काठमाडौं । पोखरेल परिवारले सञ्चालनमा ल्याएको दुई सिमेन्ट उद्योगको वार्षिक व्यापार पौने ४ अर्ब रुपैयाँ पुगेको छ ।
कृष्णप्रसाद पोखरेल र ताराप्रसाद पोखरेलको लगानीमा शुभश्री अग्नि सिमेन्ट उद्योग प्राइभेट लिमिटेड र अग्नि सिमेन्ट इन्डस्ट्रिजले एक वर्षमा ३ अर्ब ८२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेका हुन् ।
शुभश्रीको २ अर्ब ४६ करोड ७० लाख र अग्निको १ अर्ब ३५ करोड २० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेका उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । दुई उद्योगको ऋण ५ अर्ब ५२ करोड ३० लाख रुपैयाँ छ । शुभश्रीको मात्र ४ अर्ब ७१ करोड ८० लाख र अग्निको ५० करोड ५० लाख रुपैयाँ मात्र रहेको छ ।
शुभश्रीको सिमेन्ट व्यापार सन् २०२१ मा २८ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ७० लाख रुपैयाँ पुगेको छ । २०२० मा उद्योगले १ अर्ब ९३ करोड ३० लाख र सन् २०१९ मा २ अर्ब ३२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको शुभश्रीले जनाएको छ ।
सन् २०२० को तुलनामा २०२१ मा शुभश्रीको सञ्चालन आम्दानी ५४ करोड ४० लाख रुपैयाँ बढेको छ । वित्तीय विवरणअनुसार उद्योगको व्यापार बढ्दै गएको देखिन्छ । क्लिंकर र सिमेन्टको व्यापार बढेपछि उद्योगको सञ्चालन आम्दानी विस्तार भएको हो ।
सन् २०२२ को ९ महिनामा उद्योगको सिमेन्ट बिक्रीमा कमी आएको छ । शुभश्रीले ९ महिनामा २ अर्ब १ करोड रुपैयाँको मात्र व्यापार गरेको छ भने सिमेन्टको बिक्री बढ्ने सम्भावना रहेको छ । पीपीसी सिमेन्टको मूल्य घटेर गत वर्ष प्रतिबोरा ४३० देखि ५१८ रुपैयाँसम्म कारोबार भएको थियो । उद्योग प्यूठान ब्रान्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ ।
यस्तै, ओपीसी सिमेन्ट प्रतिबोरा ४ सय ९६ देखि ५ सय ७० रुपैयाँसम्म किनबेच भएको छ । सन् २०१३ मा स्थापना भएको शुभश्रीले सिमेन्ट उत्पादनका लागि चाहिने क्लिंकर उत्पादन गर्दै आएको छ । उद्योगको दैनिक क्लिंकर उत्पादन क्षमता ७ सय टन रहेको छ ।
उद्योगले कोइला, जिम्सनलगायत अन्य फलामजन्य वस्तुबाट क्लिंकर उत्पादन गर्दै आएको छ । उद्योगको दैनिक १२०० टन सिमेन्ट उत्पादन क्षमता छ । शुभश्रीले सिमेन्ट उत्पादन सन् २०१९ र क्लिंकर २०१७ देखि उत्पादन थालेको हो ।
उद्योगले खानी विभागबाट दुईवटा खानी सञ्चालनका लागि अनुमति पाएको छ । जसअनुसार प्यूठानमा ८६ लाख टन र दाङमा ४३ लाख टन खानी उत्खनन्को अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।
यी दुई खानीबाट उत्खनन हुने कच्चा वस्तुको प्रयोगबाट आउँदो ४६ वर्षसम्म दैनिक १२०० टन सिमेन्ट उत्पादन हुनेछ । उद्योगले ४ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । उद्योगको अध्यक्षमा कृष्णप्रसाद पोखरेल रहेका छन् । यस्तै प्रबन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल छन् ।
अग्नि सिमेन्टको कारोबार बढ्दै गएको छ । उद्योगले विभिन्न ब्रान्ड पीपीसी र ओपीसी सिमेन्ट बिक्रीबाट सन् २०२१ मा १ अर्ब ३५ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२० मा अग्निले १ अर्ब १३ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा उद्योगको आम्दानी ३ प्रतिशतले मात्र बढी हो । सन् २०१९ मा उद्योगको आम्दानी १ अर्ब ९७ करोड २० लाख रुपैयाँ थियो ।
कोरोना महामारीले सिमेन्ट बिक्री घटेपछि त्यसको असर व्यापारमा परेको हो । चालू आर्थिक वर्षको ९ महिनामा उद्योगले १ अर्ब १८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । परिमाणका आधारमा अग्नि सिमेन्टको बिक्री १७ प्रतिशतले बढेर वार्षिक १ लाख ४५ हजार ४ सय ९९ टन पुगेको छ ।
सन् २०२० मा १ लाख २४ हजार ४१७ टन सिमेन्ट बिक्री भएको थियो । अग्निले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको । अग्निले आफ्नो ग्राइडिङ युनिटमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ । यसको आफ्नै क्लिंकर एकाइ छैन ।
अग्निले अन्य सिमेन्ट उत्पादकहरुबाट क्लिंकर खरिद गर्ने र भारतबाट स्ल्याग र अन्य कच्चापदार्थ आयात गर्दै आएको छ । मुख्य कच्चा पदार्थका रूपमा क्लिंकर, स्ल्याग, फ्लाइस, जिप्सम कच्चा मालमा कम्पनीको बढी खर्च हुने गरेको छ ।
सन् २००७ मा स्थापना भएको अग्निले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ९ सय टन रहेको छ । दैनिक ६ सय टन रहेकामा सन २०१८ पछि ग्रान्डिङको क्षमता बढाएर दैनिक ९ सय टन पुगेको छ ।
एक दशकको अवधिमा कम्पनीले अग्नि, ओरियन्ट र त्रिदेव ब्रान्डको पीपीसी र अल्फा ओपीसी ब्रान्डको सिमेन्ट उत्पादन भइरहेको छ । ३१ जिल्लामा उद्योगको सिमेन्ट बिक्री हुने गरेको छ । उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । ताराप्रसाद पोखरेल उद्योगको प्रबन्ध सञ्चालक रहेका छन् ।
चारतारे होटल बुद्धस्टारमा लगानी
अग्नि र प्यूठान सिमेन्टमा लगानी गरेका पोखरेलले भैरहवामा तारे होटल निर्माण गरिरहेका छन् । अग्नि र शुभश्री अग्नि सिमेन्टका सञ्चालक पोखरेलले १ अर्ब ८९ करोड लगानीमा तारे होटल सञ्चालनमा ल्याउन लागेका हुन् । होटलको पूर्वाधार निर्माणको चरणमा रहेकाले आगामी सन् २०२५ मा सञ्चालनमा ल्याउन तयारी गरिएको छ । होटलमा ८० प्रतिशत बैंकबाट ऋण र बाँकी २० प्रतिशत पोखरेल परिवारले स्वपुँजी (इक्विटी) लगानी गरेका छन् ।
सुरुमा तीनतारे होटल प्रस्ताव गरिएकोमा पछि स्तरोन्नति गरी चारतारे बनाइएको छ । होटल बुद्धस्टार प्राइभेट लिमिटेडले सञ्चालन गर्ने सो होटलमा १२० वटा कोठा हुनेछन् । यसअघि होटल बनाउन ८७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
त्यस बेला ६५ करोड रुपैयाँ बैंकको ऋण लगानी र बाँकी स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको थियो । जसअनुसार ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहेको थियो ।