काठमाडौं । प्रस्तावित १ हजार २ सय मेगावाट क्षमतायुक्त पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजना निर्माण गर्न लगानी बोर्ड र भारतीय कम्पनी एनएचपिसी लिमिटेडबीच समझदारी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट र एनएचपिसीका अध्यक्ष अभयकुमार सिंहले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
अब एनएचपिसीले दुवै आयोजनाको सर्वेक्षण अुनमति पाउने छ । समझदारीपछि आयोजनाको काम अघि बढ्ने छ । त्यसपछि आयोजनाको लागत, जडित क्षमता र निर्माण अवधि यकिन हुनेछ भने कम्पनीले लगानी जुटाउन थाल्ने छ । साउन २३ मा बसेको मन्त्रिपरिषद बैठकले समझदारीको मस्यौदा स्वीकृत गरेपछि हस्ताक्षर प्रक्रिया अघि बढेको थियो ।
पश्चिम सेतीको जडित क्षमता ७ सय ५० र इन्डिकेटिभ सेती नदी–६ को ४ सय ५० मेगावाट रहेको सम्भाव्यता अध्ययनले देखाएको छ । डिपिआरपछि आयोजनाको जडित क्षमता बढ्न सक्ने छ ।
पश्चिम सेती र सेती–६ आयोजना एकीकृत गरी जडित क्षमता १ हजार २ सय मेगावाट पुर्याइएको छ । ती दुवै आयोजना बनाउन २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर (करिब ३ खर्ब रुपैयाँ) लाग्ने सम्भाव्यता अध्ययनमा छ ।
बोर्डका अनुसार पश्चिम सेतीको मात्र करिब १ खर्ब ५० अर्ब रुपैयाँ (१ अर्ब ४८ करोड डलर) र एसआर–६ १ खर्ब रुपैयाँ (९२ करोड ७० लाख डलर) लाग्ने अध्ययनले देखाएको छ। यो अनुमानित लागत मात्र हो । चालु आर्थिक वर्षको बजेटमा पनि सरकारले आयोजनालाई प्राथमिकतामा राखेको छ।
आयोजनाबाट पाउने निःशुल्क ऊर्जालगायत अन्य लाभका विषयमा डिपिआरपछि निर्णय हुने जनाइएको छ । भारतीय कम्पनी एसजेभिएनले अरुण तेस्रो आयोजनाको २१.९ प्रतिशत निःशुल्क बिजुली दिएको छ ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बोर्डको ५२औं बैठकले ७ सय ५० मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाट क्षमताको सेती नदी–६ संयुक्त जलविद्युत परियोजना विकास अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो । एनएचपिसीले भारतमा ७ हजार मेगावाट बढी क्षमताको आयोजना विकास गरिसकेको छ ।
एनएचपिसीले जलविद्युत र सौर्य ऊर्जा गरी दुई दर्जन आयोजना पूरा गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । त्यस्तै उसका ७ हजार ५ सय ३९ मेगावाट क्षमताका ११ आयोजना निर्माणाधीन छन् ।
निर्माणाधीन आयोजनासमेत जोड्दा ऊसँग ३५ आयोजना पुग्ने छ । केही वर्षभित्र जडित क्षमता दोब्बर बढेर १४ हजार ६ सय १० मेगावाट पुग्ने छ । त्यस्तै केही ठूला आयोजना पाइपलाइनमा छन् ।
एनएचपिसीले विकास गरेका आयोजनाबाट वार्षिक २४ अर्ब ८५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०२१–२२ मा एनएचपिसीले बिजुली बेचेर ८१ अर्ब ८१ करोड भारु आम्दानी गरेको थियो ।
उक्त अवधिमा एनएचपिसीको खुदनाफा ३५ अर्ब ३८ करोड भारु पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । एनएचपिसीले सिक्किम, अरुणाचल, हिमाञ्चल, मध्यप्रदेश, जम्मु कश्मिर, उत्तराखण्ड र लद्दाखमा जलविद्युत आयोजना विकास गरिरहेको छ ।
पश्चिम सेती अगाडि बढ्दा सँगै रहेको सेती नदी–६ ले पनि गति लिने विश्वास गरिएको छ । सरकारले २०७५ सालमा आयोजना गरेको लगानी सम्मेलनमा ती आयोजनालाई शोकेसमा राखेको थियो ।
सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाम पुगेपछि कर्णालीमा मिसिन्छ ।