काठमाडौं । चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।
चालु आवको २०७९/८० को साउनमा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख रमेश अर्यालले जानकारी दिए ।
गत आर्थिक वर्षको साउन महिनामा २५ हजार चार सय २८ नेपालीले श्रम स्वीकृति लिएका थिए । साउनमा सबैभन्दा बढी मलेसियाका लागि २४ हजार ४ सय ८४ श्रम स्वीकृति जारी भएको छ ।
कतारमा १२ हजार ५ सय ७०, संयुक्त अरब इमिरेट्समा ८ हजार १ सय ४०, साउदी अरेबियामा ६ हजार ७ सय ५ र कुवेतमा ४ हजार २ सय ८४ श्रम स्वीकृति जारी भएको छ। ५ देशले मात्रै कुल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।
कुल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । गत आर्थिक वर्षमा दोहोर्याएर जाने ४५ प्रतिशत थिए। श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् ।
कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकामा २०७८ फागुनदेखि जान सहमति दिएसँगै मलेसिया जानेको सङ्ख्या बढ्दै गएको र समग्रमा विदेशिनेको सङ्ख्या पनि बढेको सहसचिव अर्यालले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रूपैयाँ विप्रेषण भित्रिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब विप्रेषण भित्रिएको थियो । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा सुधार आउने विश्वास गरिएको छ ।