काठमाडौं । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सुविधा वाईकोले तजबिजमा उपलब्ध गराएसँगै आजित बनेका धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले आफ्नै टीएमएस राख्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धमाधम आवेदन दिन थालेका छन् ।
धितोपत्र बोर्डले जेठ ३० गते धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेसँगै ब्रोकरलाई आफ्नै टीएमएस राख्न बाटो खुलेको हो ।
नेप्सेका अनुसार हालसम्म ११ वटा ब्रोकर कम्पनीले आफ्नै टीएमएस प्रणाली राख्न पाऊँ भन्दै नेप्सेमा निवेदन हालेका छन् । यद्यपि, अहिलेसम्म नेप्सेले उनीहरुलाई अनुमति नदिएकाले वाईकोकै भर पर्नुपरेको ब्रोकरहरु बताउँछन् ।
नेपाल स्टक हाउस, एबीसी सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, दीपशिखा धितोपत्र कारोबार, डाइनामिक मनी म्यानेजर्स, भिभ सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक, सुन्धारा सेक्युरिटिज, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, श्वेता सेक्युरिटिज, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले आफ्नै टीएमएस राख्न नेप्सेमा आवदेन दिएका छन् ।
ब्रोकरहरुले बारम्बार वाईकोको सिस्टमबाट लगानीकर्ताको डेटा सुरक्षित नभएको, सम्पूर्ण डेटा कब्जामा रहेकाले त्यसको गलत तरिकाले प्रयोग भएको, निहीत स्वार्थ पूरा गर्न वाईकोको उच्च तहमा बसेका व्यक्तिले व्यक्तिगत डेटा लिक गरेको आरोप लगाइरहेका थिए ।
त्यति मात्रै होइन, वाईकोका उच्च अधिकारीसँग अनेकन तवरबाट सुमधुर सम्बन्ध बनाइराख्नेको सिस्टम स्मुथ हुने तर, सम्बन्ध कसिलो नबनाउनेको सिस्टम वाईकोले बारम्बार डाउन गरेर लगानीकर्तालाई आजित पारेको समेत आरोप ब्रोकरहरुले लगाएका थिए ।
त्यही आरोप लिएर ब्रोकरहरु नियामक धितोपत्र बोर्डसम्म पुगेपछि बोर्डले नियमावली बनाएर ब्रोकरहरुलाई पनि टीएमएस राख्न दिने व्यवस्था गरेको हो । त्यसलाई नेप्सेले कार्यान्वयन ल्याउन लागेको हो ।
ब्रोकर आफैंले टीएमएस राख्नेबित्तिकै लगानीकर्ताको सम्पूर्ण डेटासमेत ब्रोकरसँगै सुरक्षित हुन्छ । त्यसका अलवा ब्रोकरहरु लगानीकर्ताप्रति उत्तरदायी र जवाफदेही हुने हुँदा टीएमएसमा देखिने अहिलेको सम्पूर्ण समस्या हल हुने ब्रोकरहरुको विश्वास छ ।
ब्रोकरले नयाँ सिस्टम लागू गर्दा एक्युरेसी, सेक्रेसीलगायतमा ढुक्क हुने बताएका छन् । यद्यपि, इच्छुक ब्रोकरहरुले वाईको सिस्टम पनि चलाउन पाउने छन् ।
नयाँ सिस्टमलाई जसरी बोर्डले एप्रभु गरेको छ, त्यसैगरी वाईको सिस्टम पनि सञ्चालन गर्न सक्ने व्यवस्था गरेकाले दुवै सिस्टम चल्न सक्छन् ।
बोर्डमा रमेश हमाल अध्यक्ष भएर आएपछि ब्रोकर आफैंलाई नयाँ सिस्टम राख्न दिने गरी गृहकार्यमा लागेका थिए ।
एकाधिकार हुँदा सेवाको गुणस्तर पनि खस्किने र उसको मनमौजी चल्ने भएकाले ब्रोकरलाई पनि टीएमएस राख्न दिने र वाईकोको सिस्टम पनि चलाउन मिल्ने गरी हमालले कानुन ल्याएका थिए ।
तर, बोर्डले कानुन पास गरेको दुई महिना बितिसक्दा पनि नेप्सेले अहिलेसम्म बोर्डको निर्णयलाई कार्यान्वयन गर्न सकेको छैन । बोर्डका अध्यक्ष हमालले नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकरलाई नयाँ सिस्टम राख्ने व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न पटकपटक निर्देशन दिए पनि अहिलेसम्म निष्कर्षमा पुगेको छैन ।
ब्रोकरले नयाँ टीएमएस राखेपछि के हुन्छ ?
ब्रोकरले नयाँ सिस्टमका लागि अनुमति नपाउँदासम्म डेटा सेन्टर वाईकोसँगै हुन्छ । तर, जब ब्रोकरले नयाँ सिस्टम राख्न नेप्सेबाट अनुमति पाउँछन्, त्यसपछि सम्पूर्ण लगानीकर्ताको डेट ब्रोकरसँगै हुन्छ । त्यसो हुँदा उनीहरुले गोप्य विवरण अन्यत्र दिँदैनन् ।
कारण, लगानीकर्ता ब्रोकरलाई आम्दानी गरिदिने व्यक्ति हुन् । लगानीकर्ता रिसाएर अन्यत्र जानु भनेको ब्रोकरको आम्दानीमा ठूलो असर पर्नु हो । सोही कारण पनि ब्रोकरसँग उनीहरुको विवरण वाईकोको तुलनामा सुरक्षित हुन सक्छ ।
ब्रोकरलाई नयाँ सिस्टम राख्न दिएपछि हालको टीएमएसमा देखिएको समस्यासमेत सधैंका अन्त्य हुने लगानीकर्ता बताउँछन् ।
‘अहिले वाईकोको सिस्टम प्रयोग भइरहेको छ । कुन बेला डाउन हुन्छ थाहै हुँदैन,’ एक लगानीकर्ताले भने, ‘तर, ब्रोकरलाई नै उक्त सुविधा दिएपछि सिस्टमलाई जहिले पनि चुस्तदुरुस्त राख्नुपर्ने दबाब हुन्छ । सेवा पनि उच्चकोटीको दिनुपर्ने बाध्यता आइलाग्छ ।’