काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित नेपाल भ्रमणमा आएका उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी/व्यवसायीबीचको अन्तरक्रियामा बाेल्दै महासंघकाे कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले नेपालको जलविद्युत, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् ।
उनले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको बताए ।
'हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौं । भारत, चीन, ईयू र आंशिक रूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ', उनले भने 'यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीहरूले राम्रो नाफा कमाएका छन् ।'
उनले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न आग्रह गरे ।
उनले भ्रमण दलका प्रतिनिधिहरुलाई नयाँ स्तरको सहकार्यको थालनी गरेर व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रयास गर्न आग्रह गर्दै भने 'सबै जना सदस्यले एक-एक वटा व्यवसायमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरौँ ।'
यस्तै उनले नेपाल र भारतबीच व्यापारिक सम्बन्धको प्रचुर सम्भावना रहेकाे बताउँदै भ्रमण दलका प्रतिनिधि र नेपाली व्यापारी समुदायबीचको आजको अन्तरक्रियाले व्यावसायिक सहयोग मूर्त परियोजनामा परिणत हुनेमा आफू विश्वस्त रहेकाे बताए ।
ढकालले नेपालले भारतसँगको व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ गर्दै भारतको आपूर्ति र मूल्य शृङ्खलालाई एकीकृत गरी दुबै देशले एक अर्काको फाइदा लिन सक्ने बताए । नेपाली निजी क्षेत्र सधैं झैं भारतीय आर्थिक पुनरुत्थान र समृद्धिको हिस्सा बन्न आतुर रहेकाे प्रष्टयाउँदै भने 'हामी हाम्रो द्विपक्षीय व्यापार सम्बन्ध र सहयोगलाई सुदृढ गर्न तयार छौं ।'