रामपुर । तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी ३ करोड ८२ लाख ९४ हजार रूपैयाँ बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो ।
टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अन्तिम चरणमा पुगेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । ढिलासुस्ती भइरहेको कामलाई निरन्तर निगरानी तथा खबरदारी गरेसँगै टुँडिखेलमा मर्निङवाकस्थल, फुटबल खेलमैदान र विश्रामस्थल बनिसकेको नगरप्रमुख श्रेष्ठ बताए ।
उनले भने, “दुई वर्ष अगाडि नै सक्नुपर्ने काममा निरन्तर ताकेता गरेपछि अहिले दुबो रोपण कार्य सकिने क्रममा छ, यसले तानसेनको थप सुन्दरता थप्नेछ ।” विगतमा नेपाली सेनाको सहयोग र पाल्पा उद्योग वाणिज्य सङ्घको समन्वयमा टुँडिखेलमा घाँस रोपिएको थियो । अहिले यहाँ ७४ मिटर चौडाइ र १ सय ९ मिटर लम्बाइमा बर्मुडा दुबो रोपिएको छ ।
मैदानभित्र रोपिएको दुबो दुई महिनामा हरियो हुन्छ । त्यसलाई दुईपटक घाँस काटेपछि दुबो रोपेको कम्पनी तिलोत्तमा एग्रिकल्चर फार्मले निर्माण व्यवसायीलाई हस्तान्तण गर्नेछ । कम्तीमा आठपटक दुबोलाई मेसिनले काटेपछि टुँडिखेलमा खेल खेल्नका लागि तयार हुने बताइएको छ ।
आगामी फागुनदेखि खेलमैदान स्तरोन्नति भई पूर्णरूपमा तयार हुने तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्की बताए । विसं २०५० अघि यहाँ हुने गरेका राष्ट्रियस्तरका फुटबल प्रतियोगिता वीरेन्द्र शिल्ड, राष्ट्रियस्तरको भलिबल, इन्डो–नेपाल क्रिकेट, कराते प्रतियोगितालगायत पुनः सञ्चालन गरिनेछ । यहाँको टुँडिखेल मैदान स्तरोन्नति कार्यले खेलप्रेमीमा उत्साह जागेको छ ।
पाल्पा सदरमुकाम तानसेन भित्रने नाकामा नै रहेको यस मैदानमा ठूला–ठूला कार्यक्रम, सभा, समारोह हुने गरेका छन् । खेलमैदानको छेउमा रहेको पाल्पाली करुवाका कारण पनि यहाँ जानेको आकर्षण उत्तिकै छ । यहाँ रहेको करुवा अवलोकन गर्दै टुँडिखेल विश्राम गरेर बस्ने थलोका रूपमा पनि लिइन्छ ।