काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
राजधानीमा लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एनएचपिसीबीच उक्त परियोजनाअघि बढाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले ४० वर्षदेखि चर्चामा रहेको उक्त आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिए ।
'उक्त आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई म निर्देशन दिन्छु', प्रधानमन्त्री देउवाले भने, 'सरकारको तर्फबाट आयोजना विकासका लागि सबै प्रकारको सहयोग उपलब्ध हुन्छ, लगानीमैत्री वातावरण बनाउन वर्तमान सरकारले अधिकतम प्रयास गरिरहेको छ ।' प्रधानमन्त्री देउवाले नेपालको विकासको गति अघि बढिरहेको जानकारी गराउँदै गत चैतमा सम्पन्न आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी महत्वपूर्ण सहमति भएको स्मरण पनि गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा यस परियोजना विकासका सम्बन्धमा महत्वपूर्ण छलफल भएको र यो त्यसैको निरन्तरताको रूपमा रहेको पनि उनले बताए । नेपालको ऊर्जा विकासका लागि भारत सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको उनकाे भनाइ छ । उनले केही अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् व्यापारका लागि सरकार लागि परेको जानकारी दिए ।
विद्युत् व्यापारका लागि भारतीय बजार खुला भएको र सोही आधारमा निर्यात सुरु गरेको पनि जानकारी दिँदै प्रधानमन्त्री देउवाले अहिले बढी भएको बिजुली निर्यातका लागि छिट्टै भारतीय बजार खुल्ने विश्वास व्यक्त गरे। उनले नेपाल र भारतबीच सदियौँदेखि जनस्तरबाटै बलियो सम्बन्ध रहेको पनि स्मरण गरे ।
प्रधानमन्त्री देउवाको समुपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र भारतीय कम्पनी एनएचपिसीका सिएमडी एके सिंहबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालको भौतिक पूर्वाधारको विकासमा बोर्डले निरन्तर काम गरिरहेको र सोही कार्यक्रमअन्तर्गतकै यो महत्वपूर्ण समझदारी भएको बताए ।
कम्पनीका सिएमडी एके सिंहले आजदेखि नयाँ यात्राको थालनी गरेको उल्लेख गर्दै समयमै उक्त परियोजना निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, वन तथा वातावरणमन्त्री प्रदीप यावद, सुदूरपश्चिम प्रदशेका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतको उपस्थिति रहेको थियो ।