काठमाडौं । डेनमार्कको राजधानी कोपनहेगन । त्यही कोपनहेगनको मुटु बाउसभ्या, ड्रागोर, सोन्द्रे रूट हुँदै किओलिसको एउटा सार्वजनिक बस गुड्छ, २५०–एस ।
पहेंलो रङको उक्त बसको स्टेयरिङमा प्रायः एक जना महिलाको हात हुन्छ । निलो सर्ट, धर्के टाई, कम्पनीको लोगो अंकित कालो विनसिटर, कालै ब्याग बोकेर त्यहाँका चिल्ला सडकमा बस हाँक्ने उनी हुन्, सपना खड्का ।
करिब पाँच हजार नेपाली भएको देशमा खड्का पहिलो नेपाली महिला चालकसमेत हुन् । उनले २५०–एसबाहेक नरेपोर्ट हुँदै रिपार्केन, एमद्रुपभेज रूटमा १४ नम्बरको बस पनि चलाउँदै आइरहेकी छिन् ।
उनले डेनमार्कका सडकमा सार्वजनिक बस चलाउन थालेको एक वर्षभन्दा बढी भइसकेको छ । झट्ट सुन्दा सजिलोजस्तो लागे पनि सुनिएजस्तो सजिलो भने छैन । तर, कोसिस गर्दा नहुने भन्ने पनि त केही छैन फेरि ।
बेरोजगारीले दिएको अवसर
बागलुङ सिगाना घर भएकी खड्का सन् २०१६ मा डेनमार्क गइन् । त्यसअघि नै उनका श्रीमान् मोहन खड्का त्यहाँ पुगिसकेका थिए । गएको दुई वर्ष हाउसकिपिङ र अन्य सामान्य काममा अल्झिइन् ।
‘यता साना छोराछोरी नेपालै छोडेर गएकी थिएँ । सधैं छोड्ने कुरा भएन भनेर पछि लगे । त्यसपछिको दुई वर्ष बच्चाकै स्याहारसुसारमा गुज्रियो, काम नगरीकन बसें ।’तिनै छोराछोरीको भेकेसन पारेर सपरिवार नेपाल आएकी खड्काले भेटमा बेलीविस्तार लगाइन् ।
चाहे जोसुकै होस्, परदेशी भूमिमा सबैभन्दा पहिलो समस्या भनेको भाषा हो । खड्कालाई पनि सोही समस्या हुने नै भयो । समस्यालाई गहिरोसँग महसुस गरेकी उनले दुई वर्ष खाली बस्दा डेनिस भाषा सिकिन् ।
त्यसो त दुई वर्ष काम नगरे पनि सरकारले प्रदान गर्ने बेरोजगार भत्ता उनले मासिक रुपमा बुझिरहिन् । उक्त भत्ता पनि एक खालको इन्स्योरेन्सजस्तै रहेछ । पहिले कमाइ हुँदा निश्चित रकम आफूले तिर्ने र पछि नहुँदा सरकारले दिने ।
‘बेरोजगार भएको जानकारी त्यहाँस्थित सम्बन्धित निकायलाई गराएपछि सरकारले विभिन्न काम तथा तालिमका लागि पठाउँछ । मैलेचाहिँ भाषा सिकें,’ उनी भन्छिन्, ‘पहिले जाँदासाथ काममा बिजी थिएँ । पछि २०१९ मा सानो गाडीको लाइसेन्स पनि लिएँ ।’
तर, डेनमार्कमा दुई वर्षभन्दा बढी बेरोजगार भएर बस्न पाइँदैन रहेछ ।
बेरोजगार बसेको दुई वर्ष पुग्न लाग्दा खड्काको चिन्ता बढ्न थाल्यो । के गर्ने ? कसो गर्ने ? भयो ।
‘के काम खोज्ने भनेर हेर्न थालें । सधैं त्यही एउटै काम गरेर बस्न मन लागेन,’ उनी भन्छिन्, ‘यही सिलसिलामा अरुले बस चलाएको देख्दा मलाई पनि बस चलाउन पाए हुन्थ्योजस्तो लाग्यो । श्रीमान्ले पनि तिमीले सिक, राम्रो हुन्छ भनेर हौसला दिनुभयो ।’
यसरी जन्मियो सपनाको ड्राइभर बन्ने ‘सपना’ । तर, नेपालमा त उनले साइकल पनि सिकेकी थिइन् ।
सार्वजनिक बस चलाउने उनको सपनाले अब हाँगा हाल्न थाल्यो । र, सुरू भयो ड्राइभिङ कोर्स । तर, त्यसका लागि पहिले सानो गाडीको लाइसेन्स अनिवार्य हुन्थ्यो, जुन उनीसँग पहिले नै थियो ।
६ हप्ताको कोर्स । हप्तामा पाँच दिन पढ्नुपर्ने । प्राक्टिकल र थिअरीसहित १६ वटा क्लास हुन्थे । बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म, स्कुलमा झैं पढ्न कस्सिइन् उनी ।
‘अलिअलि बोले पनि डेनिस भाषा पूरै आउँदैनथ्यो । कति त बुझे पनि फर्काउन सक्दिनथें,’ अहिलेको सफलता दिलाउने त्यतिखेरको कष्टसाध्य पल सम्झिँदै भावुक बन्छिन् खड्का, ‘टिचरले पढाउँदा आधा बुझ्थें, आधा ट्रान्सलेट गर्थें ।’
ड्राइभिङ क्लास लिएको सुरूको २ हप्ता निकै गाह्रो भएछ । छोडौं कि भन्नेमा पनि पुगिछन् उनी । एक भाषा नजान्ने, अर्को गाडीको स्टेयरिङ समात्यो गाडी अर्कैतिर हिँड्ने । तर, श्रीमान्ले तिमीले आँट गर्यौ भने सक्छौ, अघि बढ, केटाकेटी म हेर्छु भनेपछि उनलाई ठूलो राहत भएछ ।
‘जसोतसो ६ हप्ताको कोर्स गरें । दुईवटा इक्जाम हुन्थ्यो थिअरीको । राम्रै भयो । पास गरें । प्राक्टिकलको पनि डेट कुरेर दिएको पास भएँ । एकदमै खुसी लाग्यो,’ यो सफलता सुनाइरहँदा उनको अनुहारमा खुसीको सञ्चार भइरहेको थियो ।
युरोपियन युनियनअन्तर्गतका अन्य देशहरुझैं डेनमार्क पनि सिस्टम भएको देश हो । सिस्टम र सरकार सही ढंगले चले भने त्यहाँका नागरिक र सरकार एक–अर्कामा उत्तरदायी बन्छन् । सरकार थियो, सिस्टम थियो र त खड्काले बेरोजगार भत्ता पाइन् । सरकारले नै उनीमाथि लगानी गरेर निःशुल्क ड्राइभिङ कोर्स गर्न सहजीकरण गरिदियो ।
पास भएपछि लाइसेन्स आयो र सँगसँगै आयो किओलिसको बस पनि ।
‘सुरूमा रूट देखाउन भनेर कम्पनीले पाँच दिनको टे«निङ दियो । ट्रेनिङ गराउनेसहित तीन जनालाई राखेर घुमाएँ । पछि जब एक्लै गाडी लिएर हिन्न थालें, सबै जिम्मेबारी आफ्नै टाउकोमा आयो । र, कन्फिडेन्स पनि बढ्यो,’ एकै सासमा सुनाइन् उनले ।
सुरूसुरूमा स्टेयरिङमा बस्दा उनलाई हल्का डरचाहिँ लाग्यो । पहिलो महिना त आत्तिइन् पनि । कहिले गाडी ढिलो हुने, कहिले के । यात्रुहरुले पनि ढिला हुँदा किन ढिला आयो ? भनेर सोध्थे । १० मिनेटभन्दा बढी ढिला हुने भए कम्पनीमा फोन गरेर जानकारी गराउनुपथ्र्यो । यसले उनलाई अलि प्रेसर पर्यो ।
गाह्रो–सजिलो
खड्काकै भनाइ अनुसार त्यही एउटा भाषाबाहेक अतिरिक्त समस्या भएन । कतिपय कुरा कोर्स पढ्दाखेरि सिस्टमको भित्रभित्रसम्म पुगेर नीतिनियमबारे थाहा पाउनुपर्ने हुन्थ्यो । त्यसले केही तनाव दिन्थ्यो । जबकि बस चलाउँदा त्यो आवश्यक परेन ।
बस मेसिनरी सामान हो । कहिलेकाहीँ बिग्रन्छ । समस्या आउँछ । त्यस्तो बेला पनि ड्राइभर अत्यासिनु पर्दैन । कुनै समस्या आयो भने कम्पनीमा एक कल गर्नासाथ मेकानिकहरु आउँछन्, बनाउँछन् । तर, कोर्स गर्ने बेलाचाहिँ मेकानिकको काम पनि आफैंले जान्ने गरी पढ्नुपर्छ ।
नेपालीदेखि स्थानीयको प्रशंसा
‘बसको स्टेयरिङमा मलाई देखेर त्यहाँका स्थानीयहरुले पनि राम्रो रेन्पोन्स गर्नुभयो । म अलि सानैजस्तो देखिएँ रे,’ हाँस्दै सुनाइन्, ‘डेनमार्कमा लगभग ५ हजार नेपाली छन् । सबैले मेरो पेसालाई राम्रै भनिरहनुभएको छ । त्यसमा म पहिलो महिला बस चालक पनि हुँ । यसले झन् मभित्र ऊर्जा थपेको छ ।’
झन्झटरहित पेसा
त्यहाँको बसमा हाम्रोतिरको जस्तो कन्डक्टर हुँदैन । ड्राइभरले नै टिकट काटेर दिन्छन् । दैनिक आवतजावत गर्नेहरुले कार्ड प्रयोग गर्छन् । बाँकी जोसँग कार्ड छैन, उनीहरुलाई मात्रै टिकट काटेर दिने हो । यस्तै कोही बिरामी, अपांग वा वृद्धवृद्धा रहेछन् भने मात्रै उनीहरुलाई झार्न ड्राइभर उठ्नुपर्छ । नत्र उठ्नु पनि पर्दैन ।
‘यात्रु बसमा चढ्दा ड्राइभरले चेक गर्नु पर्दैन । कार्ड हुनेले कार्ड देखाउँछन्, नहुनेले टिकट काट्छन्,’ त्यहाँको सार्वजनिक यातायात व्यवस्थाबारे उनी प्रस्ट्याउँछिन्, ‘यदि कोही बिनाकार्ड, बिनाटिकट चढ्छ भने पनि त्यसमा ड्राइभरको टाउको दुखाइ हुँदैन । बीचबीचमा चेकिङ हुन्छ । त्यति बेला पक्राउ परेको खण्डमा जरिवाना लाग्छ ।’
त्यहाँ र यहाँ
हरेक कुरा सिस्टमले चलेको देशको यातायात व्यवस्था, सडक र ड्राइभिङ सेक्टरसँग नेपालको तुलना नहुने खड्काको भनाइ छ । उनका अनुसार यहाँ बाटो काट्न पनि सकिँदैन । न गाडी, न पब्लिक, कसैले नियम पालना गर्दैनन् ।
जहाँबाट हुन्छ, बाटो काट्छन् । सवारीसाधन चलाइरहेकाहरुले पनि जेब्राक्रसबाट यात्रुले बाटो काटून् भन्दैनन्, उल्टै स्पिड बढाउँछन् । पैदल यात्रुका लागि जेब्राक्रस नै सुरक्षित छैन । रोकिँदै हिँड्दै गर्नुपर्छ । यसले सडकमा जाम बढाउनाका साथै दुर्घटना पनि निम्त्याउँछ ।
‘सडकको कुरा गर्दा सबैतिर उही हो । नेपालमा भौगोलिक बनावटले पनि त्यति साथ दिएको छैन । उता बलौटो माटो हुन्छ, एकचोटि ढलान गर्यो भने सितिमिति भत्किँदैन । कहीँ अलिकति भत्क्यो वा फाट्यो भने तत्काल मर्मत भइहाल्छ,’ त्यताको सडकबारे उनको भनाइ छ, ‘तर, यहाँ त्यस्तो हुँदैन । थोरै भत्क्यो भने त्यसबाट झन् ठूलो खाल्डो बन्दै जान्छ, बिग्रँदै जान्छ ।’
बन्न त नेपालमा बाटो पनि बन्छ, बजेट पनि विनियोजन हुन्छ । एक त कमसल तरिकाले काम गर्छन् र भत्किन्छ भने अर्को भौगोलिक बनौटले पनि त्यति साथ दिँदैन । कुनै ठाउँमा सडक भासिन्छ, कतै खाल्डो पर्छ । यसको व्यवस्थापनमा सरकार मात्रै लागेर सम्भव हुँदैन । हरेक नागरिकले आफ्नो जिम्मेवारी ठानेर आफू सचेत हुने हो भने स्वतः अनुशासनबद्ध हुने खड्काको भनाइ छ ।
‘पोखरामा राम्रो साइकल लेन बनेको रहेछ । त्यो देखेर खुसी लाग्यो । तर, साइकल लेनमा गाडी पार्किङ गरेको देख्दा नमज्जा लाग्यो,’ खड्काले देखेको कुरा बताइन् ।
काम र कमाइ
हप्तामा पाँच दिन बस चलाउँछिन्, खड्का । महिनामा १६० घण्टा काम गर्नुपर्ने नियम भएकाले दैनिक ७÷८ घण्टाजस्तो पर्छ । त्यहीअनुसार हप्तामा ३७ देखि ४० घण्टा पर्छ । बिदा कहिले दुई दिन त कहिले ३ दिन पर्छ ।
‘प्रतिघण्टा १८० क्रोनर (डेनिस करेन्सी) का दरले महिनामा २९ हजार जति कमाइ हुन्छ । त्यो भनेको नेपाली झन्डै पाँच लाख जति हो,’ उनले आफ्नो मासिक कमाइको मोटामोटी हिसाब निकालिन् ।
पहिले कहिल्यै बसको ड्राइभर बन्छु भन्ने सोच्ने त के कल्पनासम्म पनि नगरेकी खड्काले अहिले निर्धक्कसँग बस कुदाइरहेकी छिन् । त्यहाँ ड्राइभिङ पेसा सम्मानित पेसामध्येको एक हो । कमाइका हिसाबले पनि यो पेसा आकर्षक मानिन्छ ।
मैले यति लेखिरहँदा खड्का डेनमार्क पुगिसकेकी छिन् । उनको दैनिकी पुनः उसैगरी चलिरहेको छ । बाउसभ्या र नोरेपोर्टका सडकमा फेरि किओलिसको उही पहेंलो बस गुड्न थालिसकेको छ ।