काठमाडौं । अपर तामाकोसी हाइड्रोपावरको चौधौं वार्षिक साधारणसभा भएको छ । कम्पनीको शुक्रबार सम्पन्न सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
अब कम्पनीले १० अर्ब ५९ करोेड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले हकप्रद निष्कासन गरेको पैसाले रोलवालिङ आयोजनामा लगानी गर्ने भएको हो ।
आयोजनाले सुक्खायामको लागि रोलवालिङ आयोजनामार्फत १२० मेगावाट विद्युत उत्पादन बढाउने जनाएको छ। सुक्खायाममा विद्युत उत्पादन क्षमता घट्ने हुँदा उत्पादन घट्न नदिन रोलविलिङ आयोजनाको निर्माण गरिने भएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। कम्पनीले १ः१ अनुपाातमा हकप्रद सेयर निष्कासन गरेपश्चात कम्पनीको पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुँजी पुग्नेछ ।
साथै सभाले लेखापरीक्षणको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाहसहितको आर्थिक विवरणमाथि छलफल गरेको छ ।
लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधानअनुरुप लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव. २०७०/०७२ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह 'ख' अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिलासहित ४ जना सञ्चालकहरूको निर्वाचनमार्फत नियुक्त भएका छन् ।
आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार आर्थिक वर्ष २०७७/७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने सम्बन्धमा सञ्चालक समितिको बैठक भत्ता ५ हजार पुर्याउने प्रस्ताव पारित गरेको छ ।