मुलुकको अर्थतन्त्र आफ्नै कारण भन्दा विश्व परिवेशबाट बढी प्रताडित बनेको छ। खासगरी, रुस–युक्रेन युद्धका कारण विश्वभरि भएको मूल्य वृद्धिले नेपाल गम्भीर आर्थिक समस्याबाट अघि बढेको हो ।
नेपालको भुक्तानी सन्तुलन ठूलो घाटामा जानु, विदेशी मुद्रा सञ्चिति निरन्तर घट्नु त्यसैको उपज हो । तर, अघिल्लो वर्षको तुलनामा गत वर्ष वैदेशिक श्रम रोजगारमा जाने युवायुवतीको संख्या उल्लेख्य वृद्धि भएको छ । त्यसैले नेपालको भुक्तानी सन्तुलन सुध्रिने र डलर सञ्चितिमा सुधार आउने सबैको अपेक्षा छ ।
अघिल्लो वर्ष झन्डै–झन्डै १ लाख ५६ हजार युवा काम गर्न विदेश गएका थिए । गत वर्ष झन्डै ६ लाख ५० हजार युवायुवती विदेश काम गर्न गएका थिए । तिनले राम्रैसँग पैसा कमाएर लिएर आउँछन् र हाम्रो शोधनान्तर स्थिति सन्तुलनमा ल्याउन सकिएला भनेर सबैजना आशावादी बनेको अवस्था छ ।
अहिले सबैको चिन्ता शोधनान्तर अवस्था कसरी सुधार्ने भन्ने मात्रै छ । ६ लाख ६० हजार युवाले अलि धेरै पैसा कमाएर नेपाल पठाइदिए गाडी पनि आयात गर्न सकिन्थ्यो । मोबाइल पनि आयात गर्न सकिने अवस्था बन्थ्यो । त्यही पैसा घरजग्गामा पनि लगानी गरौंला, बैंकले अझै नाफा बढाउला । र, अन्त्यमा नेपालको अर्थतन्त्र चलायमान बनाउन सकिन्थ्यो भन्ने छ ।
तर, साढे ६ लाख युवा विदेश पलायन हुँदा वा श्रम गन्तव्यमा पुगिरहँदा कति हजार हेक्टर जमिन बाँझो हुन्छ र कति सय अर्ब डलरको खाद्यान्न आयात गर्नुपर्छ ? त्यसको लेखाजोखा कतैबाट गरिएको छैन । अहिले वार्षिक ३ सय अर्ब डलरभन्दा बढीको खाद्यान्न आयात हुन्छ । साढे ६ लाख विदेशमा कामका लागि जाँदा कति सय अर्ब डलरको खाद्यान्न आयात बढ्छ ? त्यो तथ्यांक अहिलेसम्म निकाल्न भ्याएका छैनाैं ।
हामीले फरक तरिकाले सोच्न सकेका छैनौं । बजेट आउँदा कृषि क्षेत्रमा यो गरिने छ, उद्योगमा यो गरिने छ भनेर जति रमाए पनि वास्तविस्ता अर्कै हुन्छ । गत वर्ष ल्याएको बजेटले के परिणाम दियो ? अहिलेको बजेटले आगामी वर्ष के परिणाम दिन्छ त ? बजेटले तात्विक रूपमा केही फरक पारेको छैन।
लामो समयसम्म नेपालको अर्थतन्त्र व्यापारमाथि निर्भर थियो। तर, चालु वर्षका लागि राष्ट्र बैंकको मौद्रिक नीतिले केही परिवर्तन गर्न खोजेको छ। उद्योग र कृषि उत्पादन बढाउने नीति लिएको देखिन्छ। तर, बैंकहरूले भनिरहेका छन्, ‘हामीसँग लगानी गर्ने रकम छैन।’
केन्द्रीय बैंकको उत्पादन बढाउने नीति, बैंकसँग लगानीका लागि पैसा नभएको अवस्थामा उद्योगीले कस्तो महसुस गर्ने ? हाम्रो उत्पादन बढ्छ ? आयात प्रतिस्थापन होला ? रोजगारी सिर्जना होला ?
केन्द्रीय बैंकले २० प्रतिशतमा चालु पुँजीलाई सीमित गर्ने कोसिस गरिरहेको छ । यसको मूल्यांकन गरौं भनिरहेको अवस्था छ । चालु पुँजी गलत ठाउँमा प्रयोग भएको भए मूल्यांकन गरौं ।
चार प्रतिशत गलत गर्ने व्यक्तिलाई सजाय दिन खोज्दा ९६ प्रतिशतलाई दण्डित गर्ने देश हो नेपाल । केन्द्रीय बैंकले चार प्रतिशतलाई दण्डित गर्न खोज्दा ९६ प्रतिशत अप्ठ्यारोमा नपरुन्।
नीति र नियत कहाँ–कहाँ लेख्ने हो, नीतिलाई सफल बनाउन नियत सफा चाहिन्छ । त्यसबाट मात्रै परिणाम आउँछ । अहिले बजारमा उधारोको डरलाग्दो अवस्था छ । उधारो उठ्न सक्ने अवस्था छैन । बजार चलायमान पनि छैन ।
कोभिडका बेलामा हाम्रा उत्पादनमूलक क्षेत्र सफल भए । उत्पादन पनि बढ्यो । तर, जब कोभिडको अवस्था कमजोर हुँदै गयो, अर्थतन्त्र चलायमान भयो भनेर हामीले घोषणा गर्यौं, त्यही बेलाबाट औद्योगिक उत्पादन घटेर गयो । किनभने, १ हजार ५ सय किलोमिटर खुला बोर्डर छ । आवश्यक वस्तु सबै प्राप्त भएका छन् । उद्योगको उत्पादन वृद्धि भएको छैन । यही अवस्था कामय रहे ठूलो संख्यामा रोजगारी कटौती हुन सक्ने खतरा पैदा भएको छ ।
किनभने, पूर्ण क्षमतामा उद्योग चलाउन सकिएको छैन । चालु पुँजी प्राप्त भएको छैन । व्यवसायीले ऋण प्राप्त गर्न सक्दैन, जसले गर्दा कच्चा पदार्थ आयात रोकिन्छ । उद्योग तथा उत्पादनमूलक क्षेत्र संकुचित हुँदै गएका छन् ।
केन्द्रीय बैंकले घरेलु तथा साना उद्योगलाई टेवा पुर्याउने खालको नीति लिएको छ । बैंकहरूले पनि सकारात्मक रूपमा हेरेका छन् । तर, कुन बैंक बिनाधितो ऋण दिन तयार भएको छ ?
२ करोड रुपैयाँले कति उत्पादन बढाउन सकिन्छ ? बैंकका लगानीयोग्य रकमको चरम अभाव छ । २ करोड रुपैयाँसम्म कर्जा आधार दरमा दुई प्रतिशत जोडेर दिने भनेर नीतिगत व्यवस्था गरिएको छ । तर, पैसा खोई ?
अन्य क्षेत्रमा गरिएको लगानीको कर्जा असल बनाउँदैमा उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अवस्था बन्छ जस्तो लाग्दैन । अहिले अर्थतन्त्रका तीनवटा चालकबीच बोलचाल छैन । समन्वयको कुरा परै जाओस । अर्थतन्त्रमा देखिएको समस्या कसरी समाधान हुन्छ ?
निजी क्षेत्र र बैंक एउटै डुंगामा छौं । एकअर्कालाई दोष देखाएर हुनेवाला केही छैन। बैंकिङ क्षेत्र सबल छ। त्यही भएर अन्य अप्ठ्यारोमा परेको क्षेत्रलाई जोगाउन लाग्नुपर्छ ।
दुई वर्ष कोभिडले समस्या पार्यो । त्योभन्दा अघि राम्रोसँग उद्योग चलिरहेका थिए । कोभिडका कारण उत्पादन कटौती भयो। अहिले धेरै उद्योग ‘वाचलिस्ट’ मा परिरहेका छन् । त्यसमा पर्ने बित्तिकै ऋण पाइएन । उद्योग चलाउन पनि सकिएको छैन। कोभिडको दुई वर्षलाई होल्ड गरिदिनासाथ धेरै उद्योग डिफल्ट हुनबाट जोगिन्छन् । चलायमान बन्न सक्छन् ।
बैंकिङ क्षेत्रको सफल र सबल नेतृत्व जमाउन जति समय लागेको हुन्छ, त्योभन्दा कठिन हुन्छ एउटा उद्यमी जन्माउन । त्यसकारण उद्यमीका समस्या सम्बोधन गरेर नीतिगत र सुविधाजनक रूपबाट उनीहरूलाई असहज अवस्थामा संरक्षण गर्न सकेनांै भने एउटा उद्यमी डिफल्ट हुनु भनेको दसौं उद्यमी त्यो क्षेत्रबाट पलायन हुनु हो ।
( नेपाल उद्योग परिसंघका उपाध्यक्ष अधिकारीले क्यापिटल बहसमा राखेको मन्तव्यको सम्पादित अंश )