काजखस्तानको नूरसुल्तान (अस्टाना) मा गत सेप्टेम्बर १८ देखि २० सम्म आयोजित पाटा ट्राभल मार्टको ४२ र्औ संस्करणमा पाटा नेपाल च्याप्टरलाई लगातार तेस्रो पटक ‘पाटा बेस्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफसनल’ अवार्ड प्रदान गरिएको छ । यो अवार्ड पाटाले प्रत्येक वर्ष विश्वभर रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्तासँगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मूल्याङ्कनका आधारमा प्रदान गर्ने गर्दछ । उक्त अवार्र्ड पाटा अध्यक्ष क्रिस बोट्रिल र पाटा सीईओ मारियो हार्डीले पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडाललाई प्रदान गरेका थिए ।
पाटा च्याप्टर कोलोकियममा बोल्दै च्याप्टरका सीईओ बुडालले नेपाल भ्रमण वर्ष २०२०, पर्यटन प्रवद्र्धनात्मक गतिविधि तथा संस्थाले गरेका कार्य एवम् भावी योजनाका बारेमा जानकारी दिएका थिए । उनले लगातार तेस्रो पटक पाटा बेष्ट च्याप्टर अवार्ड पाउनु गर्वको विषय भएको र पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुको निरन्तर लगाव र समर्पणको नतिजा भएको बताए ।
नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले नेपालका लागि पाटा ट्राभल मार्टको सहभागिता नेटवर्किङ, व्यापार विस्तार तथा पर्यटन प्रवर्धनका लागि संँधै सफल र प्रभावकारी रहेको बताइन् । उनले भनिन्, ‘नेपाल काजखस्तानीहरुका लागि नयाँ गन्तव्य रहेको र विश्वव्यापी क्रेतामध्ये पनि अर्जेन्टिना, स्पेन जस्ता दक्षिण अमेरिकी मुलुकबाट नेपाल भ्रमण गर्न अभिरुची भएको हामीले पायौं ।
त्यसैगरी पर्यटन बोर्डकी प्रबन्धक अर्चना केसी रानाले आमन्त्रित सहभागीहरुलाई बोर्डको सामाजिक सन्जालमार्फत नेपाली गन्तव्यहरुबारे अपडेट प्राप्त गर्न तथा अभिप्रेरित गराउने उद्देश्यले मार्टमा एउटा डिजिटल अभियानको समेत आयोजना गरिएको बताइन् ।
पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले ५ ओटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनी– द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एन्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एन्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्स मिलेर ‘नेपाल पेभिलियन’अन्तर्गत नेपाललाई जीवन्त अनुभव प्रदान गर्ने गन्तव्यका रुपमा प्रवर्धन गरेका छन् ।
काजखस्तान पर्यटनद्वारा होस्ट गरिएको पाटा ट्राभल मार्ट २०१९ मा विश्वभरका ६३ गन्तव्यहरुबाट कुल १२०० पर्यटन व्यवसायी सहभागी छन्, जसमा १८० संघ संस्था÷कम्पनी तथा ३४ गन्तव्यबाट कुल ३४७ बिक्रेता सहभागी र २४४ संस्था तथा ४८ स्रोतबजारबाट कुल २५२ क्रेताबीच व्यापार आदानप्रदान तथा गन्तव्य प्रवद्र्धन तथा भेटघाट÷छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल पेभेलियनमा, ट्रेकिङ तथा साहसिक पर्यटनबाहेक नेपालको संस्कृति, वेलनेस, लक्जरीलगायत अनुभवमा आधारित पर्यटकीय प्रोडक्ट तथा सेवाका बारेमा सहभागीहरुले अभिरुची जनाएका थिए । मार्टमा आमन्त्रित क्रेता तथा सहभागीबीच आगामी वर्ष फेब्रुअरी तथा जुनमा आयोजना गरिने नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) र हिमालयन ट्राभल मार्ट २०२० को समेत प्रचारप्रसार एवम् प्रवर्धन गरिएको थियो ।
स्तुपा, प्रेयर फ्ल्याग र मनोरम हिमालयन दृश्यसहित नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा वस्तुहरुले सजाइएको नेपाल पेभिलियन मार्टमा सहभागीहरुका लागि आकर्षण बनेको थियो ।