काठमाडौं । देशमा जति धेरै उद्योगधन्धाहरुको विस्तार हुन्छ त्यति नै अर्थतन्त्र सबल बन्छ । उद्योगको विस्तारले ठूलो संख्यामा रोजगारी, आयात प्रतिस्थापन, निर्यातमा वृद्धि, सरकारलाई राजश्व प्राप्त हुन्छ । आर्थिक वृद्धिको ग्राफ उकालो लाग्छ ।
तर, केही दशकयता देशको औद्योगिक विस्तारमा संकुचन आएको छ । औद्योगिक विस्तारमा संकुचन आउनमा बिजुली आपूर्ति नहुनुनै मूल कारण हो । औद्योगिक विस्तारको मेरुदण्ड हो बिजुली । जति बढी र सस्तोमा उद्योगले बिजुली पाउँछ त्यतिनै उत्पादन बढ्नुका साथै प्रतिस्पर्धात्मक क्षमता बढ्छ ।
उदीयमान र विकसित अर्थतन्त्रमा सबैभन्दा बढी बिजुली खपत औद्योगिक क्षेत्रमा भएको हुन्छ । ती देशहरुमा घरायसी खपत न्यून छ । ठीकविपरीत नेपालको औद्योगिक क्षेत्रमा बिजुलीको खपतको अवस्था हेर्दा कहाली लाग्दो अवस्था छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कुल बिजुली आपूर्तिमा औद्योगिक वर्गको खपत १.३६ प्रतिशत मात्र रहेको छ । यसबाट नेपालमा औद्योगिक क्षेत्रको विस्तार कति भएको छ भन्ने स्पष्ट हुन्छ । कुल ऊर्जाका आपूर्तिको ९२.७१ प्रतिशत घरायसी प्रयोजन (गार्हस्थ्य वर्ग) मा खपत भएको छ । यस्तै ५.९३ प्रतिशत अन्य वर्गमा बिजुली खपत भएको विद्युत् प्राधिकरणले जनाएको छ ।
गत आर्थिक वर्षमा राष्ट्रिय प्रणालीमा कुल ११ अर्ब ६ करोड युनिट बिजुली उपलब्ध भएको प्राधिकरणले जनाएको छ । प्राधिरणका तथ्याँकलाई आधार मान्दा १५ करोड युनिट बिजुली मात्र औद्योगिक क्षेत्रले खपत गरेको छ ।
प्राधिकरणले भारतमा बिजुली निर्यात गरिरहँदा नेपाली उद्योगहरुले मागे जति बिजुली पाएका छैनन् । प्रसार लाइन जस्ता पूर्वाधार तयार नहुँदा औद्योगिक क्षेत्रले पर्याप्त बिजुली नपाउँदा खपतको अवस्था न्यून देखिएको हो । विद्युत् प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट बिजुली दिन थालेको छ । विद्युत प्राधिकरणका अनुसार ९२.५१ प्रतिशत जनसंख्यामा ग्रीड प्रणालीबाट बिजुली पुगेको छ ।
सरकारले पहिला बिजुली उज्यालोका लागि मात्र अब उज्जवल भविष्यका लागि भन्ने मान्यता अघि सार्दै औद्योगिक क्षेत्रमा ऊर्जा खपत बढाउने योजना अघि सारेको ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल बताउँछिन । औद्योगिकिकरण, यातायात, सिँचाइ र कृषिमा बिजुली खपत बढाउनुपर्ने आवश्यकता रहेको मन्त्री भुसालको भनाई छ ।
विद्युत् प्राधिकरणका अनुसार गत वर्ष बिजुली उपभोग गर्ने ग्राहकको संख्या ५.२५ प्रतिशतले बढेर ४७ लाख ७० हजार पुगेको छ । सामुदायिक संस्थातर्फका ५ लाख ५० हजारसमेत गरी बिजुली उपयोग गर्नेको कुल संख्या ५३ लाख २० हजार पुगेको प्राधिकरणले जानकारी दिएको छ ।
विद्युत् प्राधिकरणका आयोजनाको मर्मत सम्भार हुँदा बिजुली उत्पादन १६.२३ प्रतिशतले बढेर ३ अर्ब २६ कराड युनिट पुगेको छ । यस्तै निजी उत्पादकबाट प्राप्त हुने ऊर्जा ३८.५७ प्रतिशतले बढेर ४ अर्ब २८ करोड युनिट बिजुली प्राप्त भएको छ ।
प्राधिकरणका सहायक कम्पनीबाट प्राप्त हुने बिजुली १२३५ प्रतिशतले बढ्न गई १ अर्ब ९७ करोड युनिट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।