काठमाडौं । प्रस्तावित १२ सय मेगावाट क्षमताको पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजना निर्माण गर्न भारतबाट झण्डै ३ खर्ब रुपैयाँ लगानी आउने भएको छ । दुई आयोजना बनाउन भारत २ खर्ब ८८ अर्ब रुपैयाँ ( १ खर्ब ८० अर्ब भारु) ल्याउने भएको हो ।
एनएचपिसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अभयकुमार सिंहले दुवै आयोजना बनाउन १ खर्ब ८० अर्ब भारु लाग्ने अनुमान सार्वजनिक गरेका छन् । आयोजनाको जडित क्षमता, लागत र लगानीको प्रतिफल विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयारपछि मात्र यकिन हुनेछ ।
एनएचपीसीका अध्यक्ष सिंहले निर्धारित समय र लागतमा आयोजना बनाउने जानकारी दिए । आयोजनाको सर्वेक्षण गर्न लगानी बोर्डले एनएचपीसीलाई अनुमति दिने छ । त्यसपछि कम्पनीले सर्वेक्षणको काम सुरु गर्ने बताइएको छ ।
पश्चिम सेतीको जडित क्षमता ७५० र इन्डिकेटिभ सेती नदी–६ को ४५० मेगावाट रहेको सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीबाट वार्षिक ३ अर्ब ३० करोड युनिट र सेती नदीबाट १ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीको विद्युतगृहबाट ५० किलोमिटर तल्लो तटीय क्षेत्रमा सेती नदी आयोजना निर्माण हुनेछ ।
आयोजनाबाट उत्पादन हुने बिजुली न्यूअत्तरिया सबस्टेशनमा जोड्ने योजना रहेको सो अवसरमा जानकारी दिइयो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट र एनएचपिसीका अध्यक्ष सिंहले बिहीबार साँझ समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
साउन २३ मा बसेको मन्त्रिपरिषद बैठकले समझदारीको मस्यौदा स्वीकृत गरेपछि हस्ताक्षर प्रक्रिया अघि बढेको थियो । चालु आर्थिक वर्षको बजेटमा पनि सरकारले आयोजनालाई प्राथमिकतामा राखेको छ । आयोजनाबाट पाउने निःशुल्क ऊर्जालगायत अन्य लाभका विषयमा डिपिआरपछि निर्णय हुने जनाइएको छ । भारतीय कम्पनी एसजेभिएनले अरुण तेस्रो आयोजनाको २१.९ प्रतिशत निःशुल्क बिजुली दिएको छ ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बोर्डको ५२औं बैठकले ७ सय ५० मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाट क्षमताको सेती नदी–६ संयुक्त जलविद्युत परियोजना विकास अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो । एनएचपिसीले भारतमा ७ हजार मेगावाट बढी क्षमताको आयोजना विकास गरिसकेको छ ।
एनएचपिसीले जलविद्युत र सौर्य ऊर्जा गरी दुई दर्जन आयोजना पूरा गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । त्यस्तै उसका ७ हजार ५ सय ३९ मेगावाट क्षमताका ११ आयोजना निर्माणाधीन छन् ।
निर्माणाधीन आयोजनासमेत जोड्दा ऊसँग ३५ आयोजना पुग्ने छ । केही वर्षभित्र जडित क्षमता दोब्बर बढेर १४ हजार ६ सय १० मेगावाट पुग्ने छ । त्यस्तै केही ठूला आयोजना पाइपलाइनमा छन् ।
एनएचपिसीले विकास गरेका आयोजनाबाट वार्षिक २४ अर्ब ८५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०२१–२२ मा एनएचपिसीले बिजुली बेचेर ८१ अर्ब ८१ करोड भारु आम्दानी गरेको थियो ।
उक्त अवधिमा एनएचपिसीको खुदनाफा ३५ अर्ब ३८ करोड भारु पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । एनएचपिसीले सिक्किम, अरुणाचल, हिमाञ्चल, मध्यप्रदेश, जम्मु कश्मिर, उत्तराखण्ड र लद्दाखमा जलविद्युत आयोजना विकास गरिरहेको छ ।
पश्चिम सेती अगाडि बढ्दा सँगै रहेको सेती नदी–६ ले पनि गति लिने विश्वास गरिएको छ । सरकारले २०७५ सालमा आयोजना गरेको लगानी सम्मेलनमा ती आयोजनालाई शोकेसमा राखेको थियो । सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाम पुगेपछि कर्णालीमा मिसिन्छ ।