काठमाडौं । व्यवसायीहरूले तेस्रो मुलुकबाट वायर रड आयात गर्न थालेका छन् ।
भारतले वायर रड निकासीमा १५ प्रतिशत कर लगाइसकेका बेला अर्थमन्त्री जनार्दन शर्माले पनि चालु आर्थिक वर्षको बजेटमार्फत १० प्रतिशत भन्सार र ४ हजार ५ सय प्रतिटन अन्तःशुल्क पुर्ययाएपछि व्यवसायी गम्भीर समस्यामा परेका थिए ।
भारतको १५ प्रतिशत र नेपालतर्फको १० प्रतिशत तथा प्रतिटन ४ हजार ५ सय रुपैयाँ अन्तःशुल्क तिरेर ल्याएको वायर रडले भारतबाट भन्सार छुटमा आउने जिआई वायरसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि उनीहरू तेस्रो मुलुकको सामान आयात गर्न बाध्य भएका हुन् ।
सरकारले स्वदेशमै वायर रड उद्योग लगाउने सोचसहित भन्सार बढाएको जनाएको थियो । तर, नेपालमा वायर रड उद्योगको सम्भावना अत्यन्तै न्यून भएको र धेरथोर कच्चापदार्थ तेस्रो मुलुकबाटै किनेर ल्याई जिआई वायर बनाउन लागेको उद्योगीहरूले बताएका छन्।
उद्योगीले पहिलो चरणमा १० हजार टन वायर रड आयात गर्न लागेका छन्। यो जिआई वायरको कच्चा पदार्थ हो। त्यसपछि व्यवसायीले २० हजार टन ल्याउने तर्खरमा छन् । त्यसका लागि पनि एलसी खोलिसकेका छन्।
उद्योगहरूले आर्थिक विधेयक २०७९/८० मार्फत वायर रड उद्योगका लागि आवश्यक कच्चा पदार्थ (एचएसकोड) ७२१३.९१.१०० मा रहेको ५ प्रतिशत भन्सार महसुल १० प्रतिशत कायम गरिएको र अन्तःशुल्क प्रतिटन २ हजार ५ सयबाट एकैचोटी ४ हजार ५ सय रुपैयाँ कायम गरेको हो ।
त्यसअघि मे २२ मा वायर रड उद्योगलाई आवश्यक कच्चापदार्थ निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको थियो । नेपाल र भारत दुवैको चर्को शुल्कका कारण मारमा परेका उद्योगीले भारतमा लाग्ने १५ प्रतिशत जोगाउन र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न तेस्रो मुलुकबाट सामान मगाएका हुन् ।
‘कच्चा पदार्थबाट उत्पादन गर्ने तयारी वस्तुको आयात शुल्क साफ्टाअन्तर्गत ६ प्रतिशत रहेकाले पछिल्लो व्यवस्थाका कारण त्यस्ता वस्तुहरू उत्पादन गर्नुभन्दा विदेशबाटै आयात गर्दा सस्तो पर्न जाने अवस्था सिर्जना भएको छ ।
यसले अर्बौं लगानीमा सञ्चालित गाविअन उद्योग, जिआई तार उद्योग, किलाकाँटी उद्योग, तारका सानाठूला गरी १ सयभन्दा बढी स्वदेशी उद्योग धराशयी भएका थिए ।
अर्थमन्त्री शर्माले गत वर्ष बिलेट आयातमा पाँच प्रतिशत र स्पन्ज आइरन आयातमा शून्य भन्सार गरिदिएका थिए । उनले देशभित्रै इन्डक्सन (बिलेट उद्योग) लगाउने उद्देश्यले उक्त नीति अख्तियार गरेका थिए । उक्त नीतिपछि देशमा दर्जनौं नयाँ इन्डक्सन पनि लाग्यो ।
त्यही देखेर अर्थमन्त्री शर्माले चालु आवको बजेटमा वायर रडमा भन्सार र अन्तःशुल्क बढाउँदा देशमै नयाँ उद्योग लाग्ने बताएका थिए । तर, त्यसविपरीत तेस्रो मुलुकबाट धमाधम वायर रड आयात हुन थालेको हो। पूर्वीभेगका उद्योगीले अर्थमन्त्रीको उक्त नीतिको चर्को विरोध पनि गरेका थिए । पूर्वमा यही विषयलाई लिएर अर्थमन्त्रीको राजीनामा समेत मागिएको थियो।
त्यसबाहेक अर्थमन्त्रीले व्यवसायीको गुनासो सुन्नै नचाहेपछि उनीहरू प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विषय लिएर पुगे पनि कुनै सुनुवाइ भएन। वायर रडको भन्सार र अन्तःशुल्क पुरानै अवस्थामा फर्काउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म पुग्दा पनि केही नलागेपछि व्यवसायीहरू तेस्रो मुलुकबाट आयात गरेर जिआई वायर बनाउन जुटेका हुन् ।
सम्बद्ध स्रोतअनुसार पहिलो चरणमा व्यवसायीले ६५ लाख अमेरिकी डलरबराबरको वायर रड मगाएका छन्। त्यसलगत्तै दोस्रो चरणमा १ करोड ३० लाख डलरबराबरको वायर रड आयात हुँदैछ । अहिले प्रतिटन वायर रडको भाउ ६ सय ५० डलर पर्छ ।