काठमाडौं । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको सानिमा माई हाइड्रोपावर लिमिटेडले विभिन्न पाँच एसोसिएट कम्पनीहरूमा झन्डै २ अर्ब रुपैयाँ सेयर लगानी गरेको छ ।
हाइड्रोपावर कम्पनीले श्वेतगंगा हाइड्रोपावर, सानिमा मिडिल तमोर, माथिल्लो मैलुङ खोला जलविद्युत्, बाबरी कन्स्ट्रक्सन र सानिमा जुम हाइड्रोपावर कम्पनीमा लगानी रहेको छ । पाँच कम्पनीमा सानिमा माईको १ अर्ब ७४ करोड ७ लाख रुपैयाँ लगानी रहेको छ ।
सानिमा माई हाइड्रोपावर कम्पनीको श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनमा ४५ करोड रुपैयाँ लगानी रहेको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीमा ५३ करोड ३२ लाख, माथिल्लो मैलुङ खोला जलविद्युतमा २३ करोड ७५ लाख, बाभेरिया निर्माण कम्पनीमा ५० लाख रुपैयाँ र सानिमा जुम हाइड्रोपावर कम्पनीमा ५० करोड लगानी रहेको छ ।
सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष ०७८÷०७९ मा नाफा ३३ प्रतिशतले बढेको छ । गत वर्ष कम्पनीले ५४ करोड ५ लाख ३७ हजार खुदनाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४० करोड रुपैयाँ ६४ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको १४ करोड रुपैयाँ बढी नाफा गरेको छ ।
कम्पनीको विद्युत् बिक्री आय बढेर वित्तीय खर्च घटेसँगै नाफामा आकर्षक सुधार आएको हो । गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.९६ प्रतिशत धेरै हो ।
२२ मेगावाटको माई हाइड्रोपावरबाट कम्पनीले ७१ करोड ५ लाख तथा ७ मेगावाटको माई क्यास्केड हाइड्रोपावरबाट २२ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।
हाइड्रोपावरले (१५.६) ले २०७२ वैशाखदेखि २०७८ चैतसम्मको ७ वर्ष अवधिमा पोस्टेड रेट फ्यासिलिटीबापत नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीले ५० करोड २८ लाख रुपैयाँ दाबी गरेको थियो । यसबाट कम्पनीले विभिन्न मितिमा गरी २१ करोड ६८ लाख रुपैयाँ प्राप्त गरेको र अब २८ करोड ६० लाख रुपैयाँ प्राप्त हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि ३.०३ रुपैयाँ बढेर १७.५० रुपैयाँ कायम भएको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४९ गुणा छ । चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ भएको सानिमा माई हाइड्रोपावरको रिटेन अर्निङमा ९१ करोड ७० लाख १२ हजार रुपैयाँ सञ्चित छ ।
अघिल्लो वर्ष कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार तथा रिटेन अर्निङमा ६७ करोड १४ लाख ४५ हजार रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा कम्पनीको रिटेन अर्निङमा सञ्चित रकम २४ करोड ५५ लाख रुपैयाँले बढेको हो ।