काठमाडौं । नेपालमै उत्पादन गर्ने गरी कोरियाले सामसङ टिभीको कारखाना नेपालमा खोल्न लागेको छ । नेपालका लागि काेरियाका राजदूत पार्क चोङ सुकले सामसङ टिभीको नेपालमै उत्पादनका लागि आगामी भदौ ८ गते कारखाना उद्घाटन गर्न लागेकाे जानकारी दिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच शिष्टाचार भेटमा राजदूत सुकले कार्यक्रममा आतिथ्यताका लागि मन्त्री बडुलाई निम्ताे दिए । मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएकाे थियाे ।
यस्तै, राजदूत सुकले नेपाल र कोरियाबीचको कुटनीतिक सम्बन्धलाई हार्दिकतापूर्ण बनाउन कोरिया सरकार सधैं सकारात्मक रहेको बताए । उनले नेपालमा पूर्वाधार निर्माण, सूचना प्रविधिको विकास, ऊर्जा, हाइड्रोपावरका क्षेत्रमा कोरियाले लगानी गरिरहेको र नेपालको विकास प्राथमिकताका अरु क्षेत्रमा लगानी विस्तार गर्न तयार रहेको बताए ।
सुकले कोभिड–१९ का कारण रोकिएको एपीएस अब सहज बन्दै गएको जानकारी दिदै आफ्नो कार्यकालमा नेपाल र कोरियाबीचकाे आर्थिक व्यवसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने विश्वास दिलाए ।
त्यसैगरी भेटमा मन्त्री बडूले नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आगामी दिनमा द्विपक्षीय हितका विभिन्न क्षेत्रमा सहकार्यमार्फत सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सूचना प्रविधि र भौतिक पूर्वाधारको क्षेत्रमा दक्षिण कोरियाले पुर्याएको योगदानका लागि विशेष धन्यवाद व्यक्त गरे ।
नेपाल र कोरियाबीच सांस्कृतिक सम्बन्धका विविध आयाममा सहकार्य गर्ने गरी सन् २००५ मा सांस्कृतिक सम्झौता र नेपाली युवाहरुलाई कोरियामा सहज रोजगारीका लागि सन् २००७ मा इपीएस सम्झौता भएको स्मरण गर्नुहुँदै यसको कुशल कार्यान्यनबाट दुवै देशले अधिकतम् लाभ लिनुपर्ने बताए ।
त्यसैगरी उनले आगामी महिना नेपालमै उत्पादन गर्ने गरी कोरियाले सामसुङ टिभीको कारखाना खोल्न लागेको जानकारी पाउँदा निकै खुसी लागेको भन्दै ऊर्जा विकास, व्यापार सहजीकरण, पर्यटनलगायत सम्भावनाका विविध क्षेत्रमा लगानी अभिवृद्धिका लागि राजदूत पार्कको कार्यकालमा विशेष पहल हुने अपेक्षा गरेकाे बताए ।
उनले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउन र लगानीको सुरक्षाको वातावरण बनाउन सरकार सधैं प्रतिबद्ध रहेको पनि बताए ।
यसैगरी उनले संयुक्त राष्ट्र संघको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ मा अल्पविकसीत राष्ट्र (एलडीसी) बाट स्तरोन्नती हुन सिफारिस गरेकोले स्तरोन्नती हुने विषयलाई दीगो बनाउन गर्नुपर्ने सहयोग एवं सहकार्यका लागि आग्रह गरे ।