काठमाडौं । गत आर्थिक वर्ष विद्युतीय भुक्तानी कारोबार उल्लेख्य दरमा बढेको छ । गत वर्ष जेठको दाँजोमा असारमा विद्युतीय भुक्तानी संख्या र कारोबार रकम उल्लेख्यमात्रामा बढेको हो ।
केन्द्रीय बैंकको ताजा तथ्यांकअनुसार १५ शीर्षकमा विद्युतीय माध्यमबाट गरिएको कारोबार संख्या साथै भुक्तानी रकमसमेत बढेको छ । मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, वालेट र क्युआर कोडबाट हुने भुक्तानी संख्यासँगै कारोबार रकम पनि बढेको हो ।
गत वर्ष असारमा १५ शीर्षकमा विद्युतीय माध्यमबाट ७ करोड १४ लाख २६ हजार ७ सय ३० पटकमा ६ खर्ब २२ अर्ब ७६ करोड ४८ लाख रुपैयाँको कारोबार भएको थियो ।
त्यसैगरी जेठमा १५ शीर्षकमा ६ करोड ३७ लाख ४० हजार ८ सय १८ पटकको कारोबारमा ५ खर्ब ४० अर्ब ७८ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो । जेठको दाँजोमा असारमा कारोबार संख्या ७७ लाखपटक बढेको छ भने ८२ अर्ब रुपैयाँले कारोबार बढेको छ ।
अघिल्लो वर्ष असारमा १५ शीर्षकमा विद्युतीय माध्यमबाट ४ करोड ८५ लाखपटकमा ५ खर्ब २६ अर्ब रुपैयाँको कारोबार भएको थियो । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय कारोबार संख्या र कारोबार बढेको देखिन्छ ।
कनेक्ट आइपिएसबाट जेठमामात्र ३४ लाख ५३ हजारवटा कारोबारबाट २ खर्ब ८७ अर्ब रुपैयाँ भुक्तानी भएको छ । असारमा ४२ लाख ७० हजार ९९ कारोबारबाट ३ खर्ब ७९ अर्ब २२ करोड भुक्तानी भएको थियो । जेठको तुलनामा असारमा कनेक्ट आइपिएसबाट हुने कारोबार रकम र संख्या दुवै बढेको छ ।
साथै, इन्टरनेट बैंकिङ कारोबार संख्या र रकम दुवै बढेको छ । जेठमा २ लाख ५५ हजार ८ सय १४ कारोबारमा १२ अर्ब १५ करोड ६ लाख भुक्तानी भएको थियो। असारमा ३ लाख १८ हजार कारोबारमा १५ अर्ब ६३ करोड भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ ।
असारमा भने मोबाइल बैंकिङबाट हुने भुक्तानी र कारोबार दुवै बढेको छ । असारमा मोबाइल बैंकिङ प्रयोग गरी २ करोड ५ लाख कारोबारबाट १ खर्ब ६३ अर्ब २५ करोड भुक्तानी भएको छ ।
त्यसैगरी मोबाइल वालेटबाट हुने भुक्तानी संख्या र कारोबार रकम दुवै बढेको छ । जेठमा वालेटबाट १ करोड ५१ लाख ५९ हजार ५ सय ३६ कारोबारबाट १७ अर्ब ७५ करोड भुक्तानी भएको थियो ।
असारमा १ करोड ६२ लाख कारोबारबाट १७ अर्ब ५२ करोड भुक्तानी भएको थियो । पछिल्लो समय निकै रुचाइएको क्युआर कोडबाट हुने कारोबार संख्या र रकम दुवै बढेको राष्ट्र बैंकको भनाइ छ ।
जेठमा क्युआर कोडबाट ३४ लाख ४० हजारपटक कारोबार हुँदा ११ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएकामा असारमा भने ४२ लाख ८१ हजार पटकको कारोबारमा १४ अर्ब ५२ करोडबराबरको कारोबार भएको थियो ।
त्यस्तै एटीएम कार्ड प्रयोग गर्ने संख्या र कारोबार रकम पनि बढेको छ । असारमा १ करोड १ लाखपटकको कारोबारमा ७९ अर्ब ४५ करोड झिकिएको छ ।