काठमाडाैं । ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवर्द्धन हुन नसकेकाे बताएका छन् ।
पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनले बताए।
विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अलैँचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरुसँग भेटघाट र अलैँचीखेती अवलोकनका लागि आज झापा पुगेका हुन् ।
नेपाल अलैँची व्यवसायी महासंघले होटल एसोसिएसन अफ नेपाल, कृषि मन्त्रालय र स्वीस विकास सहयोग (एसडिसी) सँगको सहकार्यमा गत साउनदेखि ‘वाह अलैँची’ अभियान सुरु गरेको छ । मास्टर सेफ साह यो अभियानको ब्रान्ड एम्बेसडर छन् ।
'विदेशमा रहँदा अलैँचीको खुबै प्रयोग हुन्थ्यो, तर मलाई ती अलैँची आफ्नै देशको उत्पादन हो भनेर थाहा थिएन', जिल्लाका धुलाबारीमा व्यवसायीसँगको भेटघाटमा उनले भने, 'जब मैले बिबिसी मास्टर सेफमा भाग लिएँ । त्यहाँ अलैँचीको नाम आयो । अनि मात्र थाहा पाएँ कि अलैँची त हाम्रै देशको उत्पादन पो रहेछ ।'
विदेशबाट आयातित वस्तुको उपभोगमा न्यूनीकरण गरेर स्वदेशी अलैँचीको उपभोगका लागि जनचेतना बढाउन आवश्यक रहेको र आफू त्यसैमा लागिरहेको उनले बताए । नेपालमा विदेशबाट आयातित सुकुमेल हरेक खानेकुरामा प्रयोग हुने गरेको र अलैँची उपेक्षामा परेको उनको भनाइ छ ।
चिया, खाना, तरकारी, मासु, माछालगायत भान्साका हरेक वस्तुमा अलैँचीको प्रयोग गर्न सकिने हुँदा घरेलु बजार प्रवर्द्धनका लागि वाह अलैँची नामक किताब प्रकाशन गर्ने, अलैँची प्रयोग गरिएको खानेकुरा प्रदर्शनी गर्ने र होटलका कुकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।
पाँच प्रतिशत मात्र घरेलु खपत
नेपालमा उत्पादित अलैँचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए ।
सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उनले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने धारणा व्यक्त गर्छन् ।
महासंघको तथ्यांकअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैँचीखेती हुने गरेको छ । जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ । नेपालबाट वार्षिक रु सात अर्ब बराबरको अलैँची निर्यात हुँदै आएको छ ।
अरबी मुलुकमा मासुमाछामा मसलाका रुपमा अलैँचीको उपभोग हुने गरे तापनि नेपालमा सिलौटामा पिसेर चिया मसलाका रुपमा न्यून प्रयोग हुने गरेको छ । अलैँचीलाई औषधीय गुण भएको मसला मानिन्छ ।
घरेलु उपभोग र बजार प्रवर्द्धनका लागि मास्टर सेफ सन्तोष साहलाई ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरिएपछि स्वदेशी खपत बढ्ने महासंघको अपेक्षा रहेको कार्यकारी अधिकृत ढुंगानाले बताए ।
‘ब्रान्ड एम्बेसडर’ साहले आजै इलामको रोङ गाउँपालिकास्थित जिर्मलेमा अलैँची खेतीको अवलोकन गर्ने र त्यहाँका कृषकसँग अन्तक्रिया गर्ने कार्यक्रम रहेको ढुंगानाले जानकारी दिए। अवलोकनमा दातृ संस्था स्वीस विकास सहयोग (एसडिसी) र अलैँची व्यवसायी महासंघका प्रतिनिधिसमेत सहभागी हुने बताइएको छ ।