काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागमा डेढ वर्षमा चार महानिर्देशक (डिजी) परिवर्तन भएका छन् । विभागले उपलब्ध गराएको विवरणअनुसार २०७७ माघ ५ बाट २०७९ साउन २६ सम्म चार डिजी परिवर्तन भएका हुन् ।
२०७७ माघ ५ देखि २०७८ कात्तिक २८ सम्म नवराज प्याकुरेल विभागको डिजी थिए । २०७८ कात्तिक २९ बाट २०७९ जेठ १६ सम्म पद्मकुमार मैनाली र २०७९ जेठ १७ बाट साउन २६ सम्म रामचन्द्र दंगाल डिजी थिए ।
प्याकुरेलले १० महिना र मैनालीले करिब ९ महिना डिजी भएर काम गरे पनि दंगालले ७३ दिनमात्रै काम गर्न पाए । साउन २६ बाटै नयाँ डिजीका रुपमा सुरेन्द्रमोहन श्रेष्ठ हाजिर भएका छन् । उनले २६ गते डिजी बने पनि एक सातापछि भदौ २ बाट विभागको काम सुरु गरेका हुन् ।
सहरी विकास मन्त्रालयलाई प्राप्त कूल बजेटमध्ये करिब ८० प्रतिशत विभागका लागि विनियोजन हुने गरेको छ । मुलुकमा निर्माण हुने महत्वपूर्ण भवन, भ्युटावर, संसद् भवन, धरहरा, नयाँ सहर, स्मार्ट सिटीलगायत विकास निर्माणका काम विभाग मातहतकै विभिन्न शाखा तथा योजना कार्यलयबाट सञ्चालन हुन्छन् ।
यति महत्वपूर्ण विभागको नेतृत्व भने स्थिर छैन । त्यसो त प्याकुरेल डिजी हुनु पहिला झन्डै डेढ महिना विभाग नेतृत्वविहीन थियो ।
विभागमा पछिल्लो समय डिजी मात्रै होइन महाशाखा र आयोजनाम प्रमुख पनि परिवर्तन भएका छन् । जसले विभागका नियमित काममा असर पर्नुका साथै कर्मचारी सरुवामा कुनै ‘स्वार्थ’ रहेको बुझ्न सकिन्छ ।
विभागअन्तर्गतको आवास महाशाखा प्रमुख दिलीप भण्डारी करिब डेढ वर्षको जिम्मेवारी पूरा गरेर गत साउन ३० मा विभागबाट बाहिरिए । भदौ १ बाट महाशाखा प्रमुखमा प्रकृर्ण तुलाधर आएका छन् । महाशाखाले सुरक्षित नागरिक आवास कार्यक्रममा काम गर्छ ।
त्यसैगरी नयाँ सहर आयोजना समन्वय कार्यालय निर्देशक सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठको पनि सरुवा भएको छ । कार्यालयले देशभरि निर्माण घोषणा गरिएका हिमाली सहर, नयाँ सहर, स्मार्ट सिटी निर्माण गर्ने गर्छ । गत जेठमा आयोजना निर्देशक बनेका श्रेष्ठको ठाउँमा एकराज अधिकारी आएका छन् ।
संघीय संसद् भवन निर्माण गर्दै आएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय निर्देशक पनि परिवर्तन भएका छन् । दिलीपशेखर श्रेष्ठलाई प्रतिस्थापन गर्दै निर्देशकमा मचाकाजी महर्जन आएका छन् ।
विभाग डिजीमात्र होइन शाखा, महाशाखा र आयोजना निर्देशक पनि पटक–पटक परिवर्तन भइरहँदा विभागसहित समग्र मन्त्रालयको काम प्रभावित भएको छ । तर, मन्त्रालयका सचिव रमेशप्रसाद सिंह भने अनुभवीलाई डिजी बनाएकाले नियमित काममा असर नपर्ने बताउँछन् ।
शाखा, महाशाखा प्रमुखहरुले लामो समय काम गर्ने गरेको देखिन्छ । तर, डिजी परिवर्तन केही महिनाको फरकमा भइरहेको छ । छोटो समयमा डिजी सरुवा हुनु नियमित प्रक्रिया रहेको सचिवको भनाइ छ ।
‘सरकारले फर्स्ट क्लासका कर्मचारी परिवर्तन गरिरहेको हुन्छ, यो सामान्य प्रक्रिया हो । तर, अलि ढिलो गरेको भए हुन्थ्यो,’ सचिव सिंह क्यापिटल नेपालसँग भने, ‘बीचमा परिवर्तन गर्नु हुँदैन थियो। त्यो भइसक्यो भयो तर अहिले भर्खरै आर्थिक वर्ष सुरु भएको छ । यो आर्थिक वर्षको बीचमा परिवर्तन गर्नु हुँदैन ।’
डिजी परिवर्तन गर्दा पर्ने असरबारे भने उनले प्रतिक्रिया दिन मानेनन् । बरु, नयाँ डिजी श्रेष्ठको शैक्षिक योग्यताको चर्चा उनले गरे। ‘उहाँ सहरी विकासमै मास्टर्स गरेको मान्छे हो, असर केही होइन पाएको जिम्मेवारी पूरा गर्नुपर्छ,’ सचिव सिंहले भने, ‘पहिलाको डिजीले तयारी गरेका कार्यक्रम हस्तान्तरण हुन्छन् ।’
सामान्यतयाः मन्त्री परिवर्तन हुँदा मन्त्रालयका सचिव र विभागका डिजी परिवर्तन हुने गर्छ । तर, सहरी विकास मन्त्रालयमा यसअघि समाजवादी पार्टी सचिव रामकुमारी झाँक्री मन्त्री रहेको र पुनः समाजवादीकै नेता मेटमणि चौधरी मन्त्री भएका छन् । एउटै पार्टीका नेता मन्त्री भएका कारण सचिव परिवर्तन नगरिएको हुनसक्ने मन्त्रालयका उच्च अधिकारीहरूको दाबी छ ।
यद्यपि, चौधरी मन्त्री भएको करिब २ महिनामा विभागका डिजीसहित अन्य कर्मचारी सरुवा हुने क्रम भने बढेको छ । तर, उच्च स्रोतका अनुसार डिजी परिवर्तनमा मन्त्री चौधरीको नभई सचिवकै ‘स्वार्थ’ जोडिएको छ ।
आफू अनुकूल काम गर्ने सहसचिवलाई मात्रै डिजी नियुक्त गर्ने सचिव सिंहको ‘योजना’ अनुसार डिजी परिवर्तन गरिएको स्रोतको दाबी छ ।