काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् क्षेत्रमा तामाकोसीलाई नमुना बनाउने बताएका छन् ।
शुक्रबार सम्पन्न अपर तामाकोसी हाइड्रोपावरको चौधौं साधारणसभामा बोल्दै निर्देशक घिसिङले साे बताएका हुन् ।
यस्तै, अपर तामाकोसी आयोजनाबाट आएको आम्दानीले रोलवालिङ र तामाकोसी–पाँचलगायत अन्य आयोजनाको पनि लाइसेन्स लिने उनले बताए ।
तामाकोसीले ४५६ मेगाबाट भन्दा पनि ठूला आयोजनाका लागि लाइसेन्स लिने तयारी गरेकाे उनले बताए ।
‘कुनै आयोजनाको लाइसेन्स लिइसकेपछि त्यसको तयारीमा ३/४ वर्ष लाग्छ,’ उनले भने, ‘तामाकोसी आयोजनाको पुँजी वृद्धि गर्नुपर्नेछ । त्यसपछिको स्थितिमा आम्दानी बढाउने हिसाबले धेरै नै राम्रो स्थिति हुन्छ।’
साथै, विद्युत क्षेत्रमा तामाकोसीलाई नमुना बनाएर अगाडि बढाउने गरी काम अगाडि बढिरहेको घिसिङले बताए ।
उनले विद्युत प्रसारण लाइन नभएकाले विद्युतको सप्लाई भएन भन्ने अवस्था नरहेको बताए ।
‘एक दुई ठाँउ बाहेक सबै ठाँउमा प्रसारण लाइन काम सम्पन्न भएको छ,’ उनले भने, ‘केही आयोजनामा विद्युत प्रसारण लाइन पुगेन भन्ने थियो तर, अब त्यो समस्या छैन ।’
प्रसारण लाइन बनिसकेको अवस्थामा प्रोजेक्ट नआएको घिसिङको गुनासो छ ।
‘कोसी करिडोरमा करिब ६०० देखि ८०० मेगावाटको प्रसारण लाइन बनिसक्यो तर ३० मेगावाटको आयोजना आएका छ,’ उनले भने, ‘ त्यस्तै, सोलु करिडोरमा ३/४ सय मेगावाटको आयोजना बन्यो तर, २२/२३ मेगावाटको प्रोजेक्ट आएको छ ।’
‘अब हाम्रो प्रसारण लाइन आइडल बनिसकेको स्थिति छ,’ उनले भने ।
साथै आगामी दिनमा अपर तामाकोसीको वार्षिक साधारणसभा समयमा सम्पन्न हुने घिसिङको भनाइ छ ।