काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाज (सिज नेपाल) को प्रथम साधारणसभा तथा अधिवेशनले जीवनकुमार बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको मंगलबार भएको प्रथम साधारणसभा तथा अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष बस्नेत नेपाल पूर्वाधार डट कमका कार्यरत छन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा अन्नपूर्ण पोष्टकी सुनिता कार्की, सचिवमा नागरिक दैनिकका हिमाल लम्साल, सहसचिवमा आर्थिक अभियान दैनिकका हिमा बिक र कोषाध्यक्षमा बिजमाण्डु डटकमका दिनेश खड्का सर्वसम्मत निर्वाचित भएका हुन् ।
सदस्यहरुमा कान्तिपुर दैनिकका विमल खतिवडा, कारोबार दैनिकका दीपेन्द्र थापा, राष्ट्रिय समाचार समितिका संचिता घिमिरे रहेका छन्। त्यस्तै अर्थ टेलिभिजनका प्रशन्न ढुंगाना, नेपाल टेलिभिजनका विष्णु परियार र क्यापिटल नेपाल डटकमकी शर्मिला न्यौपाने रहेका छन्। सो कार्यसमिति आगामी २ वर्षको लागि निर्वाचित भएको हो ।
प्रथम साधारणसभाको उद्घाटन सत्रमा निर्वाचन समितिका संयोजक भीमप्रसाद गौतमले आर्थिक समृद्धिको लागि पूर्वाधार क्षेत्रको विकास अपरिहार्य भएको बताए।
‘मुलुकलाई समृद्धिको बाटोमा लैजान पूर्वाधार क्षेत्रको रिपोर्टिङ अझै गहन र तथ्यपरक रुपमा हुनुपर्छ’ उनले भने। उनले पूर्वाधार रिपोर्टिङ धेरै प्राविधिक विषय भएकाले पत्रकार आफैले पनि गहन अध्ययन गरेर समाचार संकलन तथा सम्प्रेषण गर्न आवश्यक भएकोमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष बस्नेतले संस्थाले पूर्वाधार पत्रकारहरुको क्षमता अभिवृद्धिका कामलाई अघि बढाउने बताएका छन्। ‘पूर्वाधार क्षेत्रको नीति निर्माणमा बहस पैरवी, पूर्वाधार आयोजना र कार्यक्रम कार्यान्वयनमा खवरदारी गरिनेछ’ अध्यक्ष बस्नेतले भने ।
साधारण सभामा हिमाल लम्सालले सचिवको प्रतिवेदन र दिनेश खड्काले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । यसअघि १८ माघ २०७८ मा नेपाल पूर्वाधार पत्रकार समाजको भेलाले बस्नेतकै नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।
संस्थाको विधानअनुसार ६ महिनाभित्रै प्रथम साधारणसभा गर्नुपर्ने व्यवस्थाअनुसार नयाँ कार्यसमिति चयन गरिएको हो। उक्त संस्था जिल्ला ंप्रशासन कार्यालय काठमाडौमा ११ फागुन २०७८ मा विधिवत रुपमा दर्ता भएको थियो ।