काठमाडौं । चालू आर्थिक वर्ष ०७९/०८० मा राष्ट्रिय गौरवका २ वटा मुख्य आयोजना मध्यपहाडी (पुष्पलाल) र हुलाकी राजमार्ग निर्माणको म्याद सकिँदैछ ।
म्याद सकिनै लागेका उक्त दुवै राजमार्गलाई अबको १ वर्षमा ३५ प्रतिशतभन्दा बढी काम गर्नुपर्ने चुनौती छ । औसतमा ६५ प्रतिशत भौतिक प्रगति हुँदा कुल १ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ ।
मध्यपहाडी र हुलाकी दुवै राजमार्गले नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न भागलाई जोड्ने छ । तर, निर्माणको समयावधि सकिने मिति नजिकिँदै गर्दा दुवै राजमार्गले आयोजना निर्माण सम्पन्न गर्न नसक्ने जनाएका छन् ।
मध्यपहाडी राजमार्ग
आर्थिक वर्ष ०६४/०६५ देखि निर्माण सुरु भएको मध्यपहाडी राजमार्गको भौतिक प्रगति २०७९ असार समान्तसम्म ६४.१६ प्रतिशत छ। संशोधनसहित ८४ अर्ब ३३ करोड रुपैयाँ लगात अनुमान गरिएकोमा ५८ अर्ब ८५ करोड रुपैयाँ अर्थात् ६९.७९ प्रतिशत रकम खर्च भएको अयोजनाले जनाएको छ ।
कुल १८ सय ७९ किलोमिटर लम्बाइको सो राजमार्गमा आयोजना स्वयंले ७९७ किलोमिटर अन्य निकायले ४६२ किमि गरी १२ सय ५९ किलोमिटर कालोपत्रे भएको छ । त्यस्तै ४१५ किमि सडक निर्माणाधीन छ भने २०५ किमि ठेक्का लाग्नै बाँकी छ ।
मध्यपहाडी राजमार्गमा १३७ वटा मोटोरेबल पुनः निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । जसमध्ये हालसम्म ९३ वटा पूर्णरुपले सम्पन्न भएका छन् भने २५ वटा निर्माणाधीन र १९ वटा पुलको ठेक्का व्यवस्थापन हुनै बाँकी रहेको सडक विभागको तथ्यांकमा उल्लेख छ ।
समग्र प्रगतिसँगै मध्यपहाडी राजमार्गको आर्थिक ०७८/०७९ को प्रगति पनि कम देखिएको छ । आव २०७८/०७९ मा ३४० किमि सडक कालोपत्रे गर्ने लक्ष्य राखेको सो आयोजनाले १ सय ४६ किमि मात्रै कालोपत्रे गरेको छ । त्यस्तै २४ वटा पुल निर्माण गर्ने लक्ष्यमा ३ वटा मात्रै सम्पन्न गरेको छ ।
यसरी हेर्दा आव ०७८/०७९ को मात्रै भौतिक प्रगति ६०.२५ प्रतिशतमा सीमित भएको छ । तर, वित्तीय प्रगति भने भौतिक प्रगतिको तुलनामा उल्लेख्य देखिन्छ ।
संशोधनसहित ६ अर्ब ७१ करोड ३७ लाख बजेट विनियोजन भएकोमा आव २०७८/०७९ मा ५ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ अर्थात् ८२.१४ प्रतिशत खर्च भएको हो ।
हुलाकी राजमार्ग
कुल लम्बाइ १७ सय ९२ किमि रहको हुलाकी राजमार्गको निर्माण सुरु आर्थिक वर्ष २०६६/०६७ बाट भएको हो । जसको भौतिक प्रगति २०७९ असार मसान्तसम्म ६१.१२ प्रतिशत भएको आयोजनाले जनाएको छ ।
त्यस्तै कुल लागत ६५ अर्ब २० करोड रुपैयाँ रहेको छ । हालसम्म अर्थात् ५२ अर्ब १८ करोड रुपैयाँ अर्थात कुल बजेटको ६१.१२ प्रतिशत बजेट खर्च भएको छ ।
सडकको कुल लम्बाइमध्ये ८ सय ९१ किमि कालोपत्रे सम्पन्न भएको, २ सय ५० किमि ठेक्का सम्झौता हुन बाँकी रहेको र बाँकी सडक निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग आयोजनाका निर्देशक धर्मेन्द्र झा बताउँछन् । तर, सडक विभागले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनमा भने ४ सय ७० किमि सडक निर्माणाधीन उल्लेख छ । सो तथ्यांकभन्दा बढी सडक निर्माणाधीन रहेको आयोजना निर्देशक झाको भनाइ छ ।
हुलाकी राजमार्गको समग्र निर्माण कार्य सुस्त भए पनि आव २०७८/०७९ मा भने वार्षिक लक्ष्यको ९१ प्रतिशत पूरा गरेको छ । त्यस्तै आव २०७८/०७९ को लागि हुलाकीले प्राप्त गरेको ८ अर्ब २३ करोड ३ लाख रुपैयाँ मध्ये ७ अर्ब २४ करोड ६२ लाख रुपैयाँ अर्थात् ८७.९७ प्रतिशत खर्च भएको बताइएको छ ।
कहिलेसम्म आयोजनाको म्याद थप हुन्छ ?
मध्यपहाडी र हुलाकी राजमार्ग दुवै आयोजना निर्देशकहरु चालू आर्थिक वर्षमा निर्माणकार्य सम्पन्न नहुने बताउँछन् । मध्यपहाडी राजमार्गका आयोजना निर्देशक हरिकुमार पोखरेलले निर्माणको म्याद थप्ने तयारी रहेको बताए ।
तर, कति वर्ष आयोजनको म्याद थप हुन्छ भन्ने निश्चित नभएको उनको भनाइ छ । क्यापिटल नेपालसँग कुरा गर्दै निर्देशक पोखरेलले भने, ‘आयोजनाको म्याद थप्न छलफल भइरहेको छ तर, कहिलेसम्म म्याद थप हुन्छ भन्ने निश्चित भएको छैन ।’
हुलाकी राजमार्ग आयोजनाका निर्देशक धर्मेन्द्र झा भने चालू आर्थिक वर्षमा आयोजनाको म्याद सकिए पनि कोरोनाका कारण निर्माण कार्यमा बाधा परेकाले २ वर्ष समय नियमअनुसार नै थपिने बताउँछन् । ‘२ वर्ष समय थपिएर आर्थिक वर्ष २०८१/०८२ सम्म हुन्छ,’ निर्देशक झाले भने ।
आयोजमा निर्माणमा समस्या के छ ?
हुलाकी राजमार्गमा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रका कारण निर्माण कार्यमा बाधा पुगेको बताइएको छ । सोही कारण २ सय ५० किमि ठेक्का सम्झौता गर्न नसकिएको आयोजनाले जनाएको छ ।
मध्यपहाडी राजमार्गले भने सडकको रेखांकन नै परिवर्तन हुँदा कामा बाधा परेको जनाएको छ । पोखरा क्षेत्रमा सडकको रेखांकन परिवर्तन भई नयाँ रेखांकनको अध्ययन भइरहेको आयोजना निर्देशक पोखरेलले बताए ।