काठमाडौं । लगानीयोग्य रकम (तरलता) अभावको बहाना बनाएर बैंकहरुले ऋणीसँग जथाभावी प्रिमियम असुलिरहेका छन् । बैंकहरुले नयाँ ऋण तथा पुरानो ऋण नवीकरण गर्दा प्रिमियम ७.६ प्रतिशतसम्म लिने गरेका छन् ।
नेपाल राष्ट्र बैंकको मौनतापछि बैंकहरु चर्को प्रिमियम असुलेर वित्तीय विवरण बलियो बनाउन लागेको ऋणीहरुको गुनासो छ ।
‘कुन बैंकले कति प्रिमियम लिएको छ ? ऋण नवीकरण गर्दा अत्यधिक प्रिमियम लिएको छ कि, नयाँ ऋण लिँदा ? केन्द्रीय बैंकले अनुगमन तथा निगरानी नगर्दा बैंकहरुको आत्मबल उच्च भएको हो,’ एक ऋणीले भने, ‘अहिले लगानीयोग्य रकम अभाव बैंकहरुलाई प्रिमियम बढाउने सबैभन्दा बलियो आधार भएको छ । उनीहरुले भनेअनुसार प्रिमियम तिर्न तयार भएमा ऋण पाइन्छ, नत्र पाइँदैन ।’
नयाँको हकमा यो समस्या छ भने पुरानो ऋणको हकमा छुट्टै व्यथा भएको उनीहरु बताउँछन् । ‘अर्बौं रुपैयाँ ऋण हुन्छ । ऋण प्रत्येक वर्ष नवीकरण हुन्छ । नवीकरण गर्ने बेला कि उनीहरुले तिर्न भनेको प्रिमियम तिर्नुपर्यो कि ऋण चुक्ता गनुपर्याे,’ एक उद्योगीले भने, ‘अर्बौं रुपैयाँ तिर्न सक्ने तागत हुँदैन । बाध्य भएर बैंकले तोकेको प्रिमियम तिर्छु भनेर हस्ताक्षर गर्नुको विकल्प हुँदैन ।’
यसमा केन्द्रीय बैंकको पनि मिलेमतो रहेको व्यवसायीहरुको आरोप छ । राष्ट्र बैंकको मौन समर्थन नभई बैंकहरु जथाभावी प्रिमियम लिन सक्ने अवस्थामा पुग्दैनन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७.६ प्रतिशत प्रिमियम लिइरहेको छ । उसले नयाँ तथा पुराना दुवै ऋणमा कसेर प्रिमियम लिइरहेको हो । त्यसैगरी, नबिल बैंकले पनि ७ प्रतिशत प्रिमियम लिइरहेको छ । एनएमबी बैंकले ६ प्रतिशतसम्म प्रिमियम लिइरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले केन्द्रीय बैंकले प्रिमियमका सन्दर्भमा खासै चासो नदिएको बताए । ‘अहिले ७÷८ प्रतिशतसम्म प्रिमियम लिएको भन्ने सुन्नमा आएको छ,’ श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘केन्द्रीय बैंकले यतातिर पनि आफ्नो संयन्त्रलाई खटाएर अनुगमन गराउनुपर्ने हुन्छ ।’
उनका अनुसार जथाभावी प्रिमियम लिँदा अहिलेको अवस्थामा ऋणी थप मारमा पर्न सक्छ । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सबै क्षेत्रमा केन्द्रीय बैंकले अनुगमन गर्न नसक्ने बताए ।
‘बैंकरहरु आफैं इमान्दार बन्नुपर्दैन ?,’ उनले प्रश्न गरे, ‘मनमौजी रुपमा प्रिमियम लिन हुँदैन भन्ने जान्दाजान्दै लिन्छन् भने केन्द्रीय बैंकलाई हेपेको हो ।’
‘केन्द्रीय बैंकले प्रिमियमलाई लिएर अनुगमन गरेको छैन भन्दैमा जति पनि लिने ?,’ उनले प्रश्न गरे ।