काठमाडौं । निरन्तर नोक्सानमा गएको नेपाल टेलिकमले गत आर्थिक वर्षमा नाफा गरेको छ ।
आर्थिक वर्ष ०७८/०७९ मा टेलिकमको नाफा १७.५४ प्रतिशतले बढेको छ । गत वर्ष कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ खुदनाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १२ करोड नाफा गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १ अर्ब १२ करोड रुपैयाँले बढी हो ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा बढे पनि पछिल्ला वर्षहरुमा कम्पनीको नाफा बढ्दै गइरहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ९४ करोड नाफा गरेको थियो ।
दुई वर्षअघि करिब १० अर्ब खुद नाफा गरेको कम्पनीको नाफा बढ्दै जानुपर्नेमा झन् घट्दै गइरहेको छ । कोभिडको समयमा व्यवसाय वृद्धि हुने कम्पनीमा टेलिकमसमेत पर्छ ।
कोभिडकालमा व्यवसायमा असर नपरेको टेलिकमले सेयरधनीलाई भने निराशा पार्दै गइरहेको छ । कम्पनीले लगानीकर्तालाई दिने लाभांश क्षमताले पनि कम्पनी व्यवसाय खुम्चिँदै गइरहेको देखिन्छ ।
पछिल्लो पाँच वर्षमा लाभांश क्षमतामा निरन्त गिरावट देखिएको छ । आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले सेयरधनीलाई ५५ प्रतिशत लाभांश दिएको थियो ।
कम्पनीले २०७४/७५ मा पनि ५५ प्रतिशत, २०७५/७६ मा ५४ प्रतिशत, २०७६/७७ मा ४० प्रतिशत, २०७७/७८ मा २० प्रतिशत लाभांश दिएको थियो ।
यसरी बर्सेनि टेलिकमले लाभांश क्षमतामा आएको गिरावटले लगानीकर्ता निराश बन्दै गइरहेका छन् ।
कम्पनीको आम्दानी ५.४४ प्रतिशत बढेर ३७ अर्ब ८८ करोड पुगेको छ भने अन्य आम्दानी २.५१ प्रतिशत बढेर ६ अर्ब ४३ करोड पुगेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी भने ५ प्रतिशत बढेर ४४ अर्ब ३२ करोड पुगेको छ ।
१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो ।
नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने केही घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ ।
गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ ।