काठमाडौं । नेपालका प्रतिष्ठित व्यावसायिक घरना राठी र गोयल ग्रुपले मारुती सिमेन्टस लिमिटेडको सिमेन्ट र क्लिङ्कर उत्पादन क्षमता दोब्बर बढाउन लगानी थपेका छन् ।
दुई ग्रुपले कच्चा वस्तु क्लिङकर ग्रान्डिङबाट सिमेन्ट उत्पादन बढाउन थप ५ अर्ब ६२ करोड २० लाख रुपैयाँ लगानी गरेका हुन् । जसअनुसार ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ ऋण र बाँकी १ अर्ब ६८ करोड ७० लाख रुपैयाँ राठी र गोयल ग्रुपको स्वपुँजी लगानी रहेको छ । जसअनुसार ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ ।
क्षमता विस्तारपछि उद्योगको क्लिङ्कर उत्पादन क्षमता दैनिक ३ हजार ३०० टन र सिमेन्ट उत्पादन बढेर ४ हजार टन पुग्ने मारुतीले जानकारी दिएको छ । हाल उद्योगको क्लिङ्कर उत्पादन क्षमता दैनिक १५०० टन र सिमेन्ट २ हजार टन छ ।
आउँदो कात्तिकसम्म उद्योगको क्षमता विस्तारको काम सकिने भएको छ । गएको फागुनमा उत्पादन दोब्बर बनाउने उद्योगको तयारी भए पनि कोरोना महामारीले पछि धकेलिएको मारुतीले जनाएको छ ।
मारुतीको खुदनाफा ३६.३४ प्रतिशतले बढ्यो
मारुतीले सिमेन्ट र क्लिङकर बेचेर गत वर्ष ९७ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको छ । उद्योगले ९ महिनामा सिमेन्ट र क्लिङ्कर बेचेर २ अर्ब २६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२१ मा उद्योगको सिमेन्ट र क्लिङ्कर व्यापारमा २१.९० प्रतिशतले बढेर ६ अर्ब ८६ करोड ४० लाख रुपैयाँ पुगेको छ । सन् २०२० मा उद्योगले ५ अर्ब ६३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यस्तै कोरोना महामारी सुरु हुनुअघि उद्योगले ७ अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कोरोना महामारीले सन् २०२० मा व्यापार खच्किए पनि २०२१ मा सुधार आएको छ ।
मारुतीले मुख्य कच्चा पदार्थको रुपमा कोइला, चुनढुंगा, जिपसम, माटो र आइरन प्रयोग गर्दै आएको छ । कुल कच्चा पदार्थमा ६० प्रतिशत हिस्सा कोइलाको छ । उद्योगले दक्षिण अफ्रिकालगायत अन्य देशबाट आयात गरिरहेको छ ।
उद्योगले उदयपुरको कटारीमा रहेको जानकी खोलाको चुनढुङ्गा उत्खनन गर्दै आएको छ । सो क्षेत्रबाट १४ लाख मेट्रिकटन चुनढुङ्गा उत्खनन हुने अनुमान गरेको छ । सो चुनढुङ्गा खानीबाट ३ दशकसम्मका लागि क्लिङ्कर उत्पादन गर्न पुग्ने मारुतीले जनाएको छ ।
कम्पनीले क्लिङ्करसँगै ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको देशभर नारायणघाटदेखि काँकडभिट्टासम्म २ सय डिलर छ । कम्पनीले मारुती ब्रान्डमा सिमेन्ट उत्पादन गरिरहेको छ ।
उद्योगले ५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ ऋणका लागि रेटिङ गरेको छ । मारुती सिमेन्टको स्थापना सन् १९९४ मा भएको हो । उद्योगको अध्यक्षमा नन्दकिशोर राठी र प्रवन्ध निर्देशकमा सुनिल खेम्का छन् । सन् २००५ मा राठी र गोयल समूहले उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योग सिरहाको मिर्चैयामा छ ।