बीबीसी । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको देशमध्ये पर्ने बंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
उसले तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको बताएको छ। दक्षिण एशियाको यो अर्को देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने देखिएको बेला हजारौँ मानिसहरू सडकमा प्रदर्शन गरिरहेका छन्।
तरकारी बोक्ने आफ्नो ट्रकका लागि पेट्रोल भर्न लाम लागेका मोहम्मद नुरुल इस्लाम आफूले सडकमा माग्नुपर्ने हो कि भनेर डर लागेको बताउँछन्।
बंगलादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका (नेपाली रुपैयाँ ११५.२९) प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका (नेपाली रुपैयाँ १७४.२७) पुगेको छ। डिजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको छ।
निरन्तर उकालो लागेको इन्धनको मूल्यले नौ वर्षदेखि एउटा परिवहन कम्पनीमा काम गरिरहेका मोहम्मदलाई दैनिक जीविकोपार्जन गर्न कठिन बनाइदिइएको छ।
मोहम्मद नुरुल इस्लामले आफ्ना आमाबुवा र सन्तानको पालनपोषण गर्नुपर्छ । रोजगारी गुम्यो भने मैले सडकमा माग्न थाल्नुपर्ने हुन्छ ।
उत्तरी सहर दिनाजपुरमा बस्ने ३५ वर्षीय मोहम्मद आफ्नो गृहनगरबाट ताजा तरकारी राजधानी ढाकासम्म लैजान्छन्।
उनका दुईवटा साना नानीहरू छन् र उनले आफ्ना आमाबुवाको पनि हेरचाह गर्नुपर्छ। तर तेलको मूल्य बढेसँगै उनका साहुहरूले उनलाई तलव पूरा दिन सकिरहेका छैनन्।
उनले भने, “बजार गएको बेला म आफ्नो परिवारलाई चाहिने पर्याप्त खानेकुरा किन्न सक्दिनँ। यदि इन्धनको मूल्य यसरी नै बढिरह्यो भने म आमाबुवालाई पाल्न र बच्चाहरूलाई विद्यालय पठाउन सक्दिनँ। मेरो रोजगारी गुम्यो भने मैले सडकमा माग्न थाल्नुपर्ने हुन्छ।”
झन्डै १६ करोड ८० लाख जनसङ्ख्या रहेको बंगलादेशमा अरू धेरै मानिसहरूले यस्तै समस्या भोगिरहेका छन्।
के भन्छ सरकार
अरू धेरै देशजस्तै रुसले युक्रेनमा अतिक्रमण गरेयता विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बाङ्ग्लादेश पनि प्रभावित भयो।
“हामीलाई थाहा छ मूल्यवृद्धि ठूलो हो तर विदेशमा नै इन्धनको मूल्य बढेपछि हामी के गर्न सक्छौँरु” बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदले बीबीसी बाङ्ग्लासँग भने।
सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप अस्वीकार गर्दै उनले भने विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको बताए।“यदि निश्चित बिन्दुमा विश्वव्यापी मूल्य कम भयो भने हामी केही सम्बोधन गर्ने प्रयास गर्नेछौँ।”
बढ्दो आक्रोश
गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए। श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो।त्यहाँ छिटपुट प्रदर्शनहरू भइरहेका छन् तर आक्रोश र आवेगको भावना बढिरहेको छ।
नसरुल हमिद आफ्नो देशले श्रीलङ्काको जस्तो अवस्था भोग्नु नपर्ने विश्वास गर्छन्। तर बंगलादेशमा विदेशी मुद्राको सञ्चिति कम भइरहेको छ।
विश्वकै द्रुत गतिमा अर्थतन्त्र वृद्धि भइरहको भन्दै प्रशंसा पाएको बंगलादेश गएको जुलाईमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने श्रीलङ्का र पाकिस्तानपछि तेस्रो दक्षिण एसियाली देश बनेको थियो।
पेट पाल्नै कठिन
दिनाजपुरका विकट भेगहरूमा पनि यस्तै पीडा सुनिन्छन्। शेउली हाज्दा धान उत्पादन हुने फूलबारी जिल्लामा रहेका खेतहरूमा काम गर्छिन्।उनले आफैँले खेतमा लगाएका अन्न आफूले किन्न नसक्ने बताइन्। “अकस्मात् इन्धनको मूल्यमा वृद्धि भएसँगै खेती गर्नुको लागत एकदमै महँगो भएको छ।”
“हाम्रो तलबले हाम्रो गुजारा पनि चल्दैन। सबै कुरा एकदमै महँगो भएको छ। हामी हाम्रा बच्चाहरूलाई खुवाउन पुग्ने पर्याप्त खाद्यान्न पनि किन्न सक्दैनौँ।” जीवनयापनको खर्च बढिरहँदा शेउलीजस्ता मानिसहरू आफ्नो आम्दानीको कुनै मूल्य नरहेको बताउँछन्।