काठमाडौं । सार्वजनिक निजी साझेदारीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको समय फेरि थपिएको छ । नयाँ संशोधित तालिका अनुसार आयोजना सम्पन्न हुने मिति २०७९ चैतमा पुगेको छ ।
यसअघि आउँदो पुससम्म बिजुली उत्पादन गर्ने लक्ष्य विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको थियो । आयोजनाको समय ३ महिना थप भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । वित्तीय विवरणअनुसार हालसम्म आयोजनाको ८९ प्रतिशत काम सकिएको छ । अब ११ प्रतिशत काम सक्न बाँकी छ ।
यसअघि २०७९ असारदेखि बिजुली उत्पादन गर्ने लक्ष्य घर्किएपछि ६ महिना समय थपेर पुसमा पुर्याइएको थियो । पुसमा पनि संभव नभएपछि फेरि ३ महिना थपेर चैतमा पुर्याइएको छ । आयोजना २०७६ को फागुन ७ गते सक्ने लक्ष्य लिइएको थियो । चालू आर्थिक वर्षको बजेटमा सरकारले रसुवागढीलाई यो वर्ष आउने आयोजनाको सूचीमा राखेको छ ।
समय थपिँदै जाँदा आयोजनाको लागत बढेर ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ । यसअघि निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधारमानी आयोजना निर्माण सुरु भएको थियो ।
आयोजनाको लागत ३ अर्ब ३३ करोड रुपैयाँ बढेको छ । समय थपिएको र डलरको भाउ बढेकाले लागत अझै थप हुने अनुमान आयोजनाको छ ।
विनासकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारी, भोटेकोसी नदीमा आएको ठूलो बाढीले क्षति पुर्याउनुका साथै केही प्राविधिक समस्याले आयोजनाको समय थप भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी, बाढीका साथै कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो लहरले गर्दा आयोजनामा ढिलाइ हुन गएको कम्पनीको दाबी छ ।
यसअघि नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्दा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधार मानेर कर्मचारी सञ्चय कोषबाट ऋण लगानी र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिएको थियो । २०७८ असारमा सकिने अनुमानका आधारमा यो लगात रकम थप हुने भएको हो ।
सञ्चय कोषले आयोजनासँग ९.७५ प्रतिशत ब्याज लिँदै आएको छ । प्रत्येक ३ महिनामा ब्याज साँवामा पुँजीकरण हुँदै आएको कम्पनीले जनाएको छ ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ । बिजुली बिक्रीबाट रसुवागढी हाइड्रोपावरले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने छ । कम्पनीको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ ।
सन् २०१४ देखि निर्माण सुरु भएको रसुवागढी आयोजनाको ४ हजार १८५ मिटर सुरुङ २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको छ । आयोजनाको निर्माण ३ लटमा भएको छ । पहिलो सुरुङलगायतका हाइड्रोमेकानिकल संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) रहेको छ ।
दोस्रो लटमा इलेक्ट्रोमेकानिकल उपकरणको काम भारतको भ्वाइथ हाइड्रो र प्रसारण लाइनको काम नेपाली कम्पनी मुडभरी एन्ड जोशीले गर्दै आएकोमा उसले काम गर्न नसकेपछि ठेक्का तोडिएको कम्पनीले जनाएको छ । ठेक्का तोडिएपछि कम्पनीले पुनः बोलपत्र आह्रवान गरेको छ । यसले गर्दा पनि आयोजनाको काम प्रभावित हुने संभावना बढेको छ ।
यसअघि २०७६ फागुन ७ गते आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । महामारीले गर्दा बढाएर आउँदो असारसम्म कार्यतालिका तयार पारिएको थियो ।
रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान हुने छन । आयोजना नेपाल चीन सीमानजिक रसुवागढीमा पर्छ ।