काठमाडौं । कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउन र आत्मनिर्भर बनाउने उद्देश्यका साथ बागमती प्रदेशले किसानहरूलाई अफरै अफर दिएको छ । उत्पादन भएका उत्पादित वस्तुले बजार नपाएको गुनासो किसानले गरिरहेको बेला बागमती प्रदेशले कृषि उत्पादनमा प्रोत्साहन गर्न भन्दै नगद अनुदानको अफर ल्याएको हो ।
प्रदेशले ल्याएको आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत किसानलाई नगद अनुदानको विषय ल्याएको हो । जसअनुसार अहिले कृषि तथा पशुपन्छी मन्त्रालय र आर्थिक मामिला मन्त्रालय तथा योजना मन्त्रालयले आवश्यक कार्यविधि बनाइरहेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले व्यावसायिक कृषिमा आकर्षण बढाउन नगद अनुदानसहित सस्तो ब्याजमा ऋण दिने व्यवस्था गरिएको जानकारी दिए ।
नगद अनुदान दिँदा वास्तविक कृषकहरू बञ्चित हुने भएकाले ३ प्रतिशत ब्याजमा ऋण दिनका लागि प्रदेशले बजेट विनियोजन गरेको उनको भनाइ छ । लगानी अभावकै कारण कृषि पेसाबाट पलायन हुन नदिन र नयाँ प्रविधि कृषिमा ल्याउन सहुलियत दरको ऋण दिन लागेको उनले बताए । गाउँ–गाउँमा कृषि सहकारीमार्फत किसानहरूलाई सहुलियत दरमा ऋण दिने प्रदेशको योजना छ ।
योसँगै कृषिलाई व्यवसायीकरण बनाउन नगद अनुदानलाई पनि अगाडि बढाएको छ । यो वर्षको बजेटमा लसुन, प्याज र अदुवा बिक्री गरेबापत प्रतिकिलो २ रुपैयाँ क्यासब्याक दिनका लागि समेत बजेट विनियोजन गरेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । त्यसका लागि न्यूनतम १० क्वीन्टल उत्पादन गर्नुपर्ने छ । र, बिक्रीको आधारमा प्रोत्साहनका लागि प्रतिकिलो २/२ रुपैयाँ रकम सम्बन्धित किसानको खातामा हाल्ने व्यवस्था गर्न लागेको उनले बताए ।
कृषि तथा पशुपन्छी मन्त्रालय, बागमती प्रदेशका प्रवक्ता झलकनाथ कँडेलले लसुन, प्याज र अदुवा बिक्रीबापत क्यासब्याक दिनका लागि बजेटमा रकम विनियोजन भएको जानकारी दिए । क्यासब्याकका लागि मन्त्रालयले ३ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । रकम वितरणका लागि आवश्यक कार्यविधि अन्तिम चरणमा पुगेको प्रवक्ता कँडेलको भनाइ छ । अबको केही साताभित्रै कार्यविधि पारित गरेर कार्यान्वयनमा लैजाने तयारीमा मन्त्रालय लागेको छ ।
कार्यविधिमा कृषकहरू कसरी छनोट हुने, कतिसम्म उत्पादन, बिक्री गरेकाहरूलाई दिने र कुन निकायबाट रकम दिने भन्ने निश्चित हुनेछ । मन्त्रालयका प्रवक्ता कँडेलले कार्यविधि तयार भएर अन्तिम चरणमा पुगेको र आर्थिक मामिला मन्त्रालय तथा योजना मन्त्रालयले सहमति गरेपछि स्वीकृति हुनेछ ।
३ प्रतिशत ब्याजमा कृषि कर्जा
बागमती प्रदेशले कृषकहरूलाई ३ प्रतिशत ब्याजमा ऋण दिनका लागि आवश्यक कार्यविधि अन्तिम चरणमा पुर्याएको छ । आर्थिक मामिला मन्त्रालय तथा योजना मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले भदौदेखि ऋण प्रवाह गर्ने गरी कार्यविधिलाई अन्तिम रूप दिन लागेको जानकारी दिइन् । किसानहरूलाई सस्तो ब्याजको ऋण कृषि विकास बैंक र साना किसान लघुवित्तमार्फत प्रवाह गरिने बताइन् ।
१० लाखसम्म पाइन्छ ऋण
मन्त्रालयका अनुसार कृषि विकास बैंकबाट १० लाख रुपैयाँ र साना किसान तथा लघुवित्तबाट ५ लाख रुपैयाँ लिन पाइन्छ । यस्तो कर्जा आर्थिक वर्ष ०७७/७८ मा साना किसान लघुवित्तबाट २ हजार १६२ र कृषि विकास बैंकबाट ६ सय २ जनाले सहुलियत ऋण लिएका छन् । यस्तै आर्थिक वर्ष ०७८/७९ मा कृषि विकास बैंकबाट २८४ र साना कृषि तथा लघु वित्तबाट ३ हजार १५३ जनाले ऋण लिएको मन्त्रालयको भनाइ छ ।
सहकारीमार्फत दूध उत्पादक किसानलाई क्यासब्याक
डेरिमा लगेर दूध बिक्री गर्ने कृषकहरूलाई सहकारीमार्फत प्रतिलिटर २ रुपैयाँ क्यासब्याक पाउने छन् । कृषि मन्त्रालयले विभिन्न दुग्ध सहकारीमार्फत किसानलाई दूध बिक्रीको आधारमा रकम खातामा सहकारीले रकम जम्मा गर्ने छ । मन्त्रालयले सहकारीको खातामा रकम जम्मा गरिदिने र सहकारीले किसानको खातामा दिने गरी कार्यविधि तयार भएको कृषि मन्त्रालयका प्रवक्ता कँडेलको भनाइ छ ।
प्रदेशभित्रका १३ वटै जिल्लामा दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान प्रणालीलाई निरन्तरता दिँदै वित्तीय संस्थामार्फत दूध उत्पादक कृषकहरूको बैंक खातामा सोझै रकम जम्मा हुने गरी १६ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।