काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला उद्यमले मुलुकको आर्थिक विकासमा सहयाेग गर्ने बताएका छन् ।
महिला उद्यमी महासंघले गरेको अन्तर्राष्ट्रिय महिला व्यापार मेलामा बोल्दै प्रधानमन्त्री देउवाले महिला उद्यमले मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने बताएका हुन् ।
मेलाले सबै महिला उद्यमशिलता विकासको क्षेत्रमा थप सहयोग पुग्ने प्रधानमन्त्री देउवाले बताए । सातवटै प्रदेशका महिलाहरूले उत्पादन गरेका वस्तु र सामाग्रीहरुको प्रदर्शनी राखिएकाे बताउँदै प्रधानमन्त्री देउवाले भने ताप्लेजुङदेखि डडेलधुरासम्मका, दुर्गम गाउँका महिला उद्यमीहरूले सहभागिता जनउँदा उत्पादन गरेका वस्तुहरुको बजारीकरण हुनेछ ।
यस्तै प्रधानमन्त्री देउवाले महिला उद्यमीहरूबीच आपसी सीप र व्यवसायिक ज्ञान आदानप्रदान र समन्वयको समेत वातावरण बन्नेमा आफू विश्वस्त रहेकाे बताए । प्रधानमन्त्री देउवाले स्वदेशमै उद्यम व्यवसाय गर्न सके कसैले पनि रोजगारीका लागि भौतारिनु नपर्ने बताए ।
'स्वदेशभित्रै उपलब्ध कच्चापदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवर्द्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न महिलाले विशेष ध्यान दिनुपर्छ', प्रधानमन्त्री देउवाले भने 'स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सहयोग पुर्याउन सबैलाई अपिल गर्न चाहन्छु ।'
व्यापार मेलाले महिला उद्यमशीताललाई प्रवर्द्धन गर्न, महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको विविधीकरणका साथै बजारको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनीले रोजगारी सिर्जना, व्यावसायिक सीपको विकास तथा महिलालाई उद्यम व्यवसायमा लाग्न प्रेरित गर्ने बताए ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सामना गर्दै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई जारी राख्न सरकार र निजीले उचित समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए। उनले महिला उद्यमशीलता प्रवर्द्धनमा महासंघले रचनात्मक भूमिका निर्वाह गर्दै जाने विश्वास व्यक्त गरे ।
महासंघका अध्यक्ष निरु रायमाझी (खत्री) ले स्थानीय कच्चापदार्थ, सीप, प्रविधि र अनुभवको प्रयोग गरी महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन, त्यस्ता उत्पादनको बजारीकरण गर्न सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताइन्।
उनले महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन र बजार प्रवर्द्धनमा ध्यान दिन सरकारसँग आग्रह गरिन् । अध्यक्ष रायमाझीले स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि स्थायी संरचनाको निर्माण गरिदिन आग्रह गरिन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका ३ जना महिला उद्यमीलाई सम्मान गरिएको थियो ।