काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ उच्च अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ५५.८८ अंकले बढेर २ हजार ६५.८९ बिन्दुमा पुगेको हो ।
आज २ हजार ७ बिन्दुमा खुलेको बजार उच्च अंकले बढेर २०६५.८९ बिन्दुमा पुगेर बन्द भएको छ । उच्च अंकले बढेको बजारमा करिब साढे दुई अर्बको कारोबार भएको छ । आज नेप्से उच्च बिन्दु २ हजार ६५ र न्यून २ हजार ४ बिन्दुमा समातेको थियो ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ । नेप्सेमा २ अर्ब ४३ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ७७ करोडको कारोबार भएको थियो ।
अघिल्लो ६ कारोबार दिन निरन्तर घटेको नेप्से परिसूचक बढ्न सफल भएको छ । अघिल्लो साता २१२३ बिन्दुबाट घट्न थालेको नेप्से २ हजार १० बिन्दुमा आएर पुनः माथि उक्लिन सफल भएको छ ।
आज नेप्सेमा २ सय १५ कम्पनीको ६० लाख २६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २ सय १५ कम्पनीमध्ये १ सय ८० कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेमा तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज नेप्सेमा श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिप्रपस फाइनान्स र राधी विद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यस्तै, रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ९.९९ प्रतिशत र गुराँस लघुवित्तको २.७० प्रतिशत र शिवम् सिमेन्टको २.१२ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।
आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक २१ करोड २ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।