ओटा वाणिज्य बैङ्कहरुको लगानी सुरक्षित गर्न माग गरिएको छ । स्थानीयबासिन्दाहरुले भदौ ३० गते गभर्नर डा. नेपाललाई पत्र लेखेका हुन।
टाइगर प्यालेस रिसोर्टमा प्राइम कमर्शियल बैङ्ककको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट, सानिमा र सिभिल बैङ्कले २ अर्ब ५० करोड रुपैयाँ ऋण स्वीकृत गरेका छन । जसमध्ये रिसोर्टले १ अर्ब ६० करोड ऋण प्रयोग गरिसकेको छ ।
अदालतको आदेशअनुसार होटल सञ्चालन हुन नसक्ने र बैङ्ककहरुले गरेको लगानी जोखिममा परेको हुँदा सर्वसाधरणको निक्षेपबाट गरिएको अर्बौ रुपैयाँ लगानी डुब्ने स्थिति देखिएको स्थानीयको भनाइ छ ।
यो विषय सार्वजनिक हिसाबले राष्ट्र बैङ्कले अति जिम्मेवारीपूर्वक लिई निक्षेपकर्ताको भलाईका लागि अविलम्ब सम्बन्धित बैङ्कहरुलाई आफ्नो लगानी सुरक्षित गर्न होटलमा भएका ऋण फिर्ताका लागि पहल गर्न भनिएको छ ।
राष्ट्र बैङ्कको बैङ्क तथा वित्तिय संस्था नियमन विभागका एक अधिकृतले टाइगर प्यालेस रिसोर्टका बारेमा निवेदन आएको र सो निवेदन दर्तासमेत भएको बताए । ‘निवेदन दर्ता भएको छ, यस विषयमा सम्बधित बैङ्कसंग बुझन हामीले चाँडै पत्राचार गगर्ने छौं,’ उनले भने ।
रिसोर्टले ऋणको रकम लिएर नै बैंकको किस्ता तिरिरहेको सिभिल बैङ्कका एक अधिकृतले क्यापिटल नेपाललाई बताए ।