काठमाडौं । सार्वजनिक निजी साझेदारीमा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको ५७.३ मेगावाट क्षमताका दुई आयोजनाबाट आउँदो चैतसम्म बिजुली उत्पादन हुने भएको छ ।
कम्पनीले निर्माण गरिरहेको १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना आउँदो कात्तिक र ४२.५ मेगावाटको सान्जेन २०७९ चैतभित्र सञ्चालनमा ल्याउने तयारी भएको छ । दुवै आयोजबाट चालू आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य सरकारले लिएको छ ।
यी दुवै आयोजना गत आर्थिक वर्षभित्रै सकिसक्ने लक्ष्य राखिएको थियो । चालू आर्थिक वर्षमा प्रणालीमा ८०० मेगावाट बिजुली थप गर्ने लक्ष्य नेपाल विद्युत् प्राधिकरणको छ ।
हालसम्मको प्रगतिअनुसार माथिल्लो सान्जेनको सिभिल निर्माणको काम ९९ प्रतिशत र समग्रमा ९५ प्रतिशत काम सकिएको छ । यस्तै सान्जेनको सिभिल निर्माण ८९.८० र समग्रमा ८६.५ प्रतिशत प्रगति भएको छ । कुनै अवरोध नभएमा निर्धारित समयमै दुवै आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ ।
हाल दुवै आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकललगायत अन्य उपकरण जडानको काममा जारी रहेको छ । यद्यपि अझै केही उपकरण आउन बाँकी रहेकाले निर्धारित मितिमा आयोजना सम्पन्न हुने संभावना कम देखिएको छ ।
चीनले रसुवागढी नाका बन्द गरेकाले चीनबाट उपकरण आयातमा समस्या परेको कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक ३२ करोड ४३ लाख ५ हजार युनिट बिजुली उत्पादन हुने छ ।
माथिल्लो सान्जेन २२० केभी चिलिमे हब प्रसारण लाइन सम्पन्न हुनुअघि आउने भएपछि तत्कालका लागि चिलिमे जलविद्युत कम्पनीको ३३ केभी प्रसारण लाइनबाट बिजुली प्रवाह हुनेछ । कन्टिन्जेन्सी व्यवस्थाअनुसार चिलिमे थम्बुचेतदेखि स्याफ्रुबेसीसम्म आफैंले प्रसारण लाइन निर्माण गरी बिजुली प्रसारण गर्ने योजना रहेको सान्जेनले जनाएको छ ।
यी आयोजना सम्पन्न गर्न निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर, निर्माणमा भएको ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । लागत कतिसम्म बढ्छ भन्ने कुरा विवरणमा उल्लेख गरिएको छैन । आयोजनामा कर्मचारी सञ्चय कोषको ऋण लगानी रहेको छ ।
कम्पनीका अनुसार सान्जेन निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेनका लागि २ अर्ब २१ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । आयोजनामा कर्मचारी सञ्चय कोषको ३ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । सञ्चय कोषको ब्याजदर ९.७५ प्रतिशत रहेको छ । प्रत्येक ३ महिनामा ब्याज पुँजीकरण हुँदै आएको छ ।
कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लावासीलाई १० प्रतिशत बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता सेयर जारी गरिसकेको छ ।
आयोजनाको निर्माण सन २०१३ बाट सुरू भएको हो । चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कुल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । सिम्बु तथा चिलिमे टारसमेतका दुई ठाउँमा छुट्टाछुट्टै विद्युतगृह पनि निर्माण भइसकेका छन् ।
कम्पनीको चुक्तापुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । सान्जेनमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६, नेपाल विद्युत् प्राधिकरणको १०.३६, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीयवासीको १०, सञ्चय कोषका सञ्चयकर्ताको १९.५ प्रतिशत लगानी रहेको छ ।
संस्थापक सेयरधनी तथा ऋणदाता संस्था कर्मचारीको ४.५ र रसुवाका जिल्ला समन्वय समिति र गाउँपालिकहरुको १.२८ प्रतिशत स्वामित्व रहेको छ ।