काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी दीपक खड्काले साढे ३ अर्ब रुपैयाँ लगानीमा दुइटा पाँचतारे होटल सञ्चालन गर्ने भएका छन् ।
२०७० सालको संसदीय निर्वाचनमा संखुवासभाबाट निर्वाचित खड्काको पर्यटन साथै जलविद्युतमा पनि लगानी छ । उनले २ अर्ब ५९ करोड ५० लाख रुपैयाँ लगानीमा काठमाडौं बूढानीलकण्ठमा ‘फरेस्ट इन’ नामक पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।
त्यसैगरी खड्काकै एकल लगानीमा झापा धुलाबारीमा पाँचतारे होटल ‘इस्टर्न’ निर्माणाधीन छ । होटल इस्टर्न बनाउन ९३ करोड ३० लाख रुपैयाँ लगानी हुनेछ । बूढानीलकण्ठको फरेस्ट इन आगामी कात्तिक (अक्टोबर) देखि सञ्चालनमा ल्याउने तयारी छ । होटलको काम अन्तिम चरणमा पुगेको होटलका अध्यक्ष खड्काले क्यापिटल नेपाललाई जानकारी दिए ।
उनका अनुसार १ लाख ४२ हजार ७ सय ८३ वर्गफिट क्षेत्रफलको होटलमा १ सय १५ कोठा हुनेछन् । तीमध्ये १ सय ३ डिलक्स, ६ स्वीट र ६ किङसाइज हुनेछन् । होटल बनाउन १ अर्ब ८६ करोड ८० लाख ऋण र ७२ करोड ७० लाख स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ । फरेस्ट इनमा ७२ प्रतिशत बैंक ऋण र २८ प्रतिशत संस्थापकको इक्विटी हुने गरी लगानी संरचना तयार पारिएको छ ।
होटलमा हाल नबिल बैंकमा समाहित भइसकेको नेपाल बंगलादेश बैंकले ऋण लगानी गरेको छ । १ अर्ब ४० करोड ८० लाख रुपैयाँ वित्तीय व्यवस्थापन भइसकेको छ । पाँचतारे होटलमा फुड एन्ड बेभरेज सेवा साथै क्यासिनो, स्वीमिङ पुल, ब्यांक्वेट हल, रेस्टुराँ, कन्फरेन्स हल, स्पालगायत सुविधा रहने छ ।
होटलले अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) सँग लाइसेन्स सम्झौता गरेको छ । अमेरिकाको आइएचजीको मिडस्केल चेन ‘होलिडे इन’ ले फरेस्ट इनको व्यवस्थापन हेर्ने छ । होलिडे इन ब्रान्डमा हाल संसारभरि १ हजार १ सय ९२ होटल सञ्चालनमा छन् ।
खड्काको फरेस्ट इन होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलोमिटर दुरीमा बूढानीलकण्ठमा अवस्थित छ । त्यसैगरी होटल इस्टर्नको ८० प्रतिशत बढी काम सकिएको छ । होटल सन् २०२३ जुलाइसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ । होटल क्यासिनोसहितको हुनेछ । जसमा स्विट र डिलक्स गरी ८७ कोठा हुनेछन् ।
यसको निर्माण खर्च ९३ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान छ । ६५ करोड ९० लाख रुपैयाँ ऋण र २७ करोड ५० लाख संस्थापकहरूको स्वपुँजी (इक्विटी) लगानी हुनेछ । ७१ प्रतिशत ऋण र २९ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना तयार पारिएको छ । ६१ करोड १२ लाख रुपैयाँबराबरको वित्तीय व्यवस्थापन भइसकेको छ । बाँकी छिट्टै व्यवस्थापन हुने जानकारी इस्टर्नले दिएको छ । यस्तै इक्विटीतर्फको सतप्रतिशत लगानी भइसकेको छ ।
होटलमा फुड एन्ड बेभरेज सेवा, क्यासिनो, स्वीमिङ पुल, ब्यांक्वेट हल, रेस्टुराँ, कन्फरेन्स हल, स्पालगायत सुविधा उपलब्ध हुनेछ । होटल झापा चन्द्रगढी विमानस्थलबाट तीन किलोमिटर दूरीमा छ । भारतनजिक भएकाले पश्चिम बंगालबाट धेरै पर्यटक आउने अपेक्षा छ । होटल र पश्चिम बंगाल राज्यको सिमाना ६ किलोमिटर मात्रै छ । होटल भारतीय पर्यटकमा निर्भर रहने छ ।
होटलले १ लाख १ हजार वर्गफिट क्षेत्रफल ओगट्ने छ । यसबाहेक क्यासिनोको क्षेत्रफल १२ हजार वर्गफिट हुनेछ ।