काठमाडौं । रकम अभाव देखाएर सरकारले व्यवसायीलाई दिनुपर्ने नगद अनुदानवापतको रकम तीन महिनादेखि रोकेको छ । प्रत्येक महिना उपलब्ध गराउनुपर्ने रकम व्यवसायीले तीन महिनादेखि सरकारबाट लिन सकेका छैनन् । व्यवसायीले नेपालबाट सामान निर्यात गरेवापत तीन र पाँच प्रतिशत नगद अनुदान पाइरहेका थिए । निर्यातकर्ताले निर्यात रकम दाखिला नेपाली बैंकमा गराएको एक साताभित्र सरकारले दिने भनेको नगद अनुदान दिनुपर्ने ‘निर्यातमा अनुदान प्राप्त गर्नेसम्बन्धी कार्यविधि २०७५’ मा उल्लेख छ ।
तर, सरकारले नगद अभाव बहाना बनाउँदै व्यवसायीलाई दिनुपर्ने ठूलो परिमाणबराबरको रकम उपलब्ध गराउन सकेको छैन । सरकारले व्यवसायीलाई नगद अनुदानवापत झन्डै १० अर्ब रुपैयाँ दिन बाँकी छ । तीन महिनादेखि नगद अभावको बहाना बनाएर अनुदान दिन अटेर गरिरहेको सम्बद्ध व्यवसायीहरूको गुनासो छ । निर्यातकर्ताले विदेशी मुद्रा नेपाली बैंक खातामा भित्रिएको प्रमाण पेस गरिसकेका छन् । तर, सरकारले रकम उपलब्ध गराएको छैन ।
सरकारले तीन र पाँच प्रतिशत नगद अनुदान व्यवस्था गरेको छ । स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा ऊनी सामान, च्याङ्ग्रा पश्मिना तथा त्यसबाट उत्पादित सामग्री, स्वदेशी प्रशोधित जुट तथा सामग्री, सुन, चाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट, पोलिस्टर यार्न, फाइबर भिस्कोर्स यार्न, एक्रेलिक तथा कटन यार्न, तामाका सामान निर्यातमा सरकारले तीन प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ । त्यसैगरी, सतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित सामान निर्यातमा पाँच प्रतिशत नगद अनुदानको व्यवस्था छ ।
त्यसभित्र प्रशोधित चिया तथा कफी, हस्तकला तथा काष्ठकलाका वस्तु, प्रशोधित छाला तथा छालाजन्य वस्तु, हातेकागज तथा त्यसबाट उत्पादित वस्तु, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थरजडित गहना, अल्लोबाट उत्पादित सामान, मिनरल वाटर, बेसार तथा तरकारी, प्रशोधित मह, अलैंची, अदुवा (तेस्रो मुलुक निर्यात गरेमा) पर्छन् ।
बढ्दो व्यापार घाटा कम गर्न सरकारले दुई र तीन प्रतिशत नगद अनुदानको पुरानो व्यवस्था २०७५ सालमा पुनरावलोकन गरेको थियो । त्यसपछि नयाँ व्यवस्था लागू गरिएको हो ।
नेपाली उत्पादन विश्वबजार पुर्याउन र विदेशी मुद्रा आर्जन गरेवापत व्यवसायीलाई तीन र पाँच प्रतिशत नगद अनुदान व्यवस्था गरिएको हो । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी व्यवसायीले समयमै अनुदान नपाएको स्वीकार्छन् । ‘तर, नपाउने भन्ने हुँदैन । केही समयचाहिँ लागेको हो,’ उनले भने, ‘अर्थ मन्त्रालयले रकम निकासा नगरेका कारण व्यवसायीले समयमै रकम नपाएको पक्कै हो ।’
विभागले आवश्यक प्रक्रिया पूरा गरेर राष्ट्र बैंकमा फाइल पठाइसकेको छ । तर, अर्थले आवश्यक रकम निकासा नगरेकाले अनुदान पाउन केही समय लागेको तिवारीको भनाइ छ । व्यवसायीका अनुसार धागो, चिया, हस्तकला सामग्री निकासी गरेवापत पाउनुपर्ने रकम लामो समयदेखि पाइरहेका छैनन् । अघिल्लो आर्थिक वर्ष निकासी गरेवापत पाउनुपर्ने नगद अनुदान गत वर्ष अन्त्यतिर पाइरहेका छन् । तर, गत वर्षको अनुदान अझै पाउने छाँट छैन।