काठमाडौं । किरण सुजका प्रबन्ध निर्देशक अमिरप्रताप राणाले गोल्डस्टारको ट्रेडमार्क चोरी गरेर जुत्ता बनाउने क्रम बढेपछि भारतीय अदालतमा ४५ वटा मुद्दा लडिरहेको जानकारी दिएका छन् ।
नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजले आयोजना गरेको बौद्धिक सम्पत्ति सम्बन्धी छलफल कार्यक्रममा राणाले साे कुरा जानकारी दिएका हुन् ।
उनले भारतमा गोल्डस्टार जुत्ताको माग बढेपछि विभिन्न संस्थाले गोल्डस्टारको ट्रेडमार्क चोरी गरेर जुत्ता बनाउने क्रम बढेकाे बताए । नेपालमा समेत ब्रान्ड चाेरी सम्या खेप्नु परेकाे उनले बताए ।
उनले भने ‘कयौं कम्पनीले गोल्डस्टार ट्रेडमार्क कपि गरेपछि भारतको सर्वोच्च अदालतमा एउटा, उच्च अदालत ३९ र दिल्लीको तल्लो अदालतमा ५ वटा मुद्दा दर्ता गरेका छौँ ।’
हरेक महिना भारतमा मुद्दा लड्न जानु पर्ने बाध्यता उनले सुनाए। नेपालमा पनि धेरै मुद्दा लड्नु परेको बताउँदै उनले प्रश्न गरे 'उद्योगीले व्यवसाय गर्ने कि मुद्दा चलाउने ?’
बौद्धिक सम्पत्ति सम्बन्धी मुद्दा लड्न मात्रै करोडौँ रुपैयाँ खर्च गर्नु परेको राणाले जानकारी दिए ।
राणाले भारतमा बौद्धिक सम्पत्ति सम्बन्धी कानून प्रभावकारी भएको र भारतका अदालतमा पनि बौद्धिक सम्पत्ति सम्बन्धी कानुन बुझेका व्यक्तिहरु रहेको बताए ।
बौद्धिक सम्पत्ति सम्बन्धी बलियो कानुन नहुँदा धेरै समस्या भोगिरहेको उनले बताए ।
बौद्धिक सम्पत्तिसम्बन्धी बलियो कानुन नहुँदा विदेशी लगानी ल्याउन समेत नसकिने उनकाे भनाइ छ। नेपालको सीमा क्षेत्रमा गोल्डस्टारसँगै अन्य विदेशी ब्रान्ड कपि गरेर जुत्ता बनाउने बिकृति बढेको बताउँदै उनले भने 'ब्रान्ड बनाएका उद्योगीहरु निराश छन् ।’